१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

फ्रेन्ड्स र जावलाखेलले खाता खोले

जावलाखेलविरुद्ध बल नियन्त्रणको प्रयास गर्दै फ्रेन्ड्सका विकास लामा (रातो) । तस्बिर सौजन्य : एन्फा

काठमाडौं – तालिकामा अंकविहीन टोलीद्वय फ्रेन्ड्स  र जावलाखेल युथ क्लबले बुधबार सहिद स्मारक ‘ए’ डिभिजन लिगमा अंकको खाता खोलेका छन्। ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा)को मुख्यालयमा सम्पन्न दिनको दोस्रो खेलमा फ्रेन्ड्स र जावलाखेलले ३–३ को बराबरी खेल्दै १–१ अंकको खाता खोलेका हुन्।

खेलमा म्यान अफ दी म्याच घोषित विकास लामाले २६औं मिनेटमा फ्रेन्ड्सका लागि पहिलो गोल गरेका थिए। फ्रेन्ड्सका फोफना ब्रहिमानले दिएको क्रस बललाई विकासले खाली पोस्टमा प्रहार गर्दै गोल गरे। पहिलो हाफमा जावलाखेलविरुद्ध दबाबमा रहेको फ्रेन्ड्सको अग्रता इन्जुरी समयमा तोडियो। जावलाखेलका अरुज सिंहले कुलदीप कार्कीको क्रसमा हेडबाट बराबरी गोल फर्काए।

पहिलो हाफमा १–१ को बराबरी खेलेको जावलाखेलका लागि फोडे फोफानले ४७औं मिनेटमा गोल गर्दै आफ्नो टोलीलाई अग्र स्थानमा पुर्याए। जावालाखेलका लागि ५२औं मिनेटमा सुमन डंगोलले तेस्रो गोल गर्दै खेल ३–१ मा पुर्याए। दोस्रो हाफको सुरुआतमा केही फितलो प्रदर्शन गरे पनि बाँकी समयमा सम्हालिएको प्रदर्शन गरेको फ्रेन्ड्सका लागि फोफना ब्रहिमानले ६८औं मिनेटमा टोलीका लागि दोस्रो गोल गर्दै जावलाखेलको अग्रता छोट्याए। पेनाल्टी बक्सभित्र रुमलिएको बललाई फोफनाले चिप गर्दै जाली चुमाएका थिए।

३–२ ले पछि रहेको फ्रेन्ड्सले एकपछि अर्को काउन्टरलाई निरन्तरता दिइरह्यो। खेल सकिन आठ मिनेट बाँकी रहँदा अघिल्ला खेलमा कप्तानको जिम्मेवारी सम्हाल्दै आएका तथा दोस्रो हाफमा वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गरेका धीरज श्रेष्ठले बराबरी गोल गर्दै टोलीलाई हारबाट जोगाए। बाँकी सयममा थकित जावलाखेलको पोस्टमा फ्रेन्ड्सले गोलका केही सुन्दर मौका सिर्जना गरे पनि सदुपयोग गर्न सकेन र अंक बाँड्यो।

तालिकामा पहिलो अंक जोड्न सफल फ्रेन्ड्सका प्रशिक्षक रमेश महर्जनले सम्हालिएर खेल्न नसक्दा अंक बाँड्न परेको बताए।

‘सुरुआती अग्रता लिए पनि खेलाडीले सम्हालिएको प्रदर्शन गर्न सकेनन्। आपसी तालमेलको पनि अभाव देखियो,’ प्रशिक्षक महर्जनले भने, ‘लगातारको पराजयपछि नयाँ खेलाडीलाई मैदानमा उतारेका थियौं, सुरुआत केही राम्रो भए पनि बाँकी समयमा टोलीले सन्तुलित प्रदर्शन गर्न सकेन। नयाँ खेलाडीको प्रदर्शन सन्तोषजनक भएन।’

यस्तै जावलाखेलका प्रशिक्षक राजकुमार केसीले फिटनेसको अभावका कारण लिएको अग्रता कायम गर्न नसकेको बताए।

‘दुई गोलको अग्रता लिए पनि अन्तिम समयतिर खेलाडीले सही तरिकाले विपक्षी खेलाडीलाई मार्किङ गर्न सकेनन्, बल नियन्त्रणमा लिने प्रयास गर्ने भन्दा पनि खेलाडीको मुभमेन्टलाई हाम्रा खेलाडी बढी प्राथमिकता दिए,’ प्रशिक्षक केसी भने, ‘निर्धारित समय हाम्रो टोलीले सन्तुलित प्रदर्शन गर्न सकेन। खेलाडीमा फिटनेसको अभाव खड्कियो।’ चार खेलबाट पहिलो अंक जोडेका टोलीद्वय फ्रेन्ड्स र जावालखेल पुछारबाट दोस्रो र तेस्रो स्थानमा  छन्।

प्रकाशित: १२ मंसिर २०७५ ११:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App