१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

कालीगण्डकी करिडोरमा चार कम्पनीले काम गरेनन्, कालो सूचीमा राख्ने तयारी

पाल्पा- उत्तर–दक्षिण छोटो मार्ग ‘कालीगण्डकी करिडोर’ को पाल्पा जिल्लाभित्र आठ वर्षसम्म ट्रयाक खुल्न सकेको छैन। करिडोर निर्माण २०६४ देखि सुरु भएपनि २०६९ सालमा भएको ठेक्का चार कम्पनीले काम नगर्दा जिल्लाको चार किलोमिटर ट्रयाक अहिलेसम्म खुल्न नसकेको हो। चीन र भारत जोड्ने मुलुककै छोटो सडक ४ सय १७ किलोमिटर लामो छ। जिल्लाभित्र बजेट परेपनि काम नगरी फ्रिज हुनु, निर्माण व्यवसायीले सम्झौता गरेअनुसार काम गर्न नसक्नु, पर्याप्त बजेट अभाव, आयोजना कार्यालयमा जनशक्ति र सवारीसाधनको कमीले अझै ट्रयाक खुल्न नसकेको हो। राष्ट्रिय गौरवका आयोजनामध्ये कालीगण्डकी करिडोर ५ वर्षमा सक्ने लक्ष्य लिएको थियो।

उत्तर दक्षिण (कालीगण्डकी) लोकमार्ग योजनाले नवलपरासीको गैंडाकोटदेखि बागलुङ्सम्मको २ सय ४५ किलोमिटर लामो लोकमागर्न हेर्दै आएको छ। यस क्षेत्रमा ३२ वटा पूल निर्माणाधिन छन्। कालीगण्डकी कोरिडोर अन्तर्गत पाल्पाको रिडी–राम्दी खण्डमा ट्राक खोल्ने काम हुन सकेको छैन। जसका कारण सम्पूर्ण करिडोर सडकमा सवारी साधन गुड्न पाएका छैनन्। सवारी साधन चलाउनै नसकिने गरी खनेको ट्रयाकमा क्षेत्रमा पहिरो खसेको छ। बाटो चौडा गर्ने काम भएको छैन। पहिरो हटाईएको छैन। तानसेन नगरपालिका १३, रानीमहलदेखि अर्गली जोड्ने सडकमा एक सय मिटर भीरमा ट्रयाक खोल्न बाँकी छ। कोरिडोरकै दैलातुङ–दरपुक सडक खण्डमा पनि ट्रयाक खुल्न सकेको छैन। यस्तै बगनासकाली गाउँपालिका–६, मन्द्रानमा ५ सय मिटर ट्रयाक खोल्ने काम बाँकी रहेको हो।

रानीघाट–यम्घा सडक खण्डमा हिमदुङ्ग थोकर कन्ष्ट्रक्सन, दैलातुङ–दर्पुकमा सन्तोषी प्यासीफिक कन्ष्ट्रक्सन नेपाल प्रगती जेभीले काम गरेको छैन। यस्तै मिर्मी फलेबासमा अमरसूर्य पशुपति जेभी र गैडाकोट पिपलडाँडा सडक खण्डमा ओएसिस ई एण्ड बिल्डर्सले काम नगरेपछि कालिगण्डकी करिडोर सडक योजनाले ठेकेदारलाई कालोसूचीमा राख्ने प्रक्रिया अगाडी बढाएको बताएको छ। योजनाका ईञ्जिनियर कृष्णबहादुर खड्काले २०६९/७० मा ठेक्का पाएर सम्पर्कमा नआएका चार कम्पनीलाई अन्तिम सूचना प्रकाशन गरि कालोसूचीमा राख्ने प्रक्रिया अगाडी बढाएको बताए। उनी भन्छन्,‘धेरै पटक लिखित र मौखिक सूचना प्रकाशन गरि ताकेता गर्यौ। सम्पर्कमा नआएपछि सार्वजनिक खरीद ऐन अनुसारको प्रक्रिया अगाडि बढाएका छौं।’

