१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

लगानीका लागि ऊर्जामन्त्रीको बेइजिङमा पहल

काठमाडौं – स्वदेशी लगानीले मात्र जलविद्युत् आयोजना निर्माण गर्न नसकिने भएपछि वैदेशिक लगानी आकर्षित गर्न पहल सुरु गरिएको छ । गत साता मात्र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन बेइजिङ पुगेर नेपालमा लगानीको उपयुक्त वातावरण बनेकाले जलविद्युत्मा लगानी गर्न चिनियाँ व्यवसायीलाई आग्रह गरे।

राजनीतिक स्थायित्व, स्पष्ट ऊर्जा नीति तथा सुरक्षाको व्यवस्था भएकाले निधक्कसँग लगानी गर्न चिनियाँ व्यवसायीलाई मन्त्री पुनले अनुरोध गरे । नेपाली राजदूतावासले चीनको बेइजिङमा आयोजना गरेको ‘नेपालको जलविद्युत् क्षेत्रमा लगानीको अवसर’ विषयक कार्यक्रममा आफ्नो भनाइ राख्दै मन्त्री पुनले बाह्य लगानीको सुरक्षा नेपाल सरकारले गर्ने आश्वासन दिँदै लगानीका लागि कुनै शंका नगर्न अनुरोधसमेत गरे ।

उनले नेपालको जलविद्युत् क्षेत्रमा बाह्य लगानी भिœयाउन आतुर रहेको प्रष्ट पारे । मन्त्री पुनले नेपालको जलविद्युत् क्षेत्रमा ढुक्क भएर लगानी गर्न चिनियाँ कम्पनीलाई आग्रह गरे । ऊर्जा विकासमा सहकार्य गर्ने लक्ष्यले नेपाल र चीनबीच ऐतिहासिक समझदारी (एमओयू) भएको सन्दर्भ जोड्दै मन्त्री पुनले भने, ‘समझदारी नेपालको ऊर्जा विकासमा सहकार्य गर्ने उपयुक्त अवसर हो।’

नेपाल र चीनका प्राविधिक समितिको पहिलो बैठक काठमाडौंमा बसेको र यसले सहकार्यको वातावरणलाई निकै सहज बनाएको पनि उनले प्रष्ट पारे । मन्त्री पुनले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणले नेपालको ऊर्जा विकासको ढोका खोलेको बताए । उनले सरकार बाह्य लगानीकर्तालाई स्वागत गर्न आतुर रहेको पनि जानकारी दिए।

कार्यक्रममा मन्त्री पुनले नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्न कुनै किसिमको बाधा अड्चन नरहेको भन्दै आपसी समझदारीमा काम गर्न सकिने बताए । ‘नेपालमा चिनियाँ लगानीको ५० मेगावाट क्षमताको माथिल्लो मर्स्याङ्दी–ए, तोकिएकै समयमा सम्पन्न भएको छ । यसले नेपालको जलविद्युत् विकासमा सहयोग पुर्याएको छ,’ उनले भने, ‘आगामी दिनमा पनि सहयोग गर्न तयार छौं ।’ मन्त्री पुनले यसअघि भएको संयुक्त बैठकले नेपालको जलविद्युत्मा लगानी गर्न चाहने चिनियाँ व्यवसायीका लागि उचित मोडल र दृष्टिकोण पहिचान गर्ने आधारसमेत बनेको बताए।

मन्त्री पुनले अनुमतिपत्र लिएर, प्रतिस्पर्धामा वा सरकारसँग सम्झौता जुनसुकै पद्धतिबाट पनि जलविद्युत् आयोजना निर्माण गर्न सक्ने बताउँदै वैदेशिक लगानी भित्र्याउन नेपालले त्यही अनुकूलको वातावरण र नीति तयार गरेको पनि बताए । ‘मुलुकभित्र जलविद्युत् उत्पादनको प्रचुर सम्भावना छ,’ उनले भने, ‘तर अहिलेसम्म हामीले एक हजार मेगावाटमात्र उत्पादन गरेका छौं।’

आगामी तीन वर्षमा तीन हजार, पाँच वर्षमा १० हजार र १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्य सरकारले लिएको जानकारी समेत मन्त्री पुनले गराए । ‘यो अवधिमा हामीले पाँच हजार मेगावाट विद्युत् निर्यात गर्ने योजना बनाएका छौं,’ उनले भने।

कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, ऊर्जा मन्त्रालयका सह–सचिव दिनेशकुमार घिमिरे, राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद ज्ञवाली, जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत छविराज पोखरेलले नेपालको जलविद्युत् क्षेत्रमा भएका प्रगति र आगामी दिनमा चालिने कदमबारे कार्यपत्र प्रस्तुत गरेका थिए।

सो अवसरमा ऊर्जा सचिव अनुपकुमार उपाध्याय, गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष भवन भट्ट, नेपाल उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष तथा ऊर्जा प्रवद्र्धक ज्ञानेन्द्रलाल प्रधान, स्वतन्त्र ऊर्जा उत्पादकहरु गोरे शेर्पा, पदम ज्योति लगायतको टोली बेइजिङ पुगेको थियो । उनीहरुले नेपालमा ढुक्क भएर लगानी गर्न चिनियाँ कम्पनीलाई अनुरोध गरेका थिए । कार्यक्रममा चिनियाँ लगानीकर्ताले पनि नेपालको ऊर्जा नीति तथा लगानी सुरक्षाका बारेमा चासो देखाएका थिए।

