१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आर्मीको पहिलो जित

च्यासलका सन्तोष साहुखललाई रोक्ने प्रयास गर्दै आर्मीका विकास तामाङ (हरियो) । तस्बिरःएन्फा

काठमाडौं – राष्ट्रिय टोलीबाट खेलेका स्ट्राइकर सन्तोस साहुखललाई टोलीमा समावेश गरेसँगै उत्साहित बनेको च्यासल युथ क्लबले शनिबार सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आर्मीलाई १–० को नतिजा सुम्पिएको छ।

लामो समयसम्म लिग सञ्चालन नभएपछि जापान पलायन भएका सन्तोस यसै सात नेपाल फर्किएका थिए । स्वदेश फर्किएलगत्तै सन्तोस राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक राजुकाजी शाक्यको प्रशिक्षणमा रहेको च्यासल युथमा अनुबन्धित भएका थिए।

पहिलो खेलमा न्युरोड टिम (एनआरटी) सँग २–२ को बराबरी खेल्दै अंक बाँडेको आर्मीलाई पहिलो जित दिलाउन विकास खवासले २७औं मिनेटमा गरेको गोल निर्णायक बनेको थियो । हलचोकस्थित एपिएफको मैदानमा भएको खेलमा विकासले सन्तोस तामाङको कर्नर प्रहारलाई हेडमार्फत जाली चुमाएका थिए।

राष्ट्रिय टोलीका खेलाडी सम्मिलित दुवै टोलीको खेल निकै रोमाञ्चक बनेको थियो । खेलमा आर्मीले गोलका लागि धेरै मौका सिर्जना गरे पनि फिनिसिङमा चुकेको थियो । सातौं मिनेटमा सन्तोस तामाङले पेनाल्टी बक्सभित्रबाट गरेको कडा प्रहार च्यासलको गोलपोस्टको साइड बारमा लागेर फर्किंदा आर्मीको सुरुआती अग्रता लिने अवसर गुमेको थियो।

आर्मीलाई पहिलो जित दिलाउन विकास खवासले २७औं मिनेटमा गरेको गोल निर्णायक बनेको थियो।

प्रतिस्पर्धात्मक खेलको १४औं मिनेटमा च्यासलका अमिर श्रेष्ठले पेनाल्टी बक्सभन्दा बाहिरबाट प्रहार गरेको क्विक बल आर्मीका गोलकिपर विकेश कुथुले असफल तुल्याएका थिए । दुवै टोलीले मौका सिर्जना गरिरहे पनि २७औं मिनेटमा विकासले आकर्षक गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए । ३६औं मिनेटमा विमल घर्तीमगरले बराबरी गोल गर्ने मुभ बनाउँदै बल अगाडि बढाउने प्रयास गरे पनि रेफ्रीले उक्त मुभलाई अफसाइडको संकेत गरेका थिए । यस्तै, पहिलो हाफ सकिन चार मिनेट बाँकी छँदा आर्मीका कप्तान भरत खवासले दुई रक्षकलाई बिट गर्दै अगाडि बढाएको बल प्रहार गर्ने क्रममा अकासिएपछि आर्मीले अर्को अवसर गुमाउनुपरेको थियो।

पहिलो हाफको तुलनामा च्यासलले दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरे पनि आर्मीका गोलकिपर विकेश कुथु बाधक बन्दा शाक्यको टोलीको खेलमा फर्कने प्रयास असफल बनेको थियो । च्यासलको गोल प्रयासमा बाधक बनेका विकेश खेलको म्यान अफ दी म्याच घोषित भए । ४८औं मिनेटमा आर्मीका सुमन अर्यालले च्यासलका संजोक राईलाई लडाएपछि प्राप्त फ्रिकिकलाई सन्तोसले चतुरतापूर्वक पोस्टको दिशा दिन खोजे पनि विकेशले त्यसलाई विफल पारेका थिए।

उता अग्रता लिने दाउमा रहेको आर्मीका लागि ५६औं र ६३औं मिनेटमा दिनेश हेम्जनले खाली पोस्टको अवसर सदुपयोग गर्न नसक्दा च्यासलमाथि फराकिलो अन्तरको जित हात पार्ने अवसर गुमेको थियो । च्यासलका गोलकिपर दिनेश थापामगर अगाडि बढेको समयमा आर्मीका दिनेशले पहिलो अवसरलाई पोस्टबाहिर खेर फालेका थिए भने अर्को प्रयास च्यासलका कप्तान देवेन्द्र तामाङले घुँडा टेकेर बचाएका थिए।

पहिलो खेलमा मच्छिन्द्रसँग गोलरहित बराबरी खेलेको च्यासलले लिगमा पहिलो हार भोग्दा आर्मीले पहिलो जित निकाल्दै अंकतालिकामा ३ अंक जोड्न सफल भएको छ । जितपछि आर्मीका प्रशिक्षक नवीन न्यौपानेले जित्नैपर्ने रणनीति सफल भएको प्रतिक्रिया दिए।

‘पहिलो खेलमा एनआरटीसँग अंक बाँडेका थियौं, हामीलाई जित्नै पर्ने दबाब थियो । महत्वपूर्ण तीन अंक बटुल्न सफल भएका छौं,’ प्रशिक्षक न्यौपानेले भने, ‘रक्षापंक्ति राम्रो भए पनि फरवार्ड लाइनमा फिनिसिङ राम्रो हुन सकेन, आउने खेलमा सुधार गर्नेछौं।’

उता पराजित टोलीका प्रशिक्षक शाक्यले राइनो गोल्डकप खेलेर दुई दिनअगाडि मात्र फर्किएको टोली थकित भए पनि राम्रो प्रदर्शन गरेको प्रतिक्रिया दिए। 

‘सन्तोसको पुनरागमनले टोली राम्रो बनेको छ, उनका केही प्रयास असफल भए,’ शाक्यले भने, ‘आर्मीजस्तो बलियो टोलीसँग यत्तिको प्रदर्शन गर्नु राम्रो हो।’

लिगमा आइतबार मच्छिन्द्र क्लब र विभागीय टोली नेपाल पुलिस तथा ब्रिगेड ब्वाइज र थ्री स्टार क्लबबीच ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा)को मैदानमा खेल हुनेछ।

प्रकाशित: २ मंसिर २०७५ ०३:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App