१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

सुपरहिरोका रचयिता लीको निधन

लसएञ्जल्स – स्पाइडरम्यान, आइरनम्यान र द हल्क जस्ता सुपरहिरोका रचयिता अमेरिकी लेखक तथा मार्वेल कमिक्सका पूर्व अध्यक्ष स्टेन लीको निधन भएको छ । लामो समयदेखि अस्वस्थ रहँदै आएका लीको सोमबार बिहान ९५ वर्षको उमेरमा निधन भएको हो।

स्टेनले मार्वेलका लागि कैयौं कमिक्स लेखनसँगै असाधारण शक्तियुक्त कैयौं पात्रको सिर्जना पनि गरेका थिए । उनको कामबाट धेरै प्रशंसक अचम्मित भएका थिए । स्पाइडरम्यान, आयरनम्यान, हल्क, डेयरडेविल र फैन्टास्टिक फर जस्ता सबै कमिक्स पुस्तकका सुपरहिरो स्टेनकै काल्पनिक पात्र थिए । जसलाई उनले पुस्तकमार्फत अलग–अलग रुप दिएका थिए।

स्टेनको जन्म सन् १९२२ मा रोमानियाबाट पलायन भएको एक यहुदी परिवारमा भएको थियो । स्टेनले टाइमली पब्लिकेसनमा लेखकका रुपमा काम शुरु गरेका थिए । उनको आफन्तको यो पब्लिकेसन कालान्तरमा मार्वेल कमिक्समा परिणत भयो । पब्लिकेसनमा उनलाई कमिक्स विभागको जिम्मा दिएपछि उनी१८ वर्षको उमेरमै सम्पादक भए । उनले सन् १९६१ मा मार्वेल कमिक्सका लागि ‘द फेन्टास्टिक फोर’ बनाए । यो कमिक्सपछि उनले ‘स्पाइडर म्यान’, ‘एक्स म्यान’, ‘हल्क’, ‘आयरन म्यान’, ‘ब्ल्याक पेन्थर’, ‘थोर’, ‘डाक्टर स्ट्रेन्ज’ र ‘क्याप्टेन अमेरिका’ जस्ता पात्रको रचना गरे।

स्टेन भण्डै २० वर्षसम्म कमिक्सको विश्वमा छाइरहे । उनले अपराध र थ्रिलर शैलीको कथा लेखेर किशोर प्रशंसकको उत्साहको भोकलाई शान्त पारे । उनका पात्र खराब वा राम्रा दुवै किसिमका हुन्थे । उनले कहिल्यै पनि आफूलाई पात्रका बीचमा राखेनन्।

कमिक्स लेखन शुरु गर्दा निकै डराएका स्टेनले त्यही डरका कारण आफ्नो वास्तविक नामको ठाउँमा स्टेन ली लेखे । केही समयपछि मात्र उनले कानूनी रुपमा यही नामलाई आफ्नो बनाए।

४० वर्षको उमेरमा उनलाई कमिक्सका लागि आफू बुढो भएको अनुभव भएपछि उनकी ब्रिटिश मूलकी पत्नी जोआनले उनको सामू गुमाउनका लागि केही पनि कुरा नभएकोले आफूले चाहे जस्तो चरित्र रचना गर्न सल्लाह दिएकी थिइन् । श्रीमतिको सल्लाहलाई अनुशरण गर्दै उनले सन् १९६१ मा ‘द फेन्टास्कि फोर’ लेखे । जुन पुस्तक निकै लोकप्रिय भयो।

मार्वेल कमिक्सले हरेक वर्ष झण्डै पाँच करोड प्रति पुस्तक बेच्ने गर्दथ्यो । सन् १९७१ मा रिटायर्ड हुने समयसम्म उनले मार्वेलको कभरपेजका लागि कैयौं कथा लेखे । सन् २००१ मा उनले ‘पीओडब्लु’ अर्थात् ‘परवियर्स अफ वन्डर’ नामक फिल्म र टेलिभिजन कार्यक्रम निर्माण गर्ने कम्पनी स्थापना गरे।

उनले रचना गरेका ‘एक्सम्यान’, ‘फेन्टास्कि फोर’, ‘हल्क’, ‘डेयरडेविल’ र ‘आयरनम्यान’ जस्ता चरित्र अहिले पनि लोकप्रिय छन् । सन् २००२ मा फिल्म ‘स्पाइडरम्यान’ र सन् २००४ मा ‘स्पाइडर म्यान २’ रिलिज भएको थियो । यी फिल्मले विश्वव्यापी रुपमा १ दशमलब ६ अर्ब डलरको कमाई गरेको थियो । मार्वेलले हालसम्म बनाएका सबै फिल्ममा स्टेनले केमियो भूमिका निभाएका थिए । जुन भूमिकाबाट उनले तारिफ पनि पाए । स्टेनले ग्राफिक उपन्यास पनि लेखेका थिए । सन् २०१२ मा उनी ‘रोमियो एण्ड जुलिएट’का सहलेखक पनि थिए । जुन पुस्तकलाई न्यूर्योक टाइम्सले बेस्ट सेलरको सूचीमा स्थान दिएको थियो।

प्रकाशित: २८ कार्तिक २०७५ ००:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App