coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
विचार

नेपाल टेलिभिजन बन्द गर्ने कुरा

टेलिभिजनप्रति चासो राख्ने संसारभरिका मानिसहरूले आआफ्नै ढंगले विश्व टेलिभिजन दिवस यसै हप्ता मनाए। नेपालमा पनि यो दिवस मनाइयो। यसै दिवसका अवसरमा नेपालको पहिलो टेलिभिजन नेपाल टेलिभिजनका संस्थापक अध्यक्ष तथा महाप्रबन्धक नीर शाहले एक अन्तर्वार्तामा ‘नेपाल टेलिभिजन बन्द गरिदिए हुन्छ’ भन्नुभयो। यो भनाइलाई कतिपयले कुण्ठाको अभिव्यक्ति भने पनि यसका सैद्धान्तिक र व्यावहारिक सन्दर्भमा बौद्धिक बहस गर्न भने सकिन्छ।

के साँच्चै नेपाल टेलिभिजन बन्द गरिदिए हुन्छ त ? त्यसको अन्तर्यमा जानुअघि यसको जन्म, विकासक्रम र विद्यमान अवस्थामा सान्दर्भिकताको विश्लेषण जरुरी हुन्छ। नेपाल टेलिभिजन सबैभन्दा लामो इतिहास भएको, नेपालको पहिलो मात्र नभई पछिल्लो इतिहासको सबैजसो घटनाहरूको साक्षी र प्रमाणहरूलाई दृश्य संग्रहालयमा सुरक्षित राखेको, सर्वाधिक कभरेज भएको टेलिभिजन च्यानल हो। १ सय ४६ वटा देशहरूमा भूउपग्रहमार्फत र संसारभर लाइभस्ट्रिमिङ्मार्फत नेपालीहरूलाई सेवा पु-याइरहेको, चारवटा च्यानलहरू चौबिसै घण्टा प्रसारण गरिरहेको, विसं २०४० को दशकयताका सबै पुस्तासँग सँगसँगै हुर्किरहेको राष्ट्रिय प्रसारण संस्था हो नेपाल टेलिभिजन।

नेपालको पहिलो टेलिभिजन नेपाल टेलिभिजनका संस्थापक अध्यक्ष तथा महाप्रबन्धक नीर शाहले एक अन्तर्वार्तामा ‘नेपाल टेलिभिजन बन्द गरिदिए हुन्छ’ भन्नुभयो। यो भनाइलाई कतिपयले कुण्ठाको अभिव्यक्ति भने पनि यसका सैद्धान्तिक र व्यावहारिक सन्दर्भमा बौद्धिक बहस गर्न भने सकिन्छ।

नेपाल टेलिभिजन विसं २०४१ मा स्थापना हुँदैदेखि नीतिगतरूपमा खासै स्पष्ट थिएन। एकातिर राष्ट्रिय र सामाजिक दायित्व वहन गर्नुपर्ने र अर्कोतर्फ आत्मनिर्भर हुनुपर्ने विरोधाभाषपूर्ण उद्देश्यहरू संस्थान गठनको नेपाल राजपत्रमा प्रकाशित सूचनामा देख्न सकिन्छ। अहिले पनि नेपाल टेलिभिजनप्रति राज्यको नीति यही नै रहेको छ। भौतिक विकासका लागि सरकारको लगानी हुने तर त्यो संस्थानलाई ऋणका रूपमा रहने र नगण्य रकम कार्यक्रम उत्पादनमा अनुदान दिने गरिएको छ भने संस्थाले सञ्चालन खर्च आफैँ जुटाउनुपर्ने र जुटाइरहेको अवस्था छ। लामो समयदेखिको यो द्विविधाको अन्त्य गर्दै सार्वभौम नेपाली जनताको सेवामा पूर्णरूपमा समर्पित भई अल्पसंख्यक लगायत सबै जनताको पहुँचमा प्रसारण सेवा पु¥याउन नीतिगत र संरचनागत परिवर्तन गरी सार्वजनिक प्रसारण संस्थामा रूपान्तरण गर्ने घोषणा नेपाल सरकारले बजेट वक्तव्यमार्फत गरेको छ।

