१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बगर जोत्दै, ढुंगा निकाल्दै

बोल्डर साइजका ढुंगा निकाल्न जोतिएको सर्लाहीस्थित बागमती नदीको बगर। तस्बिर : टंक/नागरिक

सर्लाही - सामान्यतया नदी, खोलाको बगर जोतेर किसानले केरा, परबल, उखुजस्ता उपयुक्त खेती गरेर बाली उब्जाउने गर्छन्। मुलुकका विभिन्न ठाउँमा किसानले बगरमा बालीनाली लगाएर मनग्ये आम्दानी गरेको खबर पनि बेला–बेला सुन्ने गरेका छौैं।

तर सर्लाहीमा भने बालीनाली उब्जाउन होइन, ढुंगा फलाउन नदीको बगर जोत्ने गरिएको छ भन्दा अचम्म लाग्ला। हो, ढुंगाकै लागि पूर्व–पश्चिम राजमार्गअन्तर्गत बागमती पुलदेखि केही दक्षिण बगरभरि ट्याक्टरको कारेसोले जोतिएको छ। बोल्डर साइजका ढुंगा निकाल्न ढुंगा व्यवसायीले त्यसरी जोताउने गरेको स्थानीय बासिन्दाले बताएका छन्।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको बागमती पुलदेखि केही दक्षिण बगरभरि ट्याक्टरको कारेसोले जोतिएको छ। बोल्डर साइजका ढुंगा निकाल्न ढुंगा व्यवसायीले त्यसरी जोताउने गरेका हुन्।

मान्छे जलाउने घाट आसपासदेखि दक्षिण निकै तलसम्म बगर जोताएर ढुंगा निकाल्ने गरिएको स्थानीय बासिन्दाले जानकारी दिए। केही दिनअघि मलामी गएका बेला हरिवनका प्रेम महतले बगर जोतिएको देखेपछि जिज्ञासा राखे, ‘किन बगर यसरी जोतिएको होला? अर्का मलामीले तुरुन्तै जवाफ फर्काए, ‘ढुंगा फलाउनलाई!’ जोतेको ठाउँबाट स्थानीय मजदुरले ढुंगा उठाएर छेउमै जम्मा गर्ने गरेका छन्।

बागमती नगरपालिकाअन्तर्गत पर्ने उक्त क्षेत्रबाट ढुंगा, गिटी, बालुवा निकाल्न कुनै ठेक्का लागेको छैन। हाल नगरपालिकाले अमानतमै ढुंगा, गिटी, बालुवा निकाले बापत राजश्व संकलन गर्ने गरिएको मेयर भरत थापाले जानकारी दिए। प्रदेश सरकारबाट कार्यविधि बनेर भर्खरै आएकाले चाँडै टेन्डर आह्वान गरिने बागमती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विमल पोखरेलले बताए। ढुंगा, गिटी निकालिने ठाउँको यसअघि नै जिल्ला विकास समितिबाट वातावरणीय प्रभाव मूल्यांकन (इआइए) र प्रारम्भिक वातावरणीय परीक्षण (आइइई) भइसकेको उल्लेख गर्दै त्यसको म्याद दुई वर्ष रहेकाले अब टेन्डर आह्वान गर्न मात्र बाँकी रहेको मेयर थापाको भनाइ छ। हाल पनि इआइए र आइई भएकै ठाउँबाट मात्र प्राकृतिक स्रोत निकासी गर्न दिइएको मेयर थापाको दाबी छ।

जिल्लामा रहेका नदीनालाबाट ढुंगा, गिटी, बालुवालगायत प्राकृतिक स्रोत उत्खनन गर्न प्रदेश सरकारले केही दिनअघि पत्र पठाएकाले स्थानीय तहले अमानतमा काम गरिरहेका छन्। प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले नदीनाला व्यवस्थापन एवं प्राकृतिक स्रोत निकासीलगायत अधिकार स्थानीय तहकै भएको बताए। ‘खोलानाला व्यवस्थापन गर्ने अधिकार स्थानीय तहकै हो,’ उनले भने, ‘स्पष्ट कार्यविधि, मापदण्ड बनाएर मात्र नियमनकारी ढंगले ढुंगा, गिटी र बालुवा निकासी गर्नुपर्छ, तर जथाभाबी ठूला–ठूला उपकरण लगाएर निकालिएको पाइए कारबाही गर्नेछौं।’

प्रकाशित: ६ मंसिर २०७५ ०२:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App