१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

पाँच वर्षभित्र विकासको छनक दिन्छौं : मुख्यमन्त्री गुरुङ

पोखरा- ‘१८ औँ शताब्दीमा रोमको चर्चा निकै हुन्थ्यो, रोम एकैदिनमा बनेको होईन, अहिलेको पोखरा पनि एकैदिनमा बनेको होइन, विकास गर्न समय लाग्छ। ५ वर्षभित्रमा हामीले पनि गण्डकी प्रदेशको विकासको छाँट र छनक देखाउनेछौँ,’ गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भने, ‘हुने बिरुवाको चिल्लो पात भन्छन्, नि, हो हामी हुने बिरुवाको चिल्लो पात हुन्छौँ, नकी गैँडाको जिब्रो जस्तो खस्रो।’

बिहीबारदेखि पोखरामा सुरु भएको पोखरा एक्सपो तथा तेश्रो मोबाईल मेलाको उद्धाटनमा बोल्दै मुख्यमन्त्री गुरुङले विकासको छाँट देखाउने बताए। समृद्ध प्रदेश बनाउन उनले चालु आर्थिक वर्षमा घोषणा गरेका कार्यक्रमहरु अगाडि बढिसकेको जनाए।

‘वैशाख मसान्तभित्र बढि नै भए जेठ १५ भित्र नै हामीले बजेट छुट्याएका योजनाहरु सक्छौँ, मैले सचिवहरुलाई पनि के निर्देशन दिएको छु भने, पुरानो तरिकाले असार १५ गतेसम्म काम गरेर हतारहतार हुँदैन, काम अहिल्यैदेखि थाल्नुपर्छ र जेठ १५ भित्रमा सक्नुपर्छ,’ उनले भने।

सुशासनको प्रत्याभूतिको लागि हेल्लो सिएम, एक्सन रुमहरु सञ्चालन गरेको उनले बताए। स्थानीय तह, जिल्ला समन्वय समितिहरु सहित सबै ८५ वटा स्थानीय तहहरुले एकै लक्ष्य लिएर अगाडि बढ्नुपर्ने उनको भनाई थियो। उनले गण्डकी प्रदेश समृद्धिका आधारहरुको व्याख्या गरे।

‘हामीलाई भूगोल, धर्मसंस्कृति, माटो, हावापानी सबैले साथ दिएको छ,’ गुरुङले भने, ‘गण्डकी प्रदेशलाई आर्थिक समृद्धि हासिल गर्न केसैले रोक्न सक्दैन्।’

सातै प्रदेशको मध्यभाग तथा दुई छिमेकीसँग जोडिएका कारण पनि गण्डकी प्रदेशलाई समृद्ध बन्न सहज हुने उनले बताए। ‘अमेरिकाको विकास हुनुमा त्यहाँको उर्वर माटो र बढि पानी पर्नुले पनि सहयोग गरेको छ, हाम्रो प्रदेश हिमालदेखि तराईसम्म छ, बढि पानी पनि पर्छ, जमिन पनि उर्वर छ, दुई छिमेकीसँग जोडिएका छौँ, मुलुकका निर्माणाधीन सहितका ४ अन्तर्राष्ट्रिय विमानस्थल मध्ये एउटा गण्डकी प्रदेशमा पनि छ, हवाई, सडकमार्गले जोडिएका छौँ, यो हाम्रो लागि खुसीको कुरा हो’ मुख्यमन्त्रीले भने, ‘हामीले प्राकृतिक स्रोत साधनको उपलब्धताको आधारमा नै पर्यटनलाई पहिलो प्राथमिकतमा राखेका छौँ, श्रोतसाधनमा अगाडि छौँ, केही दिन अघि मात्रै चाईनिज टोलीले मुस्ताङमा सोलार ऊर्जाको अध्ययन गरेर २ हजार मेगावाट विद्युत उत्पादन गर्न सकिने बताएको छ, यो आर्थिक समृद्धिको लागि सकारात्मक कुरा हो।’ उज्यालो प्रदेश अभियानमा सोलार ऊर्जाले सघाउने उनको भनाई थियो।

स्रोतसाधनको उपलब्धता, सरकारले लिएको लक्ष्य पुरा गर्न नीजि क्षेत्रले लगानी गर्नुपर्ने उनको भनाई थियो। नीजि क्षेत्रको लगानीको सुरक्षा, आवश्यक नीति बनाउने उनले प्रतिबद्धता समेत जनाए। 

‘विकास गर्ने सरकारले होईन, मुख्यमन्त्रीले पनि होईन, नीजि क्षेत्रले हो, मैले यसअघि पनि भनिसकेको छु, तपाईहरु लगानी गर्नुहोस, लगानीको वातावरण हामी मिलाउँछौँ, लगानीको सुरक्षा सरकारले गर्छ’ उनले भने, ‘प्रदेशमा हुने ठूला योजनाहरुमा गण्डकी प्रदेशका लगानीकर्तालाई पहिलो प्राथमिकता दिनेछौँ, लगानी नपुगेमा मात्र अन्य प्रदेश वा विदेशी सहयोग भित्र्याउने हो, एनआरएनहरुसँग पनि पहिले गण्डकी प्रदेशमा लगानी गर्न आग्रह गरेको छु।’

सरकारले पूर्वाधार निर्माणका काम गरिदिने, नीति बनाईदिने, लगानीको वातावरण तयार पारिदिने उनको भनाई थियो। ‘प्रदेश सरकारले पहिलो बजेटबाट ४० प्रतिशत रकम पूर्वाधारमा छुट्याएका छौँ, कानूनहरु अपुग छन् मागेका छौँ, प्रहरी मागेका छौँ र अब हुने अन्तर प्रदेश बैठकमा त्यसको समाधान हुने आशा छ’ उनले भने, ‘संघले सहजता तुल्याएपछि प्रदेशले देखिनेगरि कार्य गर्नेछ।’

 

प्रकाशित: १३ मंसिर २०७५ ११:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App