१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

जियालाई थप सात वर्ष जेल सजाय

बंगलादेशी पूर्वप्रधानमन्त्री खालिदा जिया।

ढाका – बंगलादेशको एक अदालतले पूर्वप्रधानमन्त्री एवं प्रतिपक्षी दलकी नेतृ खालिदा जियामाथि भ्रष्टाचारको आरोपमा थप सात वर्षको जेल सजाय तोकेको छ।

खालिदा जियाका समर्थकले अदालतको उक्त आदेश राजनीतिक प्रेरित रहेको आरोप लगाएका छन् । अदालतको उक्त आदेश आएलगत्तै प्रहरी र मुख्य विपक्षी बंगालादेश नेस्नालिस्ट पार्टी (बिएनपी)का कार्यकर्ताबीच झडप भएको छ । ७३ वर्षीया जियाले कारागारभित्रैबाट बिएनपीको नेतृत्व गरिरहेकी छन्।

प्रधानमन्त्री शेख हसिनाकी राजनीतिक प्रतिद्वन्दी जियालाई गत फेब्रुअरीदेखि थुनामा राखिएको छ । यसअघि भ्रष्टाचारको आरोपमा जियामाथि पाँच वर्षको जेल सजाय तोकिएको थियो । न्यायाधीश मोहम्मद अख्तरुज्जमानले सो मुद्दामा दिएको आदेशमा जियाले शक्ति र परोपकारी कार्यका लागि छुट्याइएको तीन लाख ७५ हजार अमेरिकी डलरको दुरुपयोग गरेको उल्लेख छ । पछिल्लो आदेशका कारण हसिनामाथि जियाले चुनौती दिने सम्भावना घटेर गएको बताइएको छ । जियाको पार्टी बिएनपीले भने तत्काल कुनै प्रतिक्रिया दिएको छैन तर उनका वकीलले अदालतको आदेश राजनीतिक उद्देश्यबाट आएको बताएका छन्।

जियाको दलले सन् २०१४ को संसदीय निर्वाचन बहिस्कार गरेको थियो। जियामाथि लगाइएका हिंसा र भ्रष्टाचारसँग सम्बन्धित अन्य मुद्दा पनि अदालतमा विचाराधीन छन्। ढाकाको केन्द्रीय कारागारमा रहेकी जियाको स्वास्थ्य अवस्था केही महिनादेखि कमजोर रहेको छ। उनलाई जेलभित्रै उपचारको व्यवस्था मिलाएको बताइएको छ।

जियाको मुद्दाको सुनुवाई गर्न कारागारभित्रैको एक कोठालाई अस्थायी अदालतका रुपमा परिणत गरिएको छ । उनका वकीलले सरकारको यो कदम असंवैधानिक भन्दै यसको विरोध गरेका छन् । गत महिना पनि अदालतले हाल बेलायतको लन्डनमा निर्वासित जियाका छोरा तारिक रहमानलाई आजीवन कारावासको सजाय सुनाएको थियो।

प्रकाशित: १३ कार्तिक २०७५ ०३:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App