१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

क्यालिफोर्निया डढेलोमा मृतकको संख्या ३१ पुग्यो

क्यालिफोर्नियाको मालिबुमा लागेको डढेलो नियन्त्रणका लागि हवाइजहाजबाट अग्निनियन्त्रण ग्यास छर्दै । तस्बिर: एजेन्सी

क्यालिफोर्निया – अमेरिकाको क्यालिफोर्निया राज्यको जंगलमा लागेको डढेलोमा परी मृत्यु हुनेको संख्या ३१ पुगेको छ । डढेलोमा परी दुई सयजना भन्दा बढी हराइरहेको अधिकारीहरुले बताएका छन्।

क्यालिफोर्नियाको उत्तरी क्षेत्रमा लागेको क्याम्प फायरमा थप ६ जनाको मृत्यु भएको पुष्टि भएको छ । यससँगै सो क्षेत्रमा मात्रै डढेलोको कारण मृत्युको हुनेको संख्या २९ पुगेको अधिकारीहरुलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ।

यससँगै क्यालिफोर्नियामा गत सातादेखि सुरु भएको डढेलोले सन् १९३३ मा लस एन्जेलसको ग्रिफ्थ पार्क प्रकोपबराबरकै रेकर्ड बनाएको बताइएको छ । क्यालिफोर्नियाको दक्षिणी क्षेत्रमा लागेको वुल्से फायरका कारण पनि दुई जनाको ज्यान गएको बताइएको छ । सो आगलागीले मालिबुलगायत अन्य बिच रिसोर्टसमेत ध्वस्त बनाएको छ ।

डढेलोको कारण करिब दुई लाख ५० हजार मानिस आफ्नो घर छोडेर भाग्न बाध्य भएको अधिकारीहरुले जानकारी गराएका छन् । डढेलो तत्काल नियन्त्रणमा आउने सम्भावना नदेखिएपछि क्यालिफोर्नियाका गभर्नर जेरी ब्राउनले संघीय आपतकाली सहायताका लागि राष्ट्रपति डोनाल्ड ट्रम्पलाई गुहारेका छन् । जंगल व्यवस्थापनमा भएको कमजोरीका कारण डढेलो लागेको भन्दै क्यालिफोर्नियामा सहायता रकम कटौती गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनीको भोलीपल्ट गभर्नर ब्राउनले राष्ट्रपति गुहारेका हुन्।

अग्निनियन्त्रकको अन्तर्राष्ट्रिय एसोसिएसनका अध्यक्ष हारोल्ड स्केटबर्गरले अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी गैरजिम्मेवार र होच्याउने प्रवृत्तिको भएको बताएका छन् । डढेलोको कारण ध्वस्त भएका क्यालिफोर्नियामा ६ हजार सात सयभन्दा बढी घर र टाउन अफ प्याराडाइजमा रहेका व्यापारिक केन्द्रमा आपतकालीन टोली पठाइएको छ ।  डढेलोको कारण क्यालिफोर्नियाका विभिन्न सहर तथा वरपरका क्षेत्र प्रभावित भएको बताइएको छ।

आइतबार अबेर आयोजित पत्रकार सम्मेलनमा बुट्टी काउन्टीका सेरिफ कोरी होनियाले घरभित्र जलेको अवस्थामा पाँचजनाको र अन्य एकको सवारीसाधनभित्र शव प्राप्त भएको बताएका छन् । उनले कम्तीमा दुई सय २८ जना मानिस हराइरहेको जानकारीसमेत गराएका छन् । प्याराडाइजका मेयर जोडी जोन्सले पनि सो सहरमा भएको पछिल्लो अवस्थाको  जानकारी बिबिसीलाई गराएकी छन्।

‘अधिकांश आवसीय क्षेत्र डढेलोको कारण ध्वस्त भएको छ,’ उनले बताइन् । ‘राज्यकै इतिहासमा डढेलो अत्यन्तै विनाशकारी छ,’ उनले बताइन् । डढेलोले एक लाख ११ हजारभन्दा बढी एकर जमिन जलाएको छ । यसैबीच आगलागीको मौका छोपेर लुटपाटमा संलग्न केही शंकास्पद लुटेरालाई प्याराडाइजबाट शनिबार पक्राउ गरिएको छ।
 

प्रकाशित: २७ कार्तिक २०७५ ०१:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App