१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

चर्पी चर्चा

हरेक मानिसले प्रत्येक दिन सबैभन्दा बढी जाने, जानैपर्ने ठाउँ– शौचालय । प्रत्येक दिन बिहान उठ्नासाथदेखि बेलुकी सुत्ने बेलासम्म बारम्बार हामी शौचालय जान्छौँ । त्यो शौचालय हाम्रो स्वास्थ्य, प्रतिष्ठा एवं आचरणसँग जोडिएको हुन्छ । त्यसकारण शौचालयको ज्ञान महत्वपूर्ण हुन्छ।

प्रत्येक वर्ष नोभेम्बर १९, अर्थात् आजकै दिन, संयुक्त राष्ट्रसंघले विश्व शौचालय दिवस मनाउने गर्छ । यस वर्ष पनि जब प्रकृतिले बोलाउँछ भन्ने नाराका साथ विश्वभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ । विश्वका सबै मानिसहरूसित सफा शौचालय हुनुपर्छ । यसलाई प्राकृतिक रूपले व्यवस्थापन गर्नुपर्छ भन्ने विश्वव्यापी मान्यता छ।

सरसफाइ र शौचालयबारे जनचेतना एवं वकालत गर्दै विश्वलाई स्वच्छ, सफा र स्वस्थ राख्ने उद्देश्यका साथ संयुक्त राष्ट्र संघले यो दिवस मनाउने गर्छ । तर, गाउँदेखि सहरसम्मै सरसफाइमा खराब अवस्थाबाट गुज्रिरहेको नेपालमा भने यो दिनलाई सरकार, संघसस्था, स्वास्थ्य निकाय, विद्यालय, कलेज, नागरिक आदिले उल्लेख्य रूपमा मनाएको देखिन्न । शौचालय तथा ढलको उचित व्यवस्था नहुँदा मलमुत्र दुर्गन्धको भुमरीमा फसेका नेपालका प्रायः सबै सहरवासीहरूलाई यो दिवसले छोएको जस्तो देखिन्न।

एक अध्ययनले देखाएअनुरूप विश्वका प्रत्येक ३ मा १ मानिस शौचालयको पहुँचभन्दा बाहिर छ, अर्थात् उनीहरूको निजी शौचालय छैन । बाहिरै खुला ठाउँमा शौच गर्नुपर्ने बाध्यता छ । यसैलाई आधार मान्ने हो भने नेपालमा पनि कैयौँ मानिसहरूसँग आफ्नो निजी शौचालय छैन । हेर्दा सानो कुरो जस्तो देखिए पनि सरसफाइ ज्यादै व्यापक र महत्वपूर्ण कुरो हो । यो मानिसको प्रतिष्ठा र स्वास्थ्यसँग जोडिएकाले सरकारले शौचालय बनाउन अभिप्रेरित गर्ने हिसाबले गाउँघरतिर शौचालय कार्ड नभई कुनै सरकारी सेवा नदिने नियमसमेत लागू गरेको पाइन्छ । तर, यो मात्र पर्याप्त छैन । मुख्यरूपमा यसबारे निश्चित नीति र व्यापक जनचेतनाको आवश्यकता छ । अझै पनि ठूलो संख्यामा मानिसहरू गाउँदेखि सहर–बजार सबैतिर जथाभावी शौच गर्छन् । त्यसलाई रोक्ने प्रयास भएको देखिन्न । मानिसहरूमा मैले गरेको फोहोरले पहिलो त आफैँलाई सताउँछ भन्ने सानो चेतना पनि नभएको जस्तो देखिन्छ । जीवनलाई स्वस्थ एवं ऊर्जावान् बनाउनका लागि पहिलो आवश्यकता स्वच्छ वातावरण नै हो । त्यसका लागि मुख्य सरसफाइ शौचालयबाट सुरु हुन्छ । वातावरण फोहोर हुनुको एक मुख्य कारण शौचालय नै हो । यसको सही व्यवस्थापन भए वातावरण स्वच्छ भइहाल्छ।

यतिखेर काठमाडौँलगायत देशका सबै ठूला सहर छेउछाउका नदीनाला, पानीको मुहान समेत उचित शौचालय व्यवस्थापन नहुँदा प्रदूषित भएका छन् । आज काठमाडौँ उपत्यका भएर बग्ने जति पनि साना–ठूला खोला छन्, ती सबै ढलको चपेटामा परेका छन् । त्यसकारण शौचालयसम्बन्धी विशेष चेतना सबैमा हुन अति नै आवश्यक छ।

