१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

पर्दामा बाँचेका डाइनोसर

लसएन्जल्स – गत मे महिनामा जे ए बेयोना निर्देशित डाइनोसरको थिममा आधारित फिल्म ‘जुरासिक वल्र्डः द फलन किङडम’ रिलिज भएको थियो । सन् २०१५ मा फिल्म ‘जुरासिक वल्र्ड’ निर्देशन गरेका बेयोनाको ‘जुरासिक’ सिक्वेलले बक्स अफिसमा सफलताको स्वाद चाख्न सकेन।

फिल्म ‘जुरासिक वल्र्डः द फलन किङडम’को सुरुवात त्यही इस्ला नुबलर पार्कबाट हुन्छ जहाँ तीन वर्षअघि फिल्म ‘जुरासिक वल्र्ड’ सकिएको थियो । पार्कमा स्वतन्त्र रुपमा डाइनोसर घुमफिर गरिरहँदा त्यहाँको द्विपमा अचानक ज्वालामुखी विस्फोट भएपछि त्यसको लाभा द्विपको वरिपरि निस्कन्छ । ज्वालामुखीका कारण द्विपमा बस्ने डाइनोसर संकटमा पर्छन् । यो अवस्थामा डाइनोसरलाई त्यहाँबाट बाहिर लान सकिएन भने त्यसको प्रजाति लोप हुनसक्ने अवस्थालाई फिल्ममा देखाइएको छ।

फिल्ममा डाइनोसर देखाइए पनि वास्तविकतामा यो प्रजाति  पृथ्वीबाट लाखौं वर्ष अघि नै लोप भइसकेको छ । तर पनि समय–समयमा यसको कंकाल भेटिनाले यो प्रजातिप्रति आम मानिसको चासो बढ्दो छ । प्रत्यक्ष रुपमा डाइनोसर नदेखेका दर्शकलाई फिल्मको माध्यमबाट भए पनि डाइनोसरको आकार र उसको डरलाग्दो रुपलाई देखाइएको छ।

पृथ्वीबाट लोप भइसकेको डाइनोसर सन् १९९३ मा बनेको फिल्म ‘जुरासिक पार्क’बाट पुनः चर्चामा आएको थियो । हलिउड निर्देशक स्टिभन स्पिलबर्गले यो फिल्ममा देखाएको डाइनोसरले दर्शकलाई त्रसित मात्र बनाएनन्,  डाइनोसर बिर्सन लागेको पुस्तालाई पनि सम्झाइदियो । एनिमेसन र ग्राफिक्सको प्रयोग गरेर बनाइएको यो फिल्मले दर्शकलाई डाइनोसरको दुनियाँमा पुर्याएको थियो । फिल्म ‘जुरासिक पार्क’ पछि डाइनोसरकै कथामा ५ फिल्म बनिसकेका छन् । तर ती फिल्मले ‘जुरासिक पार्क’ जस्तो सफलता पाउन सकेनन् । अहिले पनि डाइनोसरको नाम लिँदा जोकोही दर्शक ‘जुरासिक पार्क’लाई नै सम्झन्छन्।

डाइनोसरले फिल्ममा सय वर्षदेखि दर्शकलाई मनोरञ्जन गराउँदै आएको छ । डाइनोसर लोप भए पनि फिल्ममेकरको मनमा यो सदा जीवित छ।

धेरैले ‘जुरासिक पार्क’लाई डाइनोसरमा आधारित फिल्म भनिए पनि वास्तविकतामा भने यो सत्य हैन ।  डाइनोसरको कथामा आधारित रहेर सन् १९२५ मा फिल्म ‘द लास्ट वल्र्ड’ बनेको थियो । सर आर्थर कोनन डायलको सन् १९१२ को उपन्यासमा आधारित रहेर यो फिल्म बनाइएको थियो तर फिल्म साउन्ड थिएन ।  फिल्ममा डाइनोसरको रुप देखाउन माटोको मूर्तिको सहयोग लिइएको थियो । यो समयमा फिल्ममा ग्राफिक्स र एनिमेसनको चलन आइसकेको थिएन । कला निर्देशकको कल्पनाका आधारमा डाइनोसर बनाइएको थियो । तर यो फिल्म पनि दर्शकले औधी रुचाएका थिए । यो फिल्म पछि सन् १९३३ मा रिलिज फिल्म ‘किङ कङ’मा पनि डाइनोसर देखाइएको थियो।