कांग्रेस नेता बहादुरसिंह लामाको कम्पनी हिमदुङ् एण्ड ठोकर कन्ष्ट्रक्सन प्रालिले काम नगर्दा ट्राक खोल्नेकाम अगाडि नबढेको हो। हिमदुङले ठेक्का पाएको ६ वर्षसम्म भयो। अहिलेसम्म काम नगरी अलपत्र छाडेको छ। जसका कारण कालीगण्डकी करिडोर अन्तर्गतको लोकमार्ग आयोजनाको ट्रयाक खुल्न सकेको छैन। हिमदुङ् एण्ड ठोकर कन्ष्ट्रक्सन प्रालिले २०६९/७० मा लिएको ठेक्काको काम अझै सकिएको छैन। आयोजना कार्यालयका अनुसार ५२ प्रतिशत काम गर्न बाँकी नै छ। अहिले काम अलपत्र छाडिएको छ। सडक चौडा गर्ने र ट्रयाक खोल्ने काम बाँकी नै छ। करिडोरको छेर्लुङ रानीमहलदेखि दैलातुङ्सम्म ट्रयाक खोल्ने काम हिमदुङ् एण्ड ठोकर कन्ष्ट्रक्सन प्रालिले लिएको थियो। ८५ लाखको ठेक्काको काम २०७० को जेठ महिनामै  सक्नुपर्ने थियो तर अहिलेसम्म ट्रयाकसमेत नखोली अलपत्र छ।

पाल्पाका प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले आफुलाई ठेकेदारले काम नगरेको विषयमा जिल्लाका कुनै पनि कार्यालयबाट जानकारी नआएको बताए। जिल्लाका कार्यालय प्रमुख तथा सूचना अधिकारी र पत्रकारहरुसँग छलफल गर्दै प्रजिअ खनालले काम नगर्ने ठेकेदारहरुलाई कालोसूचीमा राख्ने प्रक्रिया तत्काल थाल्नुपर्ने बताए। उनले कर्मचारीहरुलाई ठेकेदारहरुलाई तत्काल काममा लगाउनुपर्ने काम नगर्नेलाई जिल्ला प्रशासनमा जानकारी दिन आग्रह समेत गरे।

कालीगण्डकी करिडोर आयोजना कार्यालका निमित्त आयोजनाल निर्माण व्यवसायीलाई काम गराउन सकेको छैन। आयोजना प्रमुख कृष्ण खड्का भन्छन्, ‘पूर्व सांसदलाई कालोसूचीमा राख्न नसकिएकै हो। अब चार वटा कम्पनीका लागि सूचना प्रकाशित गरेका छौं। सुरुकै ठेक्का भएको र विभिन्न कारणले गर्दा काम गराउन सकिएन।’ कालीगण्डकी लोकमार्ग आयोजनाका अनुसार ग्याभिएन वाल, १० मिटर चौडा लगायत स्तरोन्नतिको काम गर्नुपर्ने ठेक्का सम्झौतामा छ। ‘अहिलेसम्म ठेक्का सम्झौता अनुसार ट्रयाकसमेत खुलेको छैन,’ आयोजनाका निमित्त प्रमुख तथा इन्जिनियर खड्काले भने, ‘पूरानो ठेक्का हो तर अहिलेसम्म काम हुन सकेको छैन।’

बगनासकाली गाउँपालिका–६, यम्घाका वडा अध्यक्ष लक्ष्मीप्रसाद अधिकारीले भीर र ढुंगे चट्टान भएकाले ट्रयाक खुल्न नसकेका बताए।  उनी भन्छन्, ‘वर्षौदेखि ट्रयाक खन्न सुरु गरेपनि जस्ताको तस्तै हुनु दुःखद पक्ष हो।’ सन्तोषी प्यासेफिक नेपाल प्रगति जेभीले यहाँ ठेक्का लिएको हो। ६ करोड ५५ लाखको ठेक्काको ४० प्रतिशत काम अझै बाँकी रहेको कोरिडोर आयोजनाले जनाएको छ। दुई स्थानमा ट्रयाक नखुल्दा रिडीदेखि राम्दीसम्मको यात्रा गर्न नपाएको स्थानीय बासिन्दाहरुले गुनासो गर्दै आएका छन्।

प्रकाशित: १३ मंसिर २०७५ ०६:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App