१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

मिस नेपाल खतिवडाद्वारा दुर्गम गाउँमा स्वास्थ्य शिविर

कैलाश गाउँपालिका ७, भार्ता डोकोटारस्थित सरस्वती प्राथमिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेपछि सामुहिक फोटो खिचाउँदै मिस नेपाल वल्र्ड २०१८ शृङ्खला खतिवडा। तस्बिरः अशोकसुजन/नागरिक

मकवानपुर - मिस नेपाल वल्र्ड २०१८ शृङ्खला खतिवडाले गृह जिल्ला मकवानपुरको विकट गाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेकी छिन्। कैलाश गाउँपालिकाको वडा नम्बर ७, ताम्लाङमा शुक्रबार उनी अध्यक्ष रहेको वान होम फाउन्डेसनमार्फत् स्वास्थ्य शिविर गरेकी हुन्।

दाँत, जनरल, स्त्री तथा प्रसुती विशेषज्ञ सेवा दिइएको शिविरमा २ सय ७० जनाले स्वास्थ्य परिक्षण गराएका थिए । शिविरमा भरतपुर आँखा अस्पतालकी डा. पुष्पा गिरी, चुरेहिल अस्पतालका डा. सुन्दर श्रेष्ठ, मकवानपुर सहकारी अस्पतालका डा. राघवेन्द्र ठाकुर लगायतको स्वास्थ्यकर्मीले सेवा दिएका थिए।

आफू आर्किटेक्ट इन्जिनियर भएकाले मिस वल्र्डको ब्युटी विथ पर्पस अर्थात् ‘उद्देश्यसहितको सौन्दर्य’का लागि थप महत्वपूर्ण सामाग्री तयार गर्न स्वास्थ्य शिविर आयोजना गरेको मिस नेपाल खतिवडाले बताइन् । उनका अनुसार चीनको सान्यामा डिसेम्वर ८ अर्थात् मंसिर २२ गते हुने मिस वल्र्ड प्रतियोगितामा स्वास्थ चौकी भवन निर्माण गरी त्यसबारे वृतचित्र र भक्तपुरको गाईजात्राको भिडियो प्रस्तुत गरिने छ।

‘पिछडिएका चेपाङ समुदायलाई स्वास्थ्य सेवा प्रदान गर्न थप सहयोग पुगोस् भनेर शिविर गरेकी हुँ’, उनले भनिन्, ‘ब्युटी विथ पर्पसका लागि स्वास्थ्य चौकीसँगै उपचार सेवा पनि महत्वपूर्ण हुन्छ।’

मिस नेपाल खतिवडाले रचनात्मक कार्य अन्तरगत विकट क्षेत्रका जनतालाई सेवा पु-याउने उद्देश्यले निर्माण अन्तिम चरणमा रहेको ६ कोठे स्वास्थ्य चौकी भवनमै शिविर आयोजना गरिएको हो । ४० लाख रुपैंया लागत खर्च लाग्ने अनुमान गरी स्वास्थ्य चौकी भवन निर्माण शुरु गरेपनि विकट क्षेत्र भएकाले निर्माण सामग्री ढुवानीमा धेरै खर्च लागेकाले खर्च बृद्धि हुने उनले बताइन्।

उनको स्वास्थ्य शिविरलाई भरतपुर आँखा अस्पताल, चुरेहिल अस्पताल, मकवानपुर सहकारी अस्पताल र लायन्स क्लब अफ हेटौंडा नारायणी मलले सहयोग गरेका थिए। यसैबिच, कैलाश गाउँपालिका ७, भार्ता डोकोटारस्थित सरस्वती प्राथमिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेकी छिन् । कपडा तथा तयारी पोशाक व्यवसायी संघ मकवानपुरको सहयोगमा वान होम फाउन्डेशनले ८७ जना विद्यार्थीलाई कपडा वितरण गरेको हो।

कार्यक्रममा मिस नेपाल खतिवडाकी बावु एवम् प्रतिनिधी सभा सांसद बिरोध खतिवडा, आमा एवम् प्रदेश सांसद मुनु सिग्देल, कैलाश गाउँपालिकाका अध्यक्ष टंक मुक्तान लगायतको सहभागिता रहेको थियो।

मिस वल्र्डको ब्युटी विथ पर्पस अर्थात् ‘उद्देश्यसहितको सौन्दर्य’का लागि चर्चित युट्युबर सिसन बानियाँको टोलीले कैलाश गाउँपालिका बसेर निर्माण गरिरहेको छ।

प्रकाशित: ११ कार्तिक २०७५ ०५:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App