फिल्म ‘द लास्ट वल्र्ड’मा विशेष इफेक्ट दिने विल्स एच ओ ब्रायनले नै ‘किङ कङ’मा पनि डाइनोसरको मोडल बनाएका थिए । तर यो फिल्ममा माटोको नभई लेटेक्स र रबरको डाइनोसर बनाइएको थियो । फुटबलको भित्र रहेको रबरको ब्लाडरमार्फत कैयौं डाइनोसरलाई पर्दामा सास लिँदै गरेको देखाइएको थियो।

सन् १९५३ मा रिलिज फिल्म ‘द बिस्ट फ्रम २०,०००’ मार्फत डाइनोसरले पुनः फिल्मी दुनियाँमा आफूलाई अगाडि ल्यायो । यो फिल्म पनि सफल भएपछि डाइनोसरका कथामा आधारित फिल्म बनाउने लहर नै चल्यो । यो फिल्म रिलिजको एक वर्षपछि फिल्म ‘गोडजिला’मा रबर सुट लगाएका एक व्यक्तिलाई डाइनोसरका रुपमा पर्दामा देखाइएको थियो।

सन् १९५७ मा निकै कम बजेटको फिल्म ‘द लेन्ड अननोन’मा अन्टार्टिका महादेशमा गएका केही व्यक्तिले डाइनोसरको सामना गरेको देखाइएको थियो।

त्यस्तै, सन् १९५९ मा रिलिज फिल्म ‘जर्नी टु द सेन्टर अफ द अर्थ’मा केही डाइनोसर पुनः देखिएका थिए । यो फिल्ममा इगुआना नामको जीवलाई डाइनोसरको रुप  दिइएको थियो । सन् १९६६ को फिल्म ‘वन मिलियन इयर्स बिसी’ रे हैरिह्युसेनले स्टुडियो एनिमेसनको प्रयोग गरेर पर्दामा डाइनोसरलाई देखाए । फिल्म हेरेका दर्शकले डाइनोसरभन्दा पनि नायिका रैकेल वेल्चको तारिफ गरेका थिए।

सन् १९७५ को फिल्म ‘द ल्यान्ड द्याट टाइम फरगट’मा पहिलो विश्वयुद्धको समयमा दक्षिणी अटलान्टिक महासागरमा एक नयाँ महाद्विप बनेको देखाइएको थियो । जहाँ डाइनोसर बस्दथे । यसमा डाइनोसर सयौं मानिसका साथ भाग्दै गरेको देखाइएको थियो ।

सन् १९८८ मा स्टिवन स्पिलबर्ग र जर्ज लुकास मिलेर एनिमेटेड फिल्म ‘द लेन्ड बिफोर टाइम’ बनाए । यो फिल्ममा पनि डाइनोसर देखाइएको थियो । यो फिल्म हेरेका दर्शकहरु डाइनोसरको भावनासँग हाँस्ने र रुने गर्दथे । बक्स अफिसमा यो फिल्म सफल साबित भएको थियो।

सन् १९९५ को एनिमसशन फिल्म ‘टोय स्टोरी’मा रहेको कायर डायनोसर रेक्सलाई पनि दर्शकले निकै रुचाएका थिए । सन् २००६ मा रिलिज फिल्म ‘नाइट ऐट म्युजयिम’मा डायनोसरलाई दर्शकले पुनः देखे पनि यो डाइनोसरले दर्शकलाई भने डराउन सकेन।

डाइनोसरले फिल्ममा सय वर्षदेखि दर्शकलाई मनोरञ्जन गराउँदै आएको छ । डाइनोसर लोप भए पनि फिल्ममेकरको मनमा यो सदा जीवित छ । मनोरञ्जन गराउने उद्देश्यले पर्दामा आउने यी डाइनोसरले कहिले आफ्नो उद्देश्य पूरा गर्छन् तर कहिले गर्दैनन् । तर यसको रोमाञ्च सदा हामी माझ जीवित छ।

प्रकाशित: ६ कार्तिक २०७५ ०४:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App