१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

उपप्रधानमन्त्रीद्वारा हिग्विनको व्यवहारप्रति आलोचना

रातो कार्ड बेहोरेपछि रेफ्रीसँग विवाद गर्दै एसी मिलानका हिग्विन (बीच) । तस्बिरः एजेन्सी

रोम – इटालीका उपप्रधानमन्त्री माटियो साल्भिनीले मंगलबार एसी मिलानका अर्जेन्टिनी स्ट्राइकर गोन्जालो हिग्विनको आलोचना गरेका छन्।

गत आइतबार सिरी ‘ए’ अन्तर्गत युभेन्ट्सविरुद्धको खेलमा हिग्विन लगातार पहेँलो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए । ८३औँ मिनेटमा विवाद गरेपछि लगातार दुई पहेँलो कार्ड देखाउँदै रेफ्रीले हिग्विनलाई मैदानबाहिर पठाएका थिए।

उक्त खेलमा हिग्विनले पेनाल्टी अवसरसमेत चुकाउँदा मिलानले युभेन्ट्ससँग २–० को हार बेहोरेको थियो । युभेन्ट्सबाटै लोनमा मिलान गएका हिग्विनले युभेन्ट्सका खेलाडी मेधी बेनेसियामाथि खराब ट्याकल गरेका थिए।

उपप्रधानमन्त्री साल्भिनीले भने, ‘उनको व्यवहार निकै लाजमर्दो छ । मलाई लाग्छ, उनीमाथि लामो प्रतिबन्ध हुनुपर्छ ।’ इटालीका नेता लेगा नोर्डले भने ‘जसले खेलमैदानमा यस्तो खराब व्यवहार गर्दछ, ऊमाथि लामो प्रतिबन्ध र जरिवाना लगाउनुपर्दछ । मलाई लाग्छ इटाली फुटबल फेडेरेसनले यस्ता घटनाका लागि जरिवाना बताउनुपर्छ।’

नेता लेगाले थपे, ‘यस्तो किसिमको घटनाका लागि पाँच वर्षको प्रतिबन्ध तोकिए एक महिनामै खेलाडीको खराब व्यवहार कम हुनेछ ।’ साल्भिनीले घटनापछि इटालीको रेफ्री संघका अध्यक्ष मार्सेलो निचीसँग पनि खेलबारे जानकारी लिएका थिए।

उक्त घटनापछि सिरी ‘ए’ ले हिग्विनमाथि दुई खेलको प्रतिबन्ध लगाउँदै थप सचेत हुन चेतावनी दिइसकेको छ । ३० वर्षे हिग्विनले उक्त घटनापछि माफी मागिसकेका छन् । उनले भने, ‘मेरा समर्थक र सबैप्रति माफी माग्न चाहन्छु । मैले सहज ट्याकल गर्न नसक्दा घटनाले त्यो रूप लियो । मैले पनि आफूलाई रोक्न सकिनँ।’

प्रकाशित: २९ कार्तिक २०७५ ०४:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App