शौचालय सफा भयो भने...
-    वरपर स्वच्छ र आकर्षक हुन्छ, जसले मानिसमा स्फूर्ति बढाउँछ।
-    सरसफाइमा गरिने १ रुपियाँ खर्चले स्वास्थ्यमा हुनसक्ने १ हजार खर्च बचाउँछ।
-    विद्यालयमा छात्राहरूको उपस्थिति र प्रभावकारी अध्ययन बढ्छ।
-    झाडापखला लगायत दिसाबाट सर्ने रोग, रोकथाम भई बालमृत्यदर घट्छ।
-    प्राकृतिक, सांस्कृतिक तथा ऐतिहासिक स्थानहरू सुरक्षित हुन्छन्।
-    मानिस सभ्य हुन्छन् । प्रतिष्ठा तथा सम्मान बढ्छ।
-    पर्यटनमा वृद्धि हुनसक्छ।

सबैभन्दा पहिला देशभरि नै राज्यले जनतालाई शौचालयसम्बन्धी सचेत बनाउनुपर्छ । समृद्ध नेपालको निर्माण सबैको घरमा वैज्ञानिक शौचालय निर्माणबाट सुरु गर्नुपर्छ । शौचालयको प्रयोग र सरसफाइसम्बन्धी विशेष तालिम दिनुपर्छ । यसबाट उब्जन सक्ने रोग तथा महामारी बारेमा जानकारी गराउनुपर्छ । सहर बजारमा खुला शौच गर्नेलाई कडा कारबाही गर्नुका साथै पर्याप्त मात्रामा सार्वजनिक शौचालय निर्माण गरिनुपर्छ । पानीको पर्याप्त मात्रमा व्यवस्था गर्नुपर्छ । हामीले पनि राष्ट्रिय शौचालय दिवस मनाउनुपर्छ । सफा शौचालय भएको गाउँ, टोल, सहरलाई पुरस्कृत गर्नपर्छ । फोहोर भएकालाई दण्डित पनि गर्नुपर्छ । यससम्बन्धी विभिन्न छलफल तथा गोष्ठीका कार्यक्रमहरू नियमित गर्नुपर्छ।

सबैभन्दा पहिला आफ्नो घरको शौचालय परिवारका सबै सदस्य मिलेर सफा राख्ने बानीको विकास गर्नुपर्छ । अक्सर मानिसहरू छ्या यस्तो काम भनेर शौचालय सफा गर्न पन्छिन्छन् । शौच गर्नेले सरसफाइ पनि गर्नुपर्छ । यस्तो बानीको विकास पहिले सबैले आफ्नो घरबाटै सुरु गर्नुपर्छ । विद्यालयहरूमा विद्यार्थी र शिक्षकहरू मिलेर शाौचालय सफा गर्नुपर्छ । हाम्रो विद्यालयमा नियमित रूपमा विद्यार्थी तथा शिक्षकहरूबाट शौचालय सफा गरिन्छ । विश्व शौचालय दिवस हाम्रा लागि पर्व आए जस्तै हुन्छ । हामी विगत ४ वर्षदेखि यसलाई भव्यतापूर्वक मनाउँदै आइरहेका छौँ।

मैले सुनेको छु, जापानमा स्कुलहरूमा सरसफाइ गर्ने कुनै मानिस नै राखिएको हुँदैन । सरसफाइको सबै काम विद्यार्थी र शिक्षकहरूले नै  गर्छन् । हामीले पनि त्यस्तै गर्न सक्छौँ यहाँ । यसो गर्दा विद्यार्थीहरूले पनि सरसफाइको बानी बसाउँछन् भने जथाभावी फोहोर  पनि गर्दैनन् । त्यस्तै विभिन्न संघसंस्थाहरूले नियमित रूपमा आफ्नो टोल, गाउँ, सहरमा सरफाइ गर्ने कार्यक्रम तोकेर नियमित रूपमा गर्न सकिन्छ।

यदि हामी सबै मिलेर सरसफाइमा जुट्यौँ भने पक्कै पनि हामीले सोचे जस्तो सफा शौचालय हुनेछ र त्यसले समग्र वातावरणलाई स्वच्छ बनाउनेछ।

(प्रिन्सिपल, जुगल स्कुल)

प्रकाशित: ३ मंसिर २०७५ ०३:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App