१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

पोहोरको भुक्तानी बाँकी, यस वर्ष आधा मूल्यमा बिक्री

सर्लाहीको गैरस्थित क्रसर उद्योग परिसरमा किसानसँग किनेर थुपारिएको उखु। तस्बिर : टंक/नागरिक

सर्लाही – चिनी उद्योग सञ्चालनमा नआएपछि किसानले धमाधम स्थानीय क्रसर उद्योगमा निकै कम मूल्यमा उखु बेच्न थालेका छन्। गत वर्ष बेचेको उखुको चिनी उद्योग र सरकारबाट भुक्तानी नपाएर छटपठाइरहेका किसान यस वर्ष निकै कम मूल्यमा बेच्नु पर्दा थप मारमा परेका छन्।

अन्य बाली लगाउन बारीको खुट्टी उखु काटेर किसानले आधाभन्दा कम मूल्यमै स्थानीय क्रसर उद्योगलाई बेच्न थालेका हुन्। ‘के गर्नु अब खुट्टी उखु राखेर तौल बढ्दैन, त्यसैले त्यो खेतबारीमा अरु बाली लगाउन सरकारले गत वर्ष तोकेको भन्दा आधा मूल्यमा क्रसर उद्योगलाई बेच्न बाध्य छौं,’ जिल्लाको दक्षिण क्षेत्रस्थित धनगढाका किसान लक्ष्मण रायले गुनासो गरे, ‘चिनी उद्योग चल्ने कहिले हो कहिले, त्यसैले सुकाएर राख्नुभन्दा क्रसर उद्योगलाई दिन थालेका हौं।’

तिहारलगत्तै दक्षिणी क्षेत्रस्थित टोल–टोलमा उखु पेलेर मिठा (सक्खर) बनाउने क्रसर उद्योग सञ्चालनमा आएका छन्। किसानले प्रतिक्विन्टल दुई सय ३० देखि दुई सय ४० रुपैयाँमा क्रसर उद्योगलाई उखु दिने गरेका छन्। मन्त्रिपरिषद्को बैठकले गत वर्ष चिनी उद्योगबाट चार सय ७१ रुपैयाँ २८ पैसा तथा सरकारी अनुदान ६५ रुपैयाँ २८ प्रसा गरी प्रतिक्विन्टल पाँच सय ३६ रुपैयाँ ५६ पैसा उखुको मूल्य तोकेको थियो।

‘चिनी उद्योग चलुन्जेल पर्खंदा खुट्टी उखु सुकेर तौल निकै घटिसक्छ। पर्खेर बल्लबल्ल चलेको उद्योगलाई दियो भने दुई वर्षसम्म पैसा दिँदैन,’ रायले गुनासो गरे, ‘त्यसैले किसानहरु नगद पाउने भएकाले आधा मूल्यमै सक्खर उद्योगलाई उखु दिन बाध्य छन्।’

खेतमा लगाएको उखु काटेर गहुँ तथा दलहन बाली लगाउन ढिलो भएकाले किसान सस्तो मूल्यमा सख्खर बनाउने क्रसर उद्योगलाई उखु बेच्न बाध्य बनेका हुन्। ‘गहु“ तथा दलहन बाली लगाउन ढिलो भएकाले तीनवर्षे उखु काटेर सक्खर बनाउने क्रसरमा बेचिरहेको छु, समयमा खेत खाली भएन भने यो सिजन खेत बा“झै बस्छ,’ सिर्सियाका किसान सियाराम महतोले भने, ‘किसानको कमजोरीको फाइदा क्रसर उद्योगले उठाइरहेको छ।’

यो सिजनका लागि उखुको मूल्य निर्धारण नहुँदा सक्खर बनाउने क्रसर उद्योगले आफूखुसी मूल्य तोकेको किसानले गुनासो गरेका छन्। ‘उनीहरुले तोकेको मूल्यमा नदिउँ उखु पनि सुक्ने र पछि बारी पनि बाँझै बस्ने डर,’ धनगढाका रायले भने, ‘त्यसैले लागत समेत नउठ्ने मूल्यमा उखु बेचिरहेका छौं।’

बढी मूल्य लिने दाउमा चिनी उद्योगलाई उखु बेच्दा दुई वर्षदेखि एक पैसा नपाएर ऋणमा डुब्नुभन्दा हाताहाति क्रसर उद्योगलाई बेचेर घरखर्च चलाउने मनसायले किसानहरु निकै सस्तोमा उखु दिन हतारिएको रायको कथन छ।

नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले मूल्य तय गरेर समयमै चिनी उद्योग सञ्चालनको वातावरण नबन्दा किसान आत्तिएको बताए। ‘सरकारले उत्पादन लागतका आधारमा उखुको मूल्य तय गरेर चिनी उद्योग समयमै चल्ने वातावरण बनाउनेतर्फ ध्यान नदिँदा किसानले हैरानी बेहोर्नु परिरहेको छ,’ मैनालीले भने, ‘उद्योगीहरु यो र त्यो बहानामा किसानलाई मूल्यमा शोषण गर्न लालायित छन्, अनि सरकारले पनि गम्भीर भएर समयमै मूल्य तय नगर्दा किसानको हरिबिजोग हुने गरेको छ।’

विगतमा मंसिर पहिलो सातातिर चिनी उद्योग सञ्चालनमा आउने गरे पनि केही वर्षयता मूल्यमा हुने किचलोका कारण उद्योगीले उद्योग समयमै चलाउने गरेका छैनन्। हरिवनस्थित इन्दुशंकर चिनी उद्योग एवं पश्चिम धनकौलस्थित अन्नपूर्ण सुगर मिल सञ्चालन रहेको सर्लाहीस्थित बगदमा यस वर्षदेखि महालक्ष्मी सुगर मिल समेत सञ्चालन हुने तयारीमा छ।

चिनी उद्योग व्यवस्थापनले भने उखुको मूल्यमा कुरा नमिलेसम्म मिल सञ्चालन नहुने बताइरहेको छ। गत वर्ष मुलुकभर झन्डै दुई करोड क्विन्टल उखु उत्पादन भएको र सर्लाहीमा मात्र एक तिहाइभन्दा बढी अर्थात ८० लाख क्विन्टल उत्पादन भएको महासंघले जनाएको छ।

प्रकाशित: १२ मंसिर २०७५ ०३:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App