१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

दिल्लीको प्रदूषणस्तर मापदण्डभन्दा बढी

नयाँ दिल्ली – भारतको नयाँ दिल्लीमा विश्व स्वास्थ्य संठनले तोकेभन्दा प्रदूषणको स्तर २० गुणा बढेपछि अधिकारीहरूले स्थानीयवासीलाई सकेसम्म केही दिन घरभित्रै रहन र प्रदूषणका स्रोत मानिने गतिविधिलाई कम गर्न सहयोगी भूमिका खेल्न आग्रह गरेका छन्।

दीपावलीअघि नै सहरमा बाक्लो तुवाँलोले ढाकिएपछि राजधानी दिल्लीका बासिन्दामा त्रास फैलिएको छ। दीपावली मनाउँदा पटाका पड्काइने भएकाले वायुको गुणस्तर झनै खस्किने ठानिएको भन्दै विज्ञहरूले पूर्वचेतावनी दिएको फ्रान्सेली समाचार एजेन्सी एएफपीले जनाएको छ।

प्रदूषण कम गर्न सहरभित्र भइरहेका निमार्ण कार्यलाई नियन्त्रण गरिएको छ भने सबै विद्यालयमा तीन दिन बिदा दिइएको छ । भारतको सर्वोच्च अदालतले दुई घण्टा मात्र पटाका पड्काउन आदेश दिएको छ । तर धार्मिक आस्थाका कारण हुने गतिविधिमा त्यस प्रतिबन्ध लागू गर्न निकै कठिन हुने सरकारी अधिकारीहरुले बताएका छन्।

भारतीय नागरिकले दीपावलीलाई ‘असत्यमाथि सत्यको विजय’ हुने संकेतका रूपमा मनाउने गर्छन् । विश्व स्वास्थ्य संगठनले १४ भारतीय सहरलाई अतिप्रदूषित सूचीमा राखेको छ । दिल्ली विश्वकै अतिप्रदूषित स्थानमध्ये छैटौं स्थानमा पर्छ । भारतीय सहरहरूमा पछिल्ला केही वर्ष यता वायु प्रदूषणको मात्रा निकै बढेको बताइने गरेको छ । भारतीय राजधानी दिल्लीमा छिमेकी राज्यहरू पञ्जाब तथा हरियाणाका किसानले जमिनको उर्बराशक्ति बढ्ने विश्वासका साथ खेत सफा गर्ने क्रममा हरेक वर्ष नोभेम्बर तथा डिसेम्बर महिना अन्नबालीका ठुटा जलाउने भएकाले प्रत्येक वर्ष दिल्लीमा वायुको गुणस्तर खस्कने गरेको भारतीय अधिकारीहरूको बुझाई छ । राजधानी दिल्लीमा बढेको प्रदूषणमा कमी गर्न भारत सरकारले पटक पटक नियन्त्रणका योजना सार्वजनिक गरे पनि सवारी साधनको अत्यधिक चाप र अव्यवस्थित सहरीकरणका साथै औद्योगिकीकरणले यस कार्यमा चुनौती दिने गरेको छ।

प्रदूषण कमी गर्न र प्रदूषणमुक्त समाज निर्माणका लागि सरकार, स्थानीय संघसंस्था र अगुवा नागरिकले जनचेतना सिर्जना गर्ने कार्यक्रमलाई निरन्तरता दिँदै आएका छन्।

प्रकाशित: २१ कार्तिक २०७५ ०५:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App