१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

२०२२ मै ४८ राष्ट्र : इन्फान्टिनो

क्वालालम्पुर – विश्व फुटबल महासंघ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले २०२२ को विश्वकपमा ४८ राष्ट्रको सहभागिता सम्भव रहेको बुधबार बतएका छन्।

फिफाले २०२६ मा ३२ राष्ट्रबाट बढाएर ४८ राष्ट्रको सहभागिता हुने यसअघि नै निर्णय गरिसकेको छ । संयुक्त राज्य अमेरिका, क्यानाडा र मेक्सिकोद्वारा संयुक्त रूपमा आयोजना हुन लागेको संस्करणमा त यो पक्का हुने उनले बताएका हुन्।

‘३२ राष्ट्रबाट बढाएर ४८ राष्ट्र पु¥याउने यसअघि नै निर्णय गरिसकेका छौं,’ मलेसियाको क्वालालम्पुरमा आयोजना भएको एसियन फुटबल संघ (एएफसी) को वार्षिक साधारणसभामा अध्यक्ष इन्फान्टिनोले भने, ‘यो २०२६ मा त अवश्य लागू हुनेछ । आउँदो कतार संस्करणमा पनि यो सम्भव छ।’

‘विश्वकपमा सहभागी राष्ट्रको संख्या बढाउनु भनेको एसियाबाट यसअघि ४ अथवा ५ देशको सहभागिता बढेर ८ अथवा ९ हुने हो,’ इन्फान्टिनोले साधारणसभामा यस्तो प्रतिक्रिया दिएपछि उपस्थित सबै आगन्तुकले खुसी साटासाट गरेका थिए।

‘एसियाली राष्ट्रका लागि यो ठूलो मौका हो । यो सम्भव पनि छ । यसबारेमा हामीले कतारका पदाधिकारीसँग कुरा गरिसकेका छौं । सँगै अन्य क्षेत्रका पदाधिकारीसँग पनि यो विषयलाई उठाइसकेका छौं । हामीलाई विश्वास छ, यो विषयले सम्बोधन पाउनेछ,’ इन्फाटिनोले थपे।

बढाइएका १६ राष्ट्रलाई समावेश गर्दै आयोजना गर्नु कतारका लागि कठिन हुनेछ । तर कतारका लागि यो सम्भव हुनेछ, किनभने २०१० मा कतारले सानो मरुभूमिको रूपमा सम्मान पाइसकेको छ।

छिमेकी देश साउदी अरेबिया, बहराइन, युनाइटेड अरब इमिरेट्स (युएइ) र इजिप्टसँग राम्रो सम्बन्ध नभएको कतारलाई यो प्रतियोगिता आयोजना गर्न निकै चुनौती पनि छ । कतारसँग यी देशसँग कूटनीतिक सम्बन्ध बिग्रिएको छ।

२०२२ आयोजक समितिका प्रमुख हसन अल–थावाडीले ४८ देशको सहभागिताको विषयमा अध्ययन भइरहेको र छनोटपूर्व नै यो बारेमा निर्णय आइसक्ने बताए।

‘हामीले अझै सम्भाव्यतालाई अध्ययन गरिरहेका छौं र यसबारेमा सकारात्मक जबाफ निकट भविष्यमा छिट्टै दिनेछौं,’ आयोजक प्रमुख अल–थावाडीले भने, ‘यसको निर्णय छनोटपूर्व नै सार्वजनिक गर्नेछौं । सम्भवतः अर्को वर्षको पहिलो त्रैमासभित्र निर्णय सुनाउनेछौं।’

नाकाबन्दीका बावजुद पनि विश्वकपको तयारी तीव्र रूपमा भइरहेको छ । दुई खर्ब अमेरिकी डलरको भौतिक पूर्वाधारलाई भने यसले कुनै असर पुर्याएको छैन।

‘पूर्वाधारमा भएको कामप्रति हामी निकै उत्साहित छौं । धमाधम काम भइरहेको छ । आउँदो २०२० या २०२१ मा सबै आठ रंगशाला पूर्ण रूपमा तयार हुनेछन्,’ अल–थावाडीले थपे, ‘यो नै मध्यपूर्वमा आयोजना हुन लागेको पहिलो विश्वकप हो, जसले सबै मानिसलाई एउटै सूत्रमा बाँध्न सहयोग पुर्याउनेछ।’

अर्को वर्ष हुने लागेको फिफा अध्यक्ष्क निर्वाचनमा इन्फान्टिनोले २ सय ११ मध्ये १ सय ८० राष्ट्रले आफूलाई समर्थन गर्ने विश्वास व्यक्त गरे।

‘अर्को वर्ष अध्यक्ष पदका लागि निर्वाचन हुँदै छ । मैले यसअघि नै अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरिसकेको छु ।  १ सय ८० भन्दा बढी सदस्यको समर्थन पाउनेमा म विश्वस्त छु,’ इन्फान्टिनोले भने, ‘एसिया महादेश आउँदा दुई मतको मात्र शंका लागेको छ।’

नाकाबन्दीका बावजुद पनि विश्वकपको तयारी तीव्र रूपमा भइरहेको छ । दुई खर्ब अमेरिकी डलरको भौतिक पूर्वाधारलाई भने यसले कुनै असर पुर्याएको छैन।

प्रकाशित: १५ कार्तिक २०७५ ०४:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App