१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

घरेलु मैदानमा बार्सिलोना असफल

मड्रिड – रियाल बेटिसलाई आइतबार ४–३ को नतिजा सुम्पिएसँगै बार्सिलोनाले दुई वर्षपछि घरेलु मैदान क्याम्प नोउमा स्पेनिस ला लिगाको पहिलो हार बेहोरेको छ।

पछिल्लो पटक २०१६ सेम्टेम्बरमा क्याम्प नोउमा आल्भेसलाई नतिजा सुम्पिएयता बार्सिलोनाले घरेलु मैदानमा हारको सामना गरेको थिएन । तर बेटिसले अपनाएको काउन्टर अट्याकको रणनीति सफल भएसँगै बार्सिलोनाको घरेलु मैदानमा कायम रहेको ४२ खेलको अपराजित यात्रामा पूर्णविराम लागेको हो।

आइतबारै सम्पन्न अर्को खेलमा रियाल मड्रिडले सेल्टा भिगोमाथि ४–२ को नतिजा निकालेसँगै अन्तरिम प्रशिक्षक सान्टियागो सोलारीको प्रशिक्षण अवधि लम्बिने सम्भावना बलियो बनेको छ।

लगातारको खराब प्रदर्शनपछि तत्कालीन प्रशिक्षक युलेन लोप्तेगी बर्खास्तगीमा परेसँगै अन्तिरिम प्रशिक्षकमानियुक्त भएका सोलारीले क्लबका लागि लगातार चौथो जित पक्का गरिसकेका छन् । त्यस्तै टोलीले शीर्ष स्थाको बार्सिलोनासँगको दूरी पनि ४ अंकमा झारेको छ । बेटिससँगको हारका बाबजुद १२ खेलमा २४ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा यथावत् छ भने समान खेलमा २३ अंक जोडेका सेभिया, एट्लेटिको मड्रिड र आल्भेस क्रमशः दोस्रो, तेस्रो र चौथो स्थानमा छन् । २१ अंकका साथ स्पानियोल पाँचाैं स्थानमा रहँदा २० अंक जोडेको रियाल छैटौं स्थानमा उक्लिएको छ।

‘हामी सोलारीको प्रशिक्षणबाट सन्तुष्ट छाैं । उनको प्रशिक्षणमा टोलीले लगतार सुखद नतिजा ल्याइरहेको छ,’ रियालका निर्देशक इमिलियो बुर्टाग्युरोनले भने।

चोटका कारण मैदानबाहिर रहेका कप्तान लियोनल मेसी चोटमुक्त हुँदै मैदाननमा पुनरागमन गरेपनि बार्सिलोना स्तब्ध भएको हो । मेसीले पेनाल्टीमा गरेको गोल र खेलको अन्तिम समयमा गरेको गोल टोलीका लागि सान्त्वनामा सीमित भएको थियो ।

‘बेटिसले आज हामीभन्दा निकै माथिको प्रदर्शन गर्यो,’ बार्सिलोनाका प्रशिक्षक अर्नेस्टो भाल्भार्डेले भने, ‘हामीले सुरुआतबाटै उनीहरूको काउन्टर अट्याको रणनीति बुझ्दै रणनीति परिवर्तन गरेको भए नतिजा अर्के हुने थियो ।’ आल्भेसले आइतबार चाँडो गरी भएको खेलमा हुएस्कामाथि २–१ को नतिजा निकालेको थियो भने वेसाम वेन एडरले खेलको अन्तिम मिनेटमा गरेको निर्णायक गोलमा सेभियाले स्पानियोललाई २–१ ले नै हराएको थियो । ‘हामी शीर्ष स्थानमा यथावत् छाैं । त्यो नै राम्रो पक्ष हो,’ भाल्भार्डेले भने, ‘यसले हामीलाई सधैं सहज जित सम्भव छैन भन्ने पाठ सिकाएको छ ।’

खेलको १२औं मिनेटमा जुनियस फेर्पोले बललाई जाली चुमाएसँगै बेटिसले अप्रत्याशित अग्रता बनाएको थियो । मध्यान्तर हुन ११ मिनेट बाकी हुँदा ज्याक्वेनले गरेको गोलमा बेटिसले अग्रता दोब्बर पारेको थियो।

५८औं मिनेटमा मेसीले पेनाल्टीमा गरेको गोलमा बार्सिलोनाले खेलमा फर्कने संकेत गरेको थियो । ७१औं मिनेटमा जियोभानी सेल्सोले गोल गर्दै बेटिसको अग्रता ३–१ मा पुर्याएका थिए । त्यसको आठ मिनेटपछि बार्सिलोनाका आर्टुरो भिडालले गोल गर्दै खेलअन्तर ३–२ मा झारेका थिए।

८१ औं मिनेटमा इभान राकेटिच दोस्रो पहेँलो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिएसँगै बार्सिलोनाले १० खेलाडीमा सीमित हुँदै खेलको अन्त्य गरेको थियो । त्यसको २ मिनेटपछि नै सर्जियो कानालेसले बललाई  पोस्टको दिशा दिँदा बेटिसले अग्रता ४–२ मा पुर्याएको थियो । इन्जुरी समयको तेस्रो मिनेटमा मेसीले व्यक्तिगत दोस्रो गोल पूरा गरे पनि त्यो बार्सिलोनालाई खेलमा फर्काउन पर्याप्त भएन।

यता रियालले सेल्टा भिगोलाई ४–२ ले निराश पारेको हो । रियालको जितमा करिम बेन्जेमा, कप्तान सर्जियो रामोस र ड्यानी सेवालोसले समान एक गोल गरेका थिए भने सेल्टा भिगोका गास्ताभो काभारालले एक आत्मघाती गोल गरेका थिए । सेल्टा भिगोका ह्गुरो माउलो र ब्रेइस मेन्डेजले सान्त्वना गोल फर्काए पनि टोलीको हार टार्न सकेन।

प्रकाशित: २६ कार्तिक २०७५ २३:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App