१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

शर्माद्वारा नागरिकविरुद्ध गाली बेइज्जती मुद्दा दायर

काठमाडाैं – साझा प्रकाशनका तत्कालीन अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले नागरिक तथा रिपब्लिका दैनिकले आफूविरुद्ध समाचार प्रकाशित गरी गाली बेइज्जती गरेको दाबी गर्दै काठमाडौं जिल्ला अदालतमा फिराद दायर गरेका छन्।

आफू साझा प्रकाशन सहकारी संस्था लिमिटेडको अध्यक्ष तथा महाप्रबन्धकको रुपमा कार्यरत रहँदाको अवस्थामा संस्थामा भइरहेको असहजतलाई सुधार गर्दै अघि बढ्न खोज्दा नागरिक तथा रिपब्लिका दैनिकले दुई वर्षदेखि लगातार आफूविरुद्ध लक्षित गरी समाचार प्रकाशन गरी आफ्नो गाली बेइज्जती भएको शर्माको जिकिर छ।

नागरिकले साझामा भइरहेको अनियमिततका विषयमा समाचार प्रकाशित गर्दै आएको छ । नेपाल रिपब्लिक मिडिया प्रालिका प्रबन्ध निर्देशक विनोदराज ज्ञवाली, नागरिकका प्रधान सम्पादक गुणराज लुइँटेल, रिपब्लिकाका सम्पादक सुभाष घिमिरे तथा रिपब्लिकाका संवाददाता विष्णु अर्याललाई मुद्दामा विपक्षी बनाइएको छ । असोज ९ मा दायर भएको सो मुद्दाको म्याद अदालतका कर्मचारीले नेपाल रिपब्लिक मिडियाको सुन्धारास्थित कार्यालयमा सोमबार बुझाएका छन् । ‘करिब दुई वर्ष अघिदेखि मलाई निरन्तर रुपमा निरुत्साहित एवं मेरो मान, प्रतिष्ठासमेतमा आघात पुग्ने गरी पत्रिकाको सम्पादकीयमा समेत मेरा विरुद्धमा भ्रमपूर्ण सामग्री प्रकाशित गर्ने क्रममा हालसम्म असी पटक भन्दा बढी पटक’ आफूविरुद्ध प्रकाशन गरेको पनि शर्माले दाबी गरेका छन्।

फिरादपत्रमा थप भनिएको छ, ‘विपक्षीहरुले तथ्यहीन, भ्रमपूर्ण तथा मेरो सामाजिक मान, प्रतिष्ठा, इज्जत, मर्यादा समेतमा आँच आउनेगरी म फिरादीलाई भ्रष्टाचारी भन्ने समेतको लिखित व्यहोरा उल्लेख गरी विभिन्न प्रतिष्ठित व्यक्तिहरुको समेत आडमा साझा प्रकाशनको लोगो समेतको दुरुपयोग गरेको भन्ने जस्ता समाचार प्रकाशित गरी मेरो सामाजिक मान, प्रतिष्ठामा खलल पुर्याउने कार्य विपक्षीहरुबाट भएको हुुँदा प्रस्तुत फिराद पत्रका साथ उपस्थित भएको छु।’

नागरिक तथा रिपब्लिका दैनिकमा प्रकाशित समाचारबाट आफ्नो मर्यादामा आँच आई आफूलाई १० करोड बराबरको क्षति भएकोले सो क्षति तथा मुद्दा गर्न लागेको खर्च सात लाखसमेत भराई पाउन समेत शर्माले दाबी गरेका छन् । भदौको अन्तिम साता नागरिकका प्रकाशक तथा सम्पादकले आफूहरुलाई बद्नाम गर्नेगरी शर्माद्वारा लिखित एक पुस्तकले बेइज्ज्ती गरेको दाबीसहित मुद्दा दर्ता गराएको केही हप्तापछि नै शर्माले नागरिकविरुद्ध फिराद दर्ता गराएको हुन्।

नेपाल रिपब्लिका मिडिया प्रालिका प्रबन्ध निर्देशक ज्ञवाली, नागरिक दैनिकका प्रधान सम्पादक लुइँटेल, रिपब्लिका दैनिकका संवाददाता विष्णु अर्याल र नागरिकका संवाददाता वसन्त खड्काबाट संयुक्त रुपमा शर्माद्वारा लिखित ‘बादलभित्रको घाम’ नामक पुस्तकमार्फत आफूहरुको बेइज्जती गरिएको दाबी गरिएको थियो । सो पुस्तकका लेखक शर्मा तथा अनामनगरस्थित प्रकाशक शमी साहित्यिक प्रतिष्ठानलाई उक्त मुद्दामा विपक्षी बनाइएको छ । दुवै प्रतिवादीहरुको मिलेमतोमा नेपाल रिपब्लिक मिडियाका प्रकाशक तथा नागरिक र रिपब्लिका दैनिकका प्रधान सम्पादक एवं पत्रकारहरुको बेइज्ज्जी गरी आफूहरुलाई खति पुर्याएकाले आफूहरुको इज्जतमा पुगेको धक्काबाट व्यक्तिगत दुई करोड बराबरको खतिको भएकोले सो खति बापतको जम्मा आठ करोड रुपैया एवं मुद्दा गर्दा लागेको खर्चसमेत विपक्षीहरुबाट भराउन माग गरिएको थियो।

नागरिकद्वारा शर्माविरुद्ध मुद्दा दायर भएपछि त्यसको बद्लाको रुपमा शर्माले नागरिकविरुद्ध फिराद दायर गरेकोले सो विषय आफूहरुले अदालतमा उठाउने नेपाल रिपब्लिक मिडिया प्रालिका कानुनी सल्लाहकार अनन्तराज लुइँटेलले बताए । ‘प्रकाशन गृहले मुद्दा दायर गरिसकेपछिको मितिमा दायर भएको सार्वजनिक निकायका पदाधिकारीको फिरादले शर्मा व्यक्तिगत रुपमै आरोप प्रत्यारोपमा ओर्लिएको संकेत हुन्छ । त्यसैले यस्तो बदलाको विषय पक्कै अदालतमा उठ्छ,’ लुइँटेलले भने।

प्रकाशित: २७ कार्तिक २०७५ ०४:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App