१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

उपचार खोज्दै द्वन्द्वपीडित राई

प्रहरी यातनाबाट भाँचिएको पैतालाको हड्डीको घाउ बल्झेपछि उपचार खोज्दै सदरमुकाम आएका पीडित राई । तस्बिरः महेश्वर/नागरिक

उयदपुर – तत्कालीन माओबादी जनयुद्धताका बेला प्रहरी कारबाहीमा परी सख्त घाइते भएका उदयपुरका द्वन्द्वपीडित युवा घाउ बल्झेर उपचारको खोजीमा सरकारी अड्डा धाउँदै हिँडेका छन्। जनयुद्धको क्रममा ०५६ साल दसैंताका प्रहरी नियन्त्रणमा परी १ महिना लामो कठोर यातना भोग्न बाध्य ४१ वर्षीय लिमचुङबुङ ४ बलम्ताका टिकावीर राई त्यसबेलाको घाउ बल्झेर सताउन थालेपछि उपचार र राहतको आसामा सदरमुकाम बरालिईरहेका छन्।

त्यसबेलाका द्वन्द्वपीडित धेरैजसोले राहत र क्षतिपूर्ति पाइसकेपनि राईले भने अहिलेसम्म राहत नपाएको गुनासो गरेका छन्। तत्कालीन बिद्रोही माओबादी शान्ति सम्झौतामा आएर पटक पटक सत्तामा पुगेर अहिले एमालेसँगको एकीकरण भइसक्दासम्म राई राहतबाटै बञ्चित मात्र भएका छैनन्, प्रहरीले दिएको यातनाको घाउ बल्झदा उपचार खर्चसमेतको अभावमाण् छन्।

त्यसबेला सेना प्रहरीकै दबाबमा बलम्ताबाट साविक भलायडाँडा गाविस ९, हाल उदयपुरगढी गाउँपालिका ७ मइन्टार सत्यवति बसाई सर्न बाध्य भएका राईलाई इलाका प्रहरी कार्यालय कटारीले ०५६ को दसैंताका नियन्त्रणमा लिएर कठोर यातना दिएको उनी बताउँछन्। कटारी बजार गएका बेला पक्राउ परेका उनलाई हिरासतमा ३ दिन राखेर यातना दिइएपछि जिल्ला प्रहरी कार्यालय सिराहा लगेर थप २ दिन त्यस्तै यातना दिइयो।

सिराहाबाट पुनः वडा प्रहरी कार्यालय लाहान अड्डासार गरेर २४ दिन त्यहाँ रातदिन अमानवीय यातना दिएपछि उनी सख्त घाइते हुन पुगेका थिए। मरणासन्न अवस्थामा पुग्दा पनि उनलाई दोषी नभेटेपछि १ महिनाको दैनिक तारेखमा छाडिएको थियो। पीडित राईका अनुसार त्यसबेलाको प्रहरी यातनाबाट राईको दाहिने खुट्टाको पैतालाको हड्डी भाँचिएको थियो। रातदिन प्रहरीले ओरालो मुन्टो पारेर पैतालामा फलामे डण्डीले हिर्काउने तथा बेलाबेलामा करेन्ट लगाएर सताउने गरेको उनी स्मरण गर्छन्।

पटक पटक रडले पैतालामा हिर्काउदा हड्डी भाँचिएको कुरा उनले तारेखमा छुटेपछि अस्पतालमा जँचाउँदा पत्तो लागेको बताए। ‘मलाई यति धेरै पिट्थे कि बोल्न नसक्ने गरी सिथिल हुन्थें’ राईले त्यसबेलाको यातना सम्झे ‘बोल्नै नसक्ने गरी बेहोस भएपछि बल्ल छाडिदिन्थे, अनि होसमा आएको थाहा पाउनेबित्तिकै फेरी आएर पिट्थे।’ लाहान प्रहरीका तत्कालीन निरीक्षक दिलिपकुमार चौधरी नेतृत्वको प्रहरीले पालैपालो कुट्ने गरेको र सुत्न र खान नदिएर अमानवीय यातना दिने गरेको स्मरण अहिले पनि उनको दिमागमा ताजै छ।