ऊर्जा मन्त्री पुन र चिनियाँ उपमन्त्री लियाङ विलियाङबीच भेटवार्ता

ऊर्जा,जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र चिनियाँ उपमन्त्री लियाङ विलियाङबीच भेटवार्ता भएको छ । चीनले अघि सारेको ‘वान वेल्ट वान रोड’को ऊर्जा मन्त्रीस्तरीय बैठकमा भाग लिन चीनको सुजोओ पुगेका मन्त्री पुनसँग गत शुक्रबार उपमन्त्री लियाङले भेटवार्ता भएको हो।

लियाङ चीनको विकास र सुधार हेर्ने विभागका उपमन्त्री हुन् । उनी त्यसका साथै चीनको वित्तीय क्षेत्रको समन्वय गर्ने विभागका प्रमुख समेत हुन् । भेटवार्तामा आपसी हित र ऊर्जाका क्षेत्रमा दुई देशबीचमा गर्न सकिने सहकार्यबारे समेत छलफल भएको थियो।

द्विपक्षीय भेटवार्तामा मन्त्री पुनले नेपाल र चीनबीच निकै पुरानो सम्बन्ध रहेको चर्चा गर्दै आगामी दिनमा समेत दुवै देशको सम्बन्ध मजबुत बन्ने धारणा राखेका थिए । नेपालमा लामो समयपछि दुई तिहाईको सरकार बनेको भन्दै उनले त्यसमा चीनको सहयोग र सद्भावको खाँचो रहेको बताए।

मन्त्री पुनले चिनियाँ उपमन्त्रीसँग प्रधानमन्त्री केपी शर्मा ओलीको गत जुनमा भएको भ्रमणको बेला इनर्जी कोअपरेसनमा भएको सम्झौता ऐतिहासिक भएको भन्दै आगामी दिनमा त्यसमार्फत सहकार्य गर्न सजिलो हुने धारणा राखेका थिए।

उनले गत महिना बंगलादेशसँग समेत इनर्जी कोअपरेसनमा सम्झौता भइसकेको भन्दै त्यसले क्षेत्रीय बजार विस्तारमा सहयोग पुग्ने दाबी गरे । उनले बंगलादेशले नेपालमा उत्पादन भएको विजुली खरिद गर्न इच्छा व्यक्त गरेको जानकारी समेत दिए।

मन्त्री पुनले गत सेप्टेम्बरमा नेपाल र चीनबीच बनेको ऊर्जा संयन्त्रको पहिलो बैठक बसिसकेको जानकारी दिँदै दोस्रो बैठकको मितिसमेत छिट्टै तय गर्न आग्रह गरे । संयन्त्रको पहिलो बैठक आफैंमा ऐतिहासिक बनेको भन्दै त्यसमार्फत दुवै देशले ऊर्जा क्षेत्रमा सहकार्य गर्न सजिलो हुने मन्त्री पुनको धारणा थियो। 

बैठकमा मन्त्री पुनले नेपाल चीनबीच अघि बढेको अन्र्तरदेशीय प्रसारण लाइन र जलविद्युत् परियोजनाहरुबारे छलफल भएको बताए । मन्त्री पुनले चार सय केभीको काठमाडौं केरुङ अन्तर्देशीय प्रसारण लाइन, कोशी करिडोर, कर्णाली करिडोर र भेरी करिडोर, किमाथांका, फुक्कोट कर्णाली र तमोर जलविद्युत् परियोजना नेपालको प्राथमिकतामा रहेको भन्दै उनले त्यसमा चीन सरकारको सहयोग आवश्यक रहेको धारणा राखेका थिए । उक्त परियोजना सरकारले चीनसमक्ष यसअघि नै प्रस्ताव गरिसकेको छ।

छलफलमा सफ्ट लोन, कमर्सियल लोन र विआरआई फन्डमार्फत गर्न सकिने लगानीका सम्भावनाबारे समेत छलफल भएको थियो । मन्त्री पुनले नेपालमा चिनियाँ लगानी दिन प्रतिदिन बढिरहेको जानकारी दिँदै आगामी दिनमा समेत लगानीको वातावरण बनाइदिन आग्रह गरे।

भेटमा चिनियाँ मन्त्री लियाङले नेपालसँग भएको इनर्जी कोअपरेसनको समझदारी कार्यान्वयन गर्ने चरणमा रहेको जानकारी दिए । मन्त्री लियाङले भेटमा नेपाल चीनबीच बनेको ऊर्जा संयन्त्रको पहिलो बैठक ऐतिहासिक भएको भन्दै त्यसका लागि पहल गरेकामा ऊर्जामन्त्री पुनलाई धन्यवाद व्यक्त गरेका थिए।

‘हामीलाई चीनमा थप ऊर्जासमेत आवश्यक छ, नेपालमा हाम्रा कम्पनीहरुले व्यावसायिक रुपमा लगानी गरिरहेका छन्, आगामी दिनमा थप चिनियाँ कम्पनीहरुले नेपालमा लगानी गर्ने छन्,’ उपमन्त्री लियाङले भने । उनले नेपालमा चिनियाँ कम्पनीहरुले ऊर्जा क्षेत्रमा लगानी गरिरहेको भन्दै आगामी दिनमा समेत लगानी थप विस्तार हुने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित: ६ कार्तिक २०७५ ०३:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App