१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

रोहिन्जाले शरणार्थी शिविर छोडेर भागे

बिहानको समयमा बंगलादेशको कोक्स बजारस्थित जामटोली शरणार्थी शिविरमा हिँडिरहेका रोहिन्जा शरणार्थी । फाइल तस्बिर : एजेन्सी

कोक्स बजार – म्यानमार फिर्तिको पहिलो सूचीमा रहेका दर्जनौं रोहिन्जा बंगलादेशस्थित शरणार्थी शिविरबाट भागेका छन्।

बंगलादेशको कोक्स बजारस्थित शरणार्थी शिविरमा बसिरहेका रोहिन्जा शरणार्थीको पहिलो सूची यसै साताको अन्त्यतिर म्यानमार लाने तयारी रहेको छ । म्यानमारले रोहिन्जालाई स्वदेश लाने तयारी गरिरहेकै बेला शरणार्थी शिविरमा बसिरहेका दर्जनौं रोहिन्जा मुसलमान परिवारले शिविर छोडेर भागेको रोहिन्जाका नेतालाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले जनाएको छ।

‘म्यानमार फर्किने रोहिन्जाको पहिलो सूचीमा रहेका अधिकांशले शिविर छोडेर भागेका छन्,’ कोक्स बजारबाट दक्षिणपूर्वमा रहेको जामटोली शरणार्थी शिविरका रोहिन्जा नेता अब्दुस सलामलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ । उनका अनुसार त्यसरी भागेकामध्ये अधिकांश रोहिन्जा अन्य शिविरमा गएको आशंका गरिएको छ । उनीहरु पक्राउ पर्ने डरमा र आफ्नो इच्छाविपरित म्यानमार फर्कनु पर्ने डरले भागेको हुनसक्ने अनुमान सलामले गरेका छन् । सन् २०१७ को अगस्ट २५ का दिन विद्रोही रोहिन्जा समूहका सदस्यले म्यानमारको पूर्वी रखाइन राज्यमा एकै साथ कैयौं प्रहरी चौकीमा आक्रमण गरेपछि त्यसको प्रतिक्रियास्वरुप सरकारी सेनाले गरेको बल प्रयोगका कारण सात लाखभन्दा बढी रोहिन्जा छिमेकी देश बंगलादेश पुगेका छन्।

बंगलादेश पुगेका रोहिन्जा मुसलमानलाई म्यानमार फिर्ता लानका लागि दुई देशबीच अक्टोबर महिनाको अन्त्यतिर सहमति भएको थियो । बंगलादेश र म्यानमारबीच भएको सहमतिका अनुसार नोभेम्बर दोस्रो साताको अन्त्यतिर पहिलो चरणमा केही रोहिन्जालाई म्यानमार लैजाने विषय समावेश भएको थियो । त्यही विषयअन्तर्गत म्यानमारले तयारीसमेत गरेको छ।

म्यानमार फिर्ता लगिने रोहिन्जाको पहिलो सूची तयारी भए पनि पूर्ण सुरक्षाको प्रत्याभूति नभएसम्म म्यानमार नजाने अडान रोहिन्जा नेताहरुले गर्दै आएका छन् । संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी निकाय र अन्य विभिन्न सहायता एजेन्सीले पनि रोहिन्जाको म्यानमारमा सुरक्षित तरिकाले फिर्ति हुने विषयमा आशंका व्यक्त गरिरहेका छन् । उनीहरु म्यानमार फर्किने रोहिन्जाको अवस्था सहज हुनेमा पनि विश्वस्त नभएको बताइएको छ।

म्यानमार फिर्ता जाने रोहिन्जाको पहिलो सूचीमा दुई हजारको संख्या रहेको बताइएको छ । नोभेम्बर १५ देखि औपचारिक रूपमा रोहिन्जा फिर्ताको कार्यक्रम तय भएको रोयटर्सले उल्लेख गरेको छ । म्यानमारका सरकारी अधिकारीहरुले पनि आफूहरु रोहिन्जा शरणार्थीलाई यसै साताको अन्त्यबाट फिर्ता लैजान तयार रहेको आइतबार बताएका थिए।

‘रोहिन्जा फिर्ता लाने कार्य वास्तवमै हुन्छ वा हुँदैन भन्ने विषय अन्य देशमा भर पर्छ,’ म्यानमारका समाज कल्याण तथा पुनर्स्थापना मन्त्री विन म्याट आएले बंगलादेशलाई उल्लेख गर्दै पत्रकार सम्मेलनका क्रममा बताए । ‘यद्यपि हामी हाम्रो तर्फबाट पूर्ण तयार हुनुपर्छ र हामीले त्यस्तो तयारी गरिसकेका छौं,’ उनले बताए।  

बंगलादेशले गत साता म्यानमारसमक्ष पेश गरेको फिर्ता जाने रोहिन्जाको पहिलो सूचीमा परेका २० भन्दा बढी शरणार्थीले रखाइन राज्य जान इन्कार गरेका थिए।

कोही पनि शरणार्थीलाई फिर्ता जान दबाब नदिने बंगलादेशले बताएको छ । उसले फिर्ता लगिनेको सूचीमा परेकालाई उनीहरुको इच्छा प्रमाणित गर्नका लागि शरणार्थीका लागि संयुक्त राष्ट्रसंघको उच्च आयुक्तको कार्यालयलाई आग्रहसमेत गरेको छ।
 

प्रकाशित: २७ कार्तिक २०७५ ०१:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App