१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सरायँ (वाख्वाई ह्वा) नाचेर दसैंलाई विदाई

पाल्पा- प्रदेश नं. ५ का पहाडी जिल्लाहरुमा सरायँ नाचेर दसैंको विदाई गरिएको छ। तरवार नचाएर एक आपसमा खुसी साटासाट गर्ने सरायँ नाच नाच्दै घटस्थापनामा राखेको जमरा सेलाएर दसैंलाई विदा गरिएको हो।

पहाडी जिल्ला पाल्पा, गुल्मी, अर्घाखाँची, प्यूठानका साथै स्याङजाको केही भागमा सरायँ नाच नाच्ने चलन छ। दसैंको अवसरमा युद्ध अभ्यास वा त्यसको अभिनय गरेर सराय नाच नाचिन्छ। सरायँ खुँडा, खुकुरी, भाला, तारवार, ढालजस्ता घरेलु हतियाररु प्रयोग गरेर नाचिने रमाइलो र डरलाग्दो खेल हो। पहाडी जिल्लाहरूमा सरायलाई महाउत्सवकै रूपमा लिने चलन छ। फरक–फरक स्थानहरूमा सत्तमीदेखि कोजाग्रत पूर्णिमासम्म सरायँ खेल्ने, नाच्ने गरिन्छ। अष्टमी, नवमी र दशमीको दिनमा तरबार ठोक्काउने, बली दिइएका पशुको टाउकोलाई वाख्वाई ह्वा गर्दै नचाउने, रमाइलो गर्दै सरायँ खेल्ने र नाच्ने चलन छ। कोटघर, देवीको मन्दिरमा राखिएका हतियारलाई प्रदर्शन गर्दै पञ्चेबाजाको तालमा नाच्दै, खेल्दै, रमाउँदै परिक्रमा गर्ने चलन छ।

अष्टमीको दिनमा बली दिने र देवी खुसी पार्न तरवार ठोक्काउने र नचाउने गर्दा हेर्नेले समेत रमाइलो मान्दै आनन्द मिल्ने लिपिन्देवी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर खाती बताउँ छन्। पहाडी जिल्लाका अग्ला ठाउँहरूमा रहेका कोट, देवीका मठ, मन्दिरहरूमा देवीको पूजाआजा र भजन–किर्तनसँगै सराय खेलिने खातीले बताए। खेलमा युवाहरू साथै अधवैसे लोग्ने मानिसले भाग लिएका हुन्छन्। पञ्चेबाजाको डुंग, डुंग कि डुंगको तालमा खुकुरी, खुडा, तरवार नचाउने र खेल प्रदर्शन गर्ने गरिन्छ। विभिन्न हतियार प्रयोग गरिने भएकोले यो डरलाग्दो साथै रमाइलो खेलको रूपमा समेत आफूले लिने गरेको पालुङ्गमैनादी गाविस डवकाका लिलाबहादुर कार्कीले बताए। यस भेगका कतिपय स्थानमा सरायँ नाच दसैंको भोलिपल्टदेखि सुरु हुन्छ। तरवार, खुँडा, भाला, ठोक्काएर नचायो भने देवी खुसी पार्न सकिन्छ भन्ने यस क्षेत्रमा जनविश्वास छ। विभिन्न रंगका बस्त्र पहिरेर, टीका, ध्वजा पतका लगाई दसैंको बिदाइको रूपमा सरायँ खेल्ने पुरानो चलन हो।

सरायका जानकार निर्मल श्रेष्ठ भन्छन्, सरायँलाई विजयपछिको हर्ष बढाईको खेलको रूपमा समेत लिईन्छ। उनी भन्छन्, ‘राक्षसमाथि विजय हासिल गरेपछि सत्यका पूजारीहरूले लडाईको सम्झना गर्दै लडाईमा प्रयोग भएका हतियारको प्रदर्शन र लडाईको छनक देखाएर हर्ष बढाई गरिएको हो। डाँडामा रहेका कोटघर र त्यहाँ पहिलादेखि राखिएका हतियार बाहिर निकालेर प्रदर्शन गर्दै ठोक्काउँदै वाख्खै वा गर्दै रमाइलो गरेर दसैंलाई बिदा गरिन्छ।’ धेरैवेरसम्म गोलोमा उभिएर तरबार नचाउदै वाख्वाई ह्वा भन्दै सरायँ खेलिन्छ। पहलमान पुरुषहरू हतियार खेलाउन थाल्दा सबैको आङ्ग सिरिंग हुन्छ। यी मध्ये पनि दुई दुई जनाको जोडी बनेर हतियार नचाउँदै वाख्वाई ह्वा भन्दै तरवारको खेल प्रदर्शन गरिन्छ। घटस्थापनादेखि पूजाआजा गरिएको देवीको मन्दिरको फूलपाती टीका, अक्षता, डोलामा राखेर सरायँ नाच्दै, खेल्दै नजिकैको पोखरीमा लगि सेलाइने चलन छ। यसरी सेलाएपछि यसवर्षको दसैंलाई समेत बिदा गरिने र एकवर्षका लागि पुनः हतियारलाई देवीको मन्दिरमा राखिन्छ। पाल्पाको मस्याम, वन्दीपोखरा, भारकोट, बतासे, बौघागुम्हा, ख्याहा, भुवनपोखरी, मुझुङ्गलगायतका स्थानमा सरायँ नाचिएको छ।

प्रकाशित: ७ कार्तिक २०७५ ०७:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App