१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सर्लाही घटना : तीन दिनदेखि मृतकको शव अस्पतालमै

सर्लाही– जिल्लाको दक्षिण पश्चिम क्षेत्र स्थित रामनगर गाउँपालिकाको बोहर्वा गाउँमा गत मंगलबार बिहान दुईपक्षबीच झडपका क्रममा गोली लागि मृत्यु भएका रामविलास महतोको शव तीन दिनदेखि अस्पतालमै रहेको छ।

आक्रमणमा संलग्न दोषीलाई पक्राउ गर्नुपर्ने, मृतकलाई शहिद घोषणा गर्नुपर्ने, घाइतेलाई निःशुल्क उपचार गर्नुपर्ने, मृतकका परिवार एवं अन्य क्षतिमा राहत उपलब्ध गराउनु पर्ने लगायत माग पूरा नभएसम्म मृतकको शव नबुभ्mने आफन्तको अडान रहेको छ। घटनामा जिल्ला स्थित सुरक्षा निकायले हदैसम्मको वेवास्ता गरेको भन्दै नेपाली कांग्रेसले माग पूरा नभएसम्म मृतकको शव नबुझ्ने र कडा संघर्षको कार्यक्रम आयोजना गरिने चेतावनी दिँदै आएको छ। बुधबार दिउँसो केन्द्रीय उपसभापति विमलेन्द्र निधि, प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य आनन्द ढुंगाना, २ नं. प्रदेश अन्तर्गत ८ वटै जिल्लाका पार्टी सभापति सहित नेताहरुको सहभागितामा सदरमुकाम मलंगवामा विरोध कार्यक्रम समेत गरेको थियो। पार्टीले अघि सारेको माग पूरा नभएसम्म मृतकको शव आफन्तले नबुझ्ने नेपाली कांग्रेस सर्लाही सभापति नागेन्द्रकुमार रायले बताएका छन्।

रामनगर गापा–४, बोहर्वा गाउँमा दुइ पक्षबीच झडप हुँदा कांग्रेस कार्यकर्ता ५५ वर्षीय महतोको गोली लागि मृत्यु भएको थियो। अघिल्लो दिन सोमबार कार्यालय जाँदै गर्दा बाटोमा एक समूहको कुटपीटबाट सोही वडाका वडाअध्यक्ष रामनरेश महतो गम्भीर घाइते भएका थिए। वडाअध्यक्ष माथि मरणासन्न हुनेगरी कुटपीट गर्ने समूहले नै भोलिपल्ट मंगलबार बिहानै गाउँमा आएर बन्दुक सहित आक्रमण गरेको मृतकका आफन्त एवं घाइतेले बताउँदै आएका छन्। मृतक रामविलास वडाअध्यक्ष रामनरेशका काका हुन्। 

मंगलबार साँझ घटनास्थल पुगेका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल, नेपाल प्रहरीका प्रहरी उपरीक्षक पोषराज पोखरेल, सशस्त्र प्रहरी उपरीक्षक समरबहादुर श्रेष्ठ लगायत टोली पुगेर निश्पक्ष ढंगले अनुसन्धान गर्ने प्रतिबद्धता जनाएपछि आफन्तले पोष्टमार्टमका लागि शव अस्पताल ल्याउन दिएका थिए। शवको विहिबार दिउँसो पोष्टमार्टम भइसकेको छ।

प्रकाशित: १५ कार्तिक २०७५ १२:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App