बिहानदेखि रातिसम्म प्रहरी नसुतिञ्जेल पालैपालो कुट्ने, करेन्ट लगाउने गर्दा पैतालाको हड्डी भाँचिनुका साथै शरिरभरी चोटैचोट लागेको उनी सम्झन्छन्। प्रहरी यातनाबाट भाँचिएको हड्डी उपचार गर्न त्यसबेला १ सय ३० वटा सुई दिनुपरेको उनी बताउँछन्। तारेखमा छुट्नेबित्तिकै उनलाई अभिभावकले मेडिकल लगेर जचाउँदा पैतालाको हड्डी भाँचिएको एक्सरे रिपोर्ट आएपछि डा. को सल्लाह अनुसार हड्डी जोड्ने सुई दिएको उनले बताए।

महिनादिनसम्म प्रहरी नियन्त्रणमा यातना भोगेर निस्कदासम्म उनको खर्च पनि धेरै भइसकेको थियो। प्रहरी, अदालत र वकिललाई त्यसबेलाको झण्डै १ लाख रुपैंया खर्च ऋण काढेर अभिभाकले दिएको बाबु विक्रमानसिंह राई बताउँछन्। छोरो उकास्न खर्च त भयोभयो, जीवनभरी घाइते हुनेगरी प्रहरी यातना पनि सहनु परेकोमा उनलाई धेरै चित्त दुखेको छ। माओबादी कार्यकर्ताहरू घरमा आएर खाना खाएको वहानामा प्रहरीले शंका लागी कारबाही गर्ने चेतावनी दिएपछि आत्मसमर्पण गर्न कटारी गएका बेला छोरालाई प्रहरीले पक्राउ गरी यातना दिएको उनको भनाई छ।

माईलो दाजु तुलसीकुमार राई जनयुद्ध सुरुताकादेखि नै पार्टीमा लागेर भूमिगत भएपछि राई परिवारलाई सेना प्रहरीले घरमै आएर दुःख दिने गरेको थियो। स्थानीय विद्यालयमा कक्षा ८ मा अध्ययनरत त्यतिबेला २० वर्षका टिकावीर पार्टी के हो भन्नेबारे अनजान थिए। पक्राउ परेर प्रहरी यातनाबाट घाइते भएपछि उनी पढाई छाडेर राजधानीतिर पलायन हुनुपर्दा पढ्न नपाएर भविष्य अन्धकार बनाएको दाजु थमानसिंह राई बताउँछन्।

उनी छुटेको १ वर्षपछि ०५८ मा दाजु तुलसी प्रहरी मुठभेडमा मारिएको खबर आएपनि अहिलेसम्म उनको लास पत्ता लागेको छैन। दाजु त मारिए वा बेपत्ता पारिए, तर आफू घाइते भएर बस्नुपर्दा उनलाई ननिको लागेको छ। घाइते अवस्थामा छाडिएपछि उनी फेरी पक्राउ पर्ने डरले भागेर राजधानी गए, उसैउसै खाडी मुलुक विदेसिए। राज्यले द्वन्द्वपीडितलाई राहत र क्षतिपूर्तिको नाममा अरवौं वितरण गरेको उनले सुने तर, आफू अहिलेसम्म पाएनन्।

१० वर्षे जनयुद्ध र त्यसपछिका बिभिन्न बिद्रोहका क्रममा भएको जनधनको क्षतिपूर्ति र पीडितलाइ राहत वितरण गर्ने शान्ति समिति यही भदौदेखि सरकारले बिघटन गरिसकेको छ। प्रमुख जिल्ला अधिकारी विष्णु कार्कीले शान्ति समिति बिघटन भइसकेकाले त्यस्ता पीडितलाई राहत कसरी दिलाउने भन्ने विषयमा स्पष्ट नियम नआइसकेको बताए। सरकारले कार्यदल बनाएर छुटेका पीडितलाई राहत दिलाउनेसम्मको कुरा सुनिएपनि आधिकारिक पत्र नआइसकेकाले यसबारे केही भन्न नसक्ने सिडिओ कार्कीले बताए। 

प्रकाशित: १३ कार्तिक २०७५ ०८:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App