१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

२९ लाखको बाँसको मुडा चीन निर्यात

रसुवा – चीनको विभिन्न सहरमा नेपालमा उत्पादन गरिएको बाँसको मुडाको माग बढ्दै गएको छ । गत वर्षको तुलनामा यो वर्ष बाँसको मुडा निर्यात बढेको छ । रसुवागढी नाका हुँदै आर्थिक वर्षको पहिलो तीन महिनामा २९ लाखभन्दा बढीको मुडा चीन निर्यात भएको प्लान्ट क्वारेन्टाइन चेक पोस्ट टिमुरेले जनाएको छ।

नेपालको विभिन्न कारागारमा उत्पादन गरिएका मुडा संकलन गरेर २९ लाख चार हजार आठ सय २५ रुपयाँ बराबरको चीन निर्यात गरिएको हो । गत साउनदेखि असोज मसान्तसम्ममा १० हजार पाँच सय ३६ वटा मुडा चीन निर्यात भएको छ।

ती मुडा चीनको ल्हासा, सिगात्से, न्यालम र धिङ्ग्री लैजाने गरिएको केरुङमा रहेका नेपाली व्यावसायी पुरुषोत्तम पौडेलले बताए । उनका अनुसार सुनसरी, काठमाडौं र धादिङको कारगारमा उत्पादित मुडा चीन लैजाने गरिएको छ।

‘अन्य कारागारबाट पनि मुडा संकलन हुने गरेको छ,’ पौडेलले भने, ‘तर यी तीन जिल्लाबाट बढी संकलन हुन्छ ।’ नेपालमा उत्पादित मुडा चीनमा निर्यात गर्ने व्यापारीमा मुकुन्द पौडेल, बुिद्धप्रसाद पौडेल र राजु प्याकुरेल छन् ।

आर्थिक वर्ष २०७३–०७४ मा एक करोड २० लाख १५ हजार रुपैयाँ बराबरको २१ हजार चार सय ५५ वटा र गत वर्ष ३१ लाख २० हजार मूल्य बराबरको १२ हजार आठ सय ८० वटा मुडा निर्यात भएको कार्यालयको तथ्यांक छ । यो नाकाबाट कृषि तथा वनजन्य सामग्री निर्यात हुन्छ।

कार्यालयका अनुसार आर्थिक वर्षको पहिलो तीन महिनामा आठ हजार १३ किलो काठको क्यारझुल, एक हजार दुई सय ९३ किलो ह्यान्डिक्रफ्ट, नौ सय २५ किलो काठका विविध सामग्री, ५० किलो बाँसको नाङ्लो, एक सय ४४ किलो बुद्ध चित्त माला र ५० किलो रुद्राक्ष निर्यात भएको छ।

यो नाका हुुँदै सामान निर्यात हुने क्रम बढेको प्लान्ट क्वारेन्टाइन अधिकृत राधेश्याम बराईले बताए । ‘यहाँबाट विशेष गरी कृषि तथा वनजन्य सामग्री निर्यात हुन्छ,’ उनले भने, ‘यसका लागि गुणस्तरीय सामग्री उत्पादन गर्नुपर्छ।’

प्रकाशित: १४ कार्तिक २०७५ ०५:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App