१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

समृद्धि ल्याउन युवा राजनीतिमा आउनुपर्छ : मिश्र

मकवानपुर– विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले सचेत र युवा पुस्ता दृढ संकल्पसाथ राजनीतिमा आए मात्र देशमा समृद्धि आउने बताएका छन्। तीन नम्बर प्रदेश राजधानी हेटौंडामा मंगलबार भएको ‘युवा, सपना र राजनीति’ विषयक अन्तरक्रियामा उनले हरेक पक्षसँग जोडिएको राजनीतिमा युवा पुस्ता होमिनुपर्ने बेला आएको बताए।

‘राजनीति भन्ने वित्तिकै युवाहरुको प्रतिक्रिया फोहोरी खेल भएकाले घृणा गर्छु भन्ने गर्छन्’, उनले दाबी गर्दै भने, ‘तर उपभोग्य सामग्रीको गुणस्तर, सडक, यातायातको साधन, घर, खानेकुरा सबैसँग राजनीति जोडिएको हुन्छ।’

राजनीतिलाई घृणा गरेसम्म तपाईको सपना कतार, मलेसिया, बेलायत, अमेरिकामा बुनिने तर्क गर्दै उनले सपना आफ्नै घरमा नबुनिएसम्म खुशी हुन नसकिने जिकिर गरे। देशकै राम्रो भनिएको स्कुल र कलेजको स्तर दक्षिण एसियाली स्तरमै प्रतिष्पर्धा गर्न नसक्ने अवस्था रहेको बताउँदै उनले गुणस्तरहीन शिक्षाकै कारण राम्रो जागिर पाउन कठिन भएको बताए। ‘ग्रयाजुएट गरेकाले १५ हजार तलबको जागिर पाउँदा घरमा भोज खानुपर्ने स्थिती छ,’ उनले भने।

विकसित र पद्धती स्थापित भएको देशमा मात्र पेशागत र सामाजिक रुपमा गरिने हस्तक्षेपले प्रभावकारी रुपमा काम गर्ने भएकाले नेपालमा राजनीतिक रुपमै हस्तक्षेप गर्नुपर्ने बेला आएको उनले जोड दिए। ‘बेलायतमा नागरिकले देश कसरी बनाउने भनेर सधैं चिन्ता गर्नुपर्दैन, आफ्ना काम ईमान्दारीपूर्वक गरे पुग्छ,’ उनले बेलायतको अनुभव सुनाउँदै भने, ‘त्यहाँ पद्धती स्थिापित भइसक्यो, देश आफैं बनिरहेको हुन्छ।’ तर नेपालजस्ता देशका नागरिकले आफ्ना पेशा र सामाजिक कार्यमा मात्र सिमित भएर नपुग्ने बताउँदै उनले सचेत र युवा पुस्ता राजनीतिमा आउनैपर्ने बताए।

‘जीवनको हरेक पक्षलाई प्रभावित पार्ने राजनीति ठिक नभएसम्म केही हजार मान्छेले परोकार काम गरेर मात्र देश रुपान्तरण नहुने रेछ,’ उनले थपे, ‘राजनीतिमार्फत् सिङ्गो देश रुपान्तरणसँगै युवाको सपना जोडिए मात्र सबैको समृद्धी हुने बताए।’ देश गरिब भएसम्म व्यापार, व्यबसाय जे गरेपनि जनताको आयस्तर न्यून हुने दाबी गर्दै उनले सिङ्गो देश बदल्न सबैले व्यक्तिगत स्वार्थ भन्दा माथि उठ्नुपर्नेमा जोड दिए।

‘राजनीतिलाई घृणा गरेर बस्दा तपाईले आफ्नो जीवनलाई दुःखी राखेर नेताको जीवनलाई चाँही सुखी बनाई दिनु भएको छ,’ उनले भने, ‘त्यसैले अब युवाहरुले घृणा गर्ने मानसिकता छोडेर राजनीतिलाई माया गर्दै संलग्न हुने र प्रवद्र्धन गर्नुपर्छ।’ अहिलेका युवा सचेत भएर राजनीतिमा लागेर देशमा परिवर्तन नल्याए भावी पुस्तासहित तीन पुस्ताको जिन्दगी पनि बर्बाद हुने उनले तर्क गरे। विदेश गएपनि बर्बाद हुने बताउँदै उनले घरको स्थिती ठिक नभएसम्म विदेशको डेरामा बसेर खुशी हुन नसकिने बताए। युवा कसरी राजनीतिमा संलग्न हुने भन्ने बारे धारणा राख्दै उनले भने, ‘तपाईहरुले पढ्नुपर्छ, देख्नुपर्छ, बुझ्नुपर्छ र आफ्नै खुट्टामा उभिने क्षमता विकास गर्नै पर्छ।’

पुराना दलले आन्दोलनमा टायर बाल्ने लगायतमा युवालाई उपयोग गरेको बताउँदै उनले त्यस्ता कार्यले युवासँगै देशकै भविष्य बिग्रेको बताए। माओवादी १० बर्षे द्वन्दले युवाको एक पुस्तालाई बर्वाद बनाएको आरोप लगाउँदै संयोजक मिश्रले बन्दुक बोकेर लड्न गएपनि उनीहरुसँग शिक्षा, स्वास्थ्य, पेशा र कतिपयसँग परिवार नभएको बताए। तर युवालाई राजनीतिमा आकर्षित गरेपनि आफ्नो खुट्टामा उभिने क्षमता नभएका युवालाई पूर्णकालिन राजनीतिमा नआई आंशिक रुपमा लाग्न उनले आग्रह गरे।

प्रकाशित: १३ कार्तिक २०७५ १६:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App