१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

समृद्धिका लागि सहकारीले ठुला उद्योग खोल्नुपर्छ : मुख्यमन्त्री पौडेल

मकवानपुर– तीन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले समृद्धिका लागि सरकारको तीन खम्बे अर्थ नीतिमध्ये एउटा रहेको सहकारीले ठुल्ठुला उद्योग खोल्नुपर्ने बताएका छन्। मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघको शुक्रबार हेटौंडामा २६ औं वार्षिक साधारण सभा तथा रजत महोत्सवको उद्घाटन गरेपछि उनले अब सहकारीलाई कोठामा थुनेर राख्न नहुनेमा जोड दिए।

‘सहकारीमा पुँजी थन्केर बसेको छ तर हामी विदेशीको भर परेर बस्छौ,’ उनले भने, ‘प्रदेशको कानूनले ढोका खोली सक्यो, सहकारी–सहकारी वा सहकारी–सरकार मिलेर काम गर्नुपर्छ।’ गरिब जनताले जम्मा गरेको पैसा सहकारीमै रहने तर करोडपतीले लगानी गरेर अर्बौ कमाइरहेको भन्दै उनले सहकारीको पैसा उत्पादनमुलक क्षेत्रमा लगानी गर्नुपर्ने बताए।

विदेशमा सरकारीले ठुल्ठुला उद्योग सञ्चालन गरिरहेको जानकारी गराउँदै मुख्यमन्त्री पौडेलले नेपालमा सहकारीहरुले उद्योग चलाउन ढिलाई गर्न नहुने बताए। दुई–चार वटा गाई, भैसी पालेर आर्थिक समृद्धि नआउने जिकिर गर्दै उनले भने, ‘समृद्ध नेपाल बनाउन ठुला–ठुला फर्म, उद्योगहरु सञ्चालन गर्नुपर्छ।’ उनले उत्पादनका आधारमा मात्र प्रदेश सरकारले अनुदान दिने बताउँदै उत्पादन नगर्ने किसानलाई अनुदान नदिने बताए।

‘मिल्क होलिडे’ हुन नदिन दुग्ध उत्पादनमा लागत घटाउनुपर्ने भन्दै उनले गाई, दुधको लागत घटाउन सरकार अनुदान दिन तयार रहेको बताए। सहकारीमार्फत् लगानी गर्न प्रदेश सरकार इच्छुक रहेपनि कुनैपनि सहकारीले चासो नदिएको भन्दै मुख्यमन्त्रीले गुनासो पोखे। सहकारी सञ्चालनमा आएको बर्षौ भईसकेको भन्दै पौडेलले अब सहकारीहरुलाई मर्ज गरेर ठुला सहकारी बनाई नयाँ ढाँचामा काम गर्नुपर्ने पनि बताए।

केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष नारायणप्रसाद देवकोटाले तीन खम्बे अर्थ नीतिको सहकारीलाई एउटा मानेपनि सरकारले प्राथमिकता नदिएको भन्दै गुनासो गरे। देशैभर दुग्ध उत्पादक सहकारीहरुले उद्योग सञ्चालनको तयारी गरिरहेको भन्दै आवश्यक सहयोग गर्दै सहकारीलाई उच्च महत्व दिन सरकारसँग अनुरोध गरे। केन्द्रीय सहकारी संघका सदस्य बद्री लम्सालले सरकारबाट सहकारीले उपयुक्त नीति खोजिरहेको भन्दै सहकारीले अनुदान लिन भन्दा आर्थिक विकासमा केन्द्रीत हुनुपर्ने बताए।

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, दुग्ध विकास वोर्डका सदस्य विश्वराम खड्का, हेटौंडा दुग्ध वितरण आयोजनाका प्रमुख गणेशकुमार यादव, चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष हरिहर सुवेदी, मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष वासुदेव अधिकारी, मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघकी सचिव कल्पना श्रेष्ठ लगायतले पशुपालन र दुग्ध व्यवसाय उच्च जोखिममा रहेको भन्दै सरकार र सम्बन्धित सरोकारवाला गम्भीर हुनुपर्नेमा जोड दिए। कार्यक्रममा जिल्ला दुग्ध उत्पादक सहकारी संघले बढी र गुणस्तरीय दुध उत्पादन गर्ने सहकारी, उत्कृष्ट सहकारीकर्मी, कृषक, कर्मचारी, पत्रकारलाई सम्मान गरेको थियो।

प्रकाशित: ३० कार्तिक २०७५ १४:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App