यो सरकारी प्रतिबद्धता कार्यान्वयन हुनसके नेपालको टेलिभिजन इतिहासमै ठूलो फड्को हुने र टेलिभिजनको प्रसारण सामग्री राजनीति र व्यापार दुवैबाट मुक्त हुने आधार बन्छ। यो नेपाल टेलिभिजनको सान्दर्भिकता सकिने हैन, झन् बढ्नेतर्फको महत्वपूर्ण कार्य हो, जुन अहिले भइरहेको छ।
नेपालमा अहिले कुल १ सय १६ टेलिभिजनहरू दर्ता भएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको तथ्यांकले देखाउँछ। तीमध्ये करिब १ चौथाइजसो सञ्चालनमा रहेका छन्। सैद्धान्तिकरूपमा सबै मिडिया जनताप्रति उत्तरदायी हुनैपर्छ। कुनै पनि मिडिया सामाजिक उत्तरदायित्वबाट पन्छिन सक्तैनन्। तर व्यावहारिकरूपमा निजी मिडियाको भित्री ध्येय बढीभन्दा बढी नाफा कमाउने नै हुन्छ। व्यावसायिक मिडियाले दर्शकलाई सार्वभौम जनताका रूपमा आत्मसात् नगरी बजारका रूपमा लिएका हुन्छन्। त्यसैले यस्ता मिडियाबाट जनताको आवाज निष्पक्षरूपमा प्रसारण हुने र आवाजविहीनहरूको आवाज बोल्ने सुनिश्चितता हुन सक्दैन। यस्तो अवस्थामा जनताप्रति उत्तरदायी सार्वजनिक टेलिभिजनको सान्दर्भिकता बढ्दै छ कि घट्दै?

हो, नेपाल टेलिभिजन पछिल्लो केही वर्षदेखि निकै कमजोर र जीर्ण संस्थाका रूपमा परिणत हुनु दुर्भाग्य थियो। त्यो स्थिति नेपाल टेलिभिजनका संस्थापक अध्यक्ष तथा महाप्रबन्धक शाह करिब ३ वर्ष अगाडि पुनः अध्यक्षका रूपमा नेपाल टेलिभिजनको नेतृत्वमा आउनुभन्दा केहीअघि र उहाँको करिब १४ महिनाको अवधिसम्म पनि कायमै रह्यो। लामो समयसम्म राजनीतिको कोर्राले थलिएको, अपारदर्शी र सुशासनको अभावले अस्वस्थ व्यवस्थापन, दर्शकको चाहना बेवास्ता गरिएको प्रसारण सामग्री र उपकरण एवं भौतिक संरचना जीर्ण भइसकेको अवस्थामा उहाँको प्रवेश भएको थियो। लामो समयसम्मको उहाँको संघर्षले स्थिति परिवर्तन हुन सकेन र उहाँ आफैँ राजीनामामार्फत संस्थानको नेतृत्वबाट बाहिरिनु भयो। उहाँले छोड्नु भएको अवस्थामा लामो समयसम्म पनि तात्विक अन्तर आउन सकेन। तर, पछिल्लो समयमा स्थिर सरकारको स्पष्ट दृष्टिकोण र व्यवस्थापनको क्रियाशीलताको फलस्वरूप नेपाल टेलिभिजनले अहिले आफ्नो साखलाई फर्काउँदै रूपान्तरणको नयाँ यात्रा प्रारम्भ गरिसकेको छ।

नेपाल टेलिभिजनले आर्थिक वर्ष २०७५/७६ लाई नेपाल टेलिभिजन रूपान्तरणको वर्षका रूपमा अभियान सञ्चालन गरेको छ। यसका मूलतः तीनवटा आयाम छन्- नीतिगत तथा प्रशासनिक, विकास तथा प्रविधि र समाचार तथा कार्यक्रम। रूपान्तरणको यो संकल्पले छोटो अवधिमै मूर्तता पाउँदै गएको छ। यस क्रममा नीतिगत र प्रशासनिकतर्फ इतिहासमै पहिलो पटक आर्थिक वर्ष सुरु हुनुभन्दा अघि नै बजेट ल्याएको, समाचार निर्देशिका र पोसाक निर्देशिका पहिलो चोटि लागू गरेको, वैदेशिक भ्रमण कार्यविधि कार्यान्वयनमा ल्याएको, सातै प्रदेशमा ब्युरोको स्थापना गरी आफ्नो सशक्त उपस्थिति जनाई नेपाल टेलिभिजनमा जनताको प्रभावकारी पहुँच बढाउने निर्णय लिएको, विनियमावलीहरू संशोधन र समयमै लेखा परीक्षण प्रमुख रहेका छन्।

