१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

धावनमार्ग कालोपत्रे सुरु, ६ महिनामा सकिने

भैहरवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग कालोपत्रे सुरु गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी । तस्बिरः मोहम्मद/नागरिक

भैरहवा – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग ६ महिनाभित्र तयार हुने बताएका छन् । मंगलबार धावनमार्ग कालोपत्रे थालनी गर्दै मन्त्री अधिकारीले ठेकेदारले चार महिनामा सक्ने भने पनि अलिकति समय राखेर ६ महिना भनिएको बताए।

सबैभन्दा चुनौतीको विषय धावनमार्ग कालोपत्रे सुरु भएको भन्दै मन्त्री अधिकारीले स्थानीय स्तर, जनप्रतिनिधिको सहयोगमा अर्जुनदृष्टि लागाएर काम अघि बढेको बताए।

आयोजनाले गरेको कामको प्रशंसा गर्दै उनले आवश्यकता र प्रक्रिया अनुसार आयोजना प्रमुख आउने, निमित्त प्रमुख भएर पनि काम अघि बढिरहेकोले यस विषयमा चिन्ता मान्नु नपर्ने बताए । पछिल्लो समयका हवाई सेवा सम्झौता सबैमा गौतमबुद्ध विमानस्थललाई जोडेको उनले जानकारी गराए।

‘पहिला हवाई रुट सिमरा थियो । अहिले नेपालगन्ज, महेन्द्रनगर, जनकपुर, विराटनगर गरी चारवटा हवाई रुटका लागि नेपाल र भारतबीच उच्चस्तरीय सहमति भएर सम्झौताको क्रममा छ । एयर रुटको कारण यो विमानस्थल एक मिनेट पनि ढिलो नहुने भन्दै उनले हवाई रुटको लागि उच्चस्तरीय छलफल निरन्तर भइरहेको जानकारी दिए।

मुआब्जाको विषयमा बोल्दै मन्त्री अधिकारीले भने, ‘सकेसम्म यस वर्ष अत्यधिक मुआब्जा वितरण गर्ने लक्ष्य छ । एक अर्ब छ । तीन अर्ब बजेट छ । चारदेखि पाँच अर्ब तेस्रो चौमासिकमा थप्ने  र अत्यधिक मात्रामा करिब नौ अर्ब जति मुआब्जा यस वर्ष वितरण गर्नेछौं।’

निकासा भएको रकम एक महिनामा आउने भन्दै अन्तिम समयमा सरकारको वजेट खर्च नभएको रकमलाई अघिल्लो वर्ष जस्तै पहिलो प्राथमिकता गौतमबुद्ध विमानस्थल मुआब्जामा राख्ने उनले बताए । विमानस्थल निर्माण सम्पन्न हुनुअघि सम्पूर्ण मुअब्जा वितरण गरी सक्ने उनले बताए।

अहिले ६ वटा ठूला विमानका पार्किङ बनाइसकेको र थप १० वटाको लागि बनाउने उनले जानकारी दिए । अहिले मेकानिकल, टर्मिनल लगायत सबै काम समानान्तर रुपमा अघि बढिरेहेको अधिकारीले बताए । यसको निर्माण सकिएलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग स्तरोन्निति गर्नुपर्ने भएकाले त्यो बेला यही धावनमार्ग प्रयोग गर्ने सरकारको योजना छ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका निमित्त प्रमुख इन्जिनियर प्रवेश अधिकारीले कालोपत्रेको काम तोकिएको समयैभन्दा अगाडि नै सम्पन्न हुने बताए । उनले भने, ‘अहिले एउटा असफाल्ट मेसिनबाट पिचिङको काम गर्दैछौं, अर्को एउटा ठूलो मेसिन जडान गर्दैछौं, आवश्यक सबै कच्चा पदार्थ र मेसिन तयार छ । एक महिनापछि दुइटै मेसिनबाट पिचिङ गरेर चार महिनाभित्र कालोपत्रेको सकिन्छ ।’ कालोपत्रेसँगै लाइटिङ र अन्य बाँकी काम समानान्तर रुपमा अगाडि बढ्ने उनले बताए।

उनका अनुसार अहिले मुख्य रनवेलाई हाल सञ्चालित रनवेमा जोडने काम भइरहेको छ । पछि यसलाई ट्याक्सी वेको रुपमा प्रयोग गरिने छ । हाल सञ्चालनमा रहेको रनवेलाई पूर्वतर्फ दुई सय मिटर र पश्चिमतर्फ त्यत्ति बढाएर स्तरोन्नति गरी १९ सय मिटरको बनाएर ट्याक्सी वे बनाइने उनले बताए।

इन्जिनियर अधिकारीले हालसम्म समग्रमा ५५ प्रतिशत भौतिक प्रगति भएको बताए । उनले विमानस्थलको अप्ठेरामध्येका काम सम्पन्न हुने अवस्थामा रहेका कारण सन् २०१९ को जुनसम्ममा विमानस्थल तयार हुने बताए । कठिन मानिएको ओभरहेड ट्यांक लगायतको काम पनि तीव्र गतिमा अघि बढेको छ । प्रशासनिक भवनको निर्माण कार्य पनि अघि बढेको छ।

सन् २०१७ को अन्त्यसम्म निर्माण सम्पन्न हुने गरी २०१५ मा विमानस्थल निर्माण सुरु भएको थियो । विमानस्थलको जिम्मा लिएको चिनियाँ ठेकेदार कम्पनी नर्थवेष्ट सिभिल एभिएसनले अहिले कामलाई तीव्रता दिएको छ । अहिले प्रशासकीय भवन, कन्ट्रोल टावर, धावनमार्ग, अन्तर्राष्ट्रिय टर्मिनल भवनको निर्माण अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ।

विमानस्थल सञ्चालनको लागि आवश्यक उपकरण जडान लगायत कार्यको ठेक्का प्रक्रिया (आइसिबी–२) पनि सुरु भएको छ । बिमानस्थल निर्माण कार्य र उपकरण जडान लगायत काम सँगसँगै गरिने हुँदा तोकिएको अवधिमै विमानास्थल सञ्चालन हुने सम्भावना बढेको छ।

यो आयोजना सन् २०१५ को जनवरीमा सुरु गरी सन् २०१७ डिसेम्बरमा सक्ने सर्तमा एसियाली विकास बैंकले लगानी गरेको थियो । कुल ६ अर्ब २२ करोड रुपैयाँ लागतको यस विमानस्थलमा एडिबीको ५४ करोड रुपैयाँ अनुदान छ । बाँकी चार अर्ब २० करोड रुपैयाँ ऋण सहयोग हो।

प्रकाशित: १४ कार्तिक २०७५ ०५:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App