१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

साँझ गुड्दैन साझा

बस नं. १
स्थान : त्रिपुरेश्वर चोक।
समय : बुधबार साँझ ६ बजे।  
सडकमा यात्रु र सवारीको बाक्लो चाप छ। केही यात्रुहरू सडक किनारमा हात दिएर बस रोक्न खोज्दैछन्। रत्नपार्क तर्फबाट भरिएर आएका केही बसमा यात्रु खारिदिएर चढ्दै छन्। अलि खाली बस आउँछ की भनेर नियाल्नेको लस्कर पनि उत्तिकै छ। तर, साँझको बेला गुडेका सबै बस यात्रुले खचाखच छन्।

यतिकैमा आइपुग्यो, हरियो रङको साझा बस (बा४ख ५६६३)। बस रित्तो देखेपछि प्रतीक्षालयमा उभिएका यात्रुहरूले हात दिए। हात उठाउँदा धेरैलाई लागेको थियो, अब त सहजै घर पुगिने भइयो। तर, बस भने रोकिएन। त्यहाँबाट बस तीव्र गतिमा थापाथलीतर्फ लाग्यो। रित्तो साझा नरोकिएपछि यात्रुहरू निराश भए। उनीहरूका आँखा सडकमै थिए। खाली बस आउला र सहजै घर पुगौंला भन्ने धेरैको आशा थियो।

बस नं. २
केही बेरमा फेरि अघिकै जस्तो रित्तो साझा बस (बा३ख २२२९) आइपुग्यो। यात्रुहरूले उसैगरी हात दिए। कोही चिच्याएरै भन्दै थिए– रोक्नुस् ! रोक्नुस् ! तर, बस रोकिएन। बस तीव्र गतिमा थापाथलीतर्फ लाग्यो। रित्तै भएर बस नरोकिएपछि प्रतिक्षालयमा बसेका यात्रुले साझालाई गाली गर्न थाले। केही यात्रुहरू कोच्चिएर भए पनि अर्को बस चढे। सडकमा उभिएका यात्रुको जिज्ञासा र गुनासो थियो– साझा किन रित्तै फर्कियो ? सडकमा यात्रुको चाप भइरहेको बेला सहज सेवा दिनुपर्ने ठूला बस फर्कदा त्यसको असर यात्रुहरूले भोग्दै आएका छन्। ‘आजकाल साझामा बस यसैगरी रित्तो फर्कने गरेका छन्, ती बस पुल्चोकस्थित स्टेसनमा पुग्छन्,’ प्रतीक्षालय छेउमा बस पर्खिरहेका सातदोबाटोका महेश दाहालले सुनाए, ‘बस यसरी रित्तो फर्कनुभन्दा पुल्चोकसम्मै भए पनि यात्रु बोकेर गएको भए राम्रा हुने थियो।’

उनी मात्रै होइन, अहिले उपत्यकाका सडकमा पिक आवरमा बस कुर्नेहरूको चाप बाक्लो हुन्छ। यात्रुहरू बसभित्र ठेलमठेल यात्रा गरिहरको देखिन्छ। तर, भएका बसले सेवा नदिँदा त्यसको मर्का झनै बढेको देखिन्छ। उपत्यकामा लामो समयदेखि सार्वजनिक यातायातमा सहज सेवा दिँदै आएको साझाले पछिल्लो समय यात्रुलाई झुक्याउन थालेको छ। यात्रुहरू सडकमा अलपत्र हुँदा पनि ६ बजे नै साझाका बस पुल्चोकस्थित स्टेसनमा फर्कने गरेको खुलेको हो।

सहज सुविधा दिएर यात्रुको मन जितिरहेको एकातिर चर्चा चले पनि आजकाल साझ पर्नेबित्तिकै साझाका बस रित्तै फर्कन्छन्। सडकमा यात्रुको चाप बढेको बेला सहजता दिनुको साटो उल्टै रित्तो फर्कनु गैर–जिम्मेवार रहेको यात्रुको आरोप छ। ‘हिजोआज साझा बसको सेवा केही खस्किएको छ, सुरुमा आफूले रात्रि सेवा दिने प्रतिबद्धता जनाए पनि त्यसो गरेको देखिन्न,’ अर्का यात्रु राजेशमान शाक्यले भने, ‘कम्तिमा रित्तो फर्किएको बेला केही यात्रु बोकेर गएको भए कल्याण हुने थियो।’

उपत्यकामा यात्रुलाई सेवा दिएर लोकप्रियता कमाएको यातायातमा पर्छ साझा। बस सेवा सुरु गर्दा रात्रिकालीन सेवा दिने भने तापनि बिहान र रातिको समयमा साझाका बस सडकमा देखिएनन्। त्यतिबेला धेरैजसो बस पुल्चोकमा फर्किसकेका हुन्छन्।

कम्पनीको नियम अनुसार आफूहरूले बस सञ्चालन गरेको साझा बसका चालक महेश दाहालको भनाइ छ। आफूहरूले दुई सिफ्टमा बस सञ्चालन गरेकाले बिहानै गुडेका बस अलि छिटो स्टेसनमा फर्कने गरेको उनको दाबी छ। ‘हामीले रातिसम्म सेवा दिएका छौं, कहिलेकाहीँ यात्रुको चाप हेरेर अलि छिटो फर्कने गरेका छौं,’ उनले भने।

साझाले उपत्यकाभित्र ९ रुटमा सञ्चालन गर्दै आएको छ। ललितपुरको गोदावरी र काभ्रेको बनेपा उपत्यकाभित्र साझाले सञ्चालन गरेका लामो रुटमध्ये पर्छ। यी रुटमा ६/६ वटाका दरले बस सञ्चालन भएको साझाले जनाएको छ। यसबाहेक लगनखेल–बुढानिलकण्ठ, स्वयम्भू–सूर्यविनायक–साँगा, लगनखेल–नयाँबसपार्क, नयाँबसपार्क–एयरपोर्टलगायत रुटमा साझा चलिरहेको छ। यी रुटमा साँझ ६ बजेपछि साझाका बस त्यति देखिन्न। साझाका कायममुकायम कार्यकारी निर्देशक महेन्द्रराज पाण्डेले रातिसम्म बस गुडेको दाबी गरे। उनले बिहानै चलेका केही बस साँझ पर्नासाथ स्टेसनमा फर्किए पनि यात्रुहरूको चाप हेरेर अबेरसम्म चलेको उनको भनाइ छ। ‘बिहान ६ बजे नै चलेको बस साँझ ६ बजे फर्कन्छ, बिहान ९ बजेदेखि चल्न थालेको बस राति ८ बजेसम्म गुड्छ,’ उनले भने, ‘कहिलेकाहीँ त्यस्तो समस्या आए पनि हामीले दैनिकरूपमा रातिसम्म सेवा दिइरहेका छौं।’ उनले रुट पूरा गरेर रातिको समयमा पुल्चोक स्टेसनतर्फ फर्कन लागेका बसले निःशुल्करूपमा सेवा दिने तयारी गरेको बताए। ‘साझालाई अझ व्यवस्थित पार्नतर्फ लागेका छौं,’ उनले थपे, ‘केही समस्याका कारण हामीले रात्रि बसलाई प्रभावकारी बनाउन सकेका छैनौं, त्यसका जतिसक्दो सुधार गर्छौं।’

प्रकाशित: ७ मंसिर २०७५ ०३:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App