नेपाल टेलिभिजनले विकास तथा प्रविधितर्फ तत्काल ठूलो फड्को मार्दैछ। २०४१ सालमा भीएचएस प्रविधिबाट उत्पादन सुरु गरेको यसले यूम्याटिक, बेटाक्याम एसपी, बेटाक्याम एसएक्स्, डिभीक्याम र डिजिटल प्रविधिमा यात्रा गर्दै नेपाल टेलिभिजन एसडी प्रविधिबाट अब केही महिनामै एचडी प्रविधिमा रूपान्तरण हुँदै छ। यसबाट नेपाल टेलिभिजनले प्राविधिक गुणस्तरमा ठूलो फड्को मार्नेछ। सम्पूर्ण स्टुडियोहरूमा भिडियो वालसहित पूर्णतः एचडी उपकरणहरू हुनेछन् र त्यहाँबाट उच्च गुणस्तरका कार्यक्रम र समाचारहरू प्रस्तुत हुनेछन्। यी नयाँ उपकरणहरूमध्ये सम्भव हुनेसम्म भविष्यमा आउने क्रममा रहेको युएचडी (फोरके) प्रविधिमा पनि रूपान्तरण हुन सक्ने खालका रहेका छन्।

प्रविधिको रूपान्तरणसँगै नेपाली जनताको चाहना र आवश्यकता अनुरूपका विविधतापूर्ण नेपाली समाजका विविध संस्कृतिको संवद्र्धन र प्रवद्र्धन गर्ने प्रकारका कार्यक्रमहरूको सिर्जनात्मक प्रस्तुति पनि नेपाल टेलिभिजनका सबै च्यानलहरूमा हुँदैछन्। अहिले पनि नेपाल टेलिभिजन नै सबैभन्दा धेरै भाषाहरूमा सामग्री पस्कने टेलिभिजन हो। उदाहरणका रूपमा नेपाली, संस्कृत, अंगे्रजी र सांकेतिक भाषामा समाचार र नेपाली, अंग्रेजी, थारू, लिम्बू, मैथिली, भोजपुरी, नेवारी र अवधी भाषामा नियमितरूपमा सूचना र विविधतायुक्त सामग्री प्रसारण भइरहेका छन्। त्यसैगरी नेपाल टेलिभिजनको लोकप्रिय हास्यश्रृंखला र हास्यव्यंग्य कार्यक्रममा विविधता ल्याउनुका साथै लोकसंस्कृतिलाई बढावा दिने कार्यक्रमहरू नेपाल टेलिभिजनको पर्दामा देखिइसकेको छ। प्रविधिको रूपान्तरणसँगै नेपाल टेलिभिजन थप नयाँ मेगा कार्यक्रमहरू पनि लिएर आँउदै छ। वास्तवमा नेपाल टेलिभिजन जनशक्ति र प्रसारण सामग्री दुवैमा सर्वाधिक समावेशी टेलिभिजन पनि हो।

नेपालीहरूको सभ्यता, संस्कृति, पुरातत्व, कला, भाषासाहित्य, लोकसंगीत, पूर्वाधार, प्राकृतिक स्रोत, पर्यटन लगायतका विषयमा प्रत्येक वर्ष एक सयभन्दा बढी वृत्तचित्रहरू  निर्माण गरी अभिलेखन र प्रसारण गर्ने नेपाल टेलिभिजनको योगदान नेपाली मिडियाका रूपमा त सर्वाधिक छँदै छ, राष्ट्रिय भावधारामा पनि यसको भूमिका महत्वपूर्ण छ। आफ्नो लामो यात्रामा नेपाल टेलिभिजनका पनि कयौँ कमीकमजोरीहरू हुन सक्लान्, तिनलाई सच्याएर यसको प्रभावकारितालाई बढाउन पछिल्लो समयमा जुन खालको गम्भीर पहल भइरहेको छ, त्यसले नेपाल टेलिभिजनमा पुनर्जागरणको संकेत भने अवश्य गरेको छ। यसर्थ नेपाल टेलिभिजनलाई बन्द गर्ने सपना देख्नुभन्दा वास्तविक राष्ट्रिय प्रसारकका रूपमा स्थापित गर्ने संकल्पमा साथ दिनु बुद्धिमानी हुन्छ कि!

(प्रमुख निर्माता, नेपाल टेलिभिजन)

प्रकाशित: ९ मंसिर २०७५ ०२:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App