१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

कतारले रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण नेपालमै गर्ने

काठमाडौं- नेपालमा गरिने स्वास्थ्य परीक्षणको गुणस्तरीयता प्रति पटक-पटक प्रश्न उठाउँदै आएको कतारले अन्तत आफ्नो देशमा जाने कामदारको स्वास्थ्य परीक्षण आफ्नै स्वास्थ्य संस्थामा गर्ने भएको छ।

खाडीका केही मुलुक तथा मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्न नेपाल सरकारले केही स्वास्थ्य संस्थालाई अनुमति दिएको छ। तर कतारले भने कामदार लिंदै आएका स्रोत मुलुकमा कतारको स्वास्थ्य मन्त्रालय मातहत रहेर कामदारको स्वास्थ्य परीक्षण गर्ने,औठा छाप लिने तथा अभिमुखीकरण तालिम दिने संयन्त्र सहितको 'भिसा सेन्टर' स्थापना गर्न लागेको नेपाल स्थित कतारी दूतावासले जनाएको छ। यसले नेपालमा र कतार पुगेपछि गर्नुपर्ने दोहोरो स्वास्थ्य परीक्षणको झन्झट बाट कामदारले मुक्ति पाउने दूतावासको विश्वास छ। 

नेपालका लागि कतारी राजदूत  युसुफ विन मोहम्मद अल हेलले नागरिकन्युजसँग कुरा गर्दै भने "नेपालमा स्वास्थ्य परीक्षण पास भनिएका कामदार त्यहाँ गर्ने स्वास्थ्य परीक्षणमा फेल भइरहेका छन्। कामदारको स्वास्थ्य परीक्षण गुणस्तरीय ढंगमा गर्न हामीले धेरै पल्ट आग्रह गर्यौ तर हाम्रो आग्रहलाई गम्भीर ढंगमा लिइएन। अब हामी नेपालमै कामदारको स्वास्थ्य परीक्षण गर्छौ।"

राजदूत हेलका अनुसार रोजगारदाताले छनोट गरेका कामदार स्वास्थ्य परीक्षण तथा औठा छापका लागि सोझै भिसा सेन्टरमा जानेछन।

"भिसा सेन्टर भनेपछि भिसाको काम पनि भन्ने बुझिन सक्छ। तर हामी भिसा दिंदैनौ। कतार पुगेर कामदार र कम्पनी बीच हुने सम्झौता लगायतका अन्य सबै काम यहि हुन्छ।  कामदार कतार पुगेको भोलि पल्ट देखि नै काममा जान सक्छन" राजदूत हेलले भने। उनका अनुसार  भिसा सेन्टरमा स्वास्थ्य परीक्षण गरेको कुनै शुल्क तिर्नु पर्दैन। हाल भइरहेको गृहकार्यमा केही रोकावट नआए ढिलोमा अबको दुई सातापछि कतार जाने कामदारले स्वास्थ्य परीक्षण गर्न कुनै शुल्क तिर्नु नपर्ने विश्वास लिइएको छ। कामदार आपूर्ति गर्दा लाग्ने सबै खर्च कतारकै रोजगारदाताले व्यहोर्ने जानकार दिंदै उनले भने "कुनै मेनपावरले कामदार सँग स्वास्थ्य परीक्षण वा कुनै बहानामा पैसा मागे हामीलाई भन्नुस त्यस्ता मेनपावरलाई तत्काल व्ल्याक लिष्ट गर्छौ।" आजाद भिसाका नाममा हुने ठगि रोक्न कतारले  भिसा प्रक्रियाका सबै काम स्रोत मुलुक बाटै गर्न लागेको दूतावासको भनाइ छ।

कतार रोजगारीमा सिन्डिकेट नहुने  

पहिलो चरणमा स्वास्थ्य परीक्षण, औठा छाप अभिमुखीकरण तालिम तथा कामदारको करार पत्र नेपालमै बन्ने भएपनि संयन्त्र खोल्नुको उद्देश्य कतार रोजगारीलाई एकाधिकार गर्ने केही 

वैदेशिक रोजगार व्यवसायीको आशंका छ। राजदूत हेलले भने कतार रोजगारीमा कुनै एकाधिकार वा सिन्डिकेट नहुने प्रस्ट पर्दै कतार रोजगारीलाई जोडेर आएका समाचार प्रति असन्तुष्टि जनाए। "हामी कुनै किसिमको सिन्डिकेटको पक्षमा छैनौ र हामीलाई सिन्डिकेट स्वीकार्य छैन। भिसा सेन्टर खुलेपछि सबै काम त्यहि बाट हुने होइन। अहिले मेनपावरमा आएका मागहरु मेनपावरमै आउँछन्। कतार रोजगारलाई व्यवस्थित सहज सरल र निशुल्क बनाउने हाम्रो उद्देश्य हो" उनले भने। 

मेनपावरले कामदारका कागज पत्र पेस गरेको २४ घन्टाभित्रै भिसा उपलब्ध गराउने दूतावासले जनाएको छ।  

कतारले आफुले कामदार लिने ८ वटै मुलुकमा यस्तो संयन्त्र स्थापना गर्न लागेको जनाएको छ। दुई महिना अघि श्रीलंकामा पनि यस्तो संयन्त्र स्थापना गरिसकिएको दूतावासले जनाएको छ। 

 

प्रकाशित: २ मंसिर २०७५ १३:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App