१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

चाडको चटक

काठमाडाैं- नेकपाका नेता पुष्पकमल दाहालले सशस्त्र द्वन्द्वको अवधिमा मात्रै हैन, २०६३ सालमा  शान्तिपूर्ण राजनीतिमा आएपछि पनि दसैंमा टीका बहिष्कार गरिरहे । उनको यो क्रम २०७३ मा दोस्रो पटक प्रधानमन्त्री हुँदासमेत कायम रह्यो । दशमीको दिन इच्छुक आम नागरिकलाई टीका लगाइदिने प्रचलनसमेत उनले तोडे ।

उल्लासको यो चाडलाई उनले धेरै समय बहिष्कार गरिरहन सकेनन् । उनको मन पग्लियो । २०७४ सालमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको पद सुम्पिएपछि दसैँमा दाहालको निधार रातो टीकाले रंगियो । कानमा पहेँलो जमरा ढल्कियो । 

२२ वर्षपछि मामा–ससुराको हातबाट उनले दसैंको टीका लगाए । लाजिम्पाटस्थित निवासमा उनले टीका र जमरा लगाएपछि पालैपालो श्रीमती सीता दाहाल, छोरा प्रकाश, बुहारी, छोरी, ज्वाईं, नाति–नातिनालाई लाइन लगाएर टीका लगाइदिए, आशीर्वाद दिए ।

दसैं, तिहारजस्ता पर्व मान्न आवश्यक छैन भन्ने पार्टीका सुप्रिम कमान्डर दाहालले दसैंमा टीका लगाएको तस्बिर बाहिरिएपछि पार्टीभित्र खैलाबैला भयो । उनको यो यात्रा यत्तिमै रोकिएन । तिहारमा परिवारका सदस्यसँगै बसेर दाहालले तास खेलेको तस्बिरसमेत बाहिरियो ।

दाहालका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार यो वर्ष दाहाल परिवारले टीका लगाउने विषयमा अहिलेसम्म कुनै योजना बनाएको छैन । छोरा प्रकाश दाहालको निधन भएको एक वर्ष नपुगेकाले यो साल दाहाल परिवारको निधार रित्तै हुनसक्छ ।

चाडबाडबारे दाहालमा एकाएक आएको परिर्वतनको कारण के होला ? सापकोटा द्वन्द्वताका आन्दोलनका कारण वातावरण नमिलेर दाहालले दसैंको टीका नलगाएको दाबी गरे । शान्ति प्रक्रियामा सहभागी भएर प्रधानमन्त्री हुँदासमेत किन टीका नलगाएको त ? यसबारे भने सापकोटासँग उत्तर छैन ।

मूलतः कम्युनिस्ट नेताहरुले धर्मलाई अफिमको रुपमा व्याख्या गर्ने गरेका छन् । माक्र्सले धर्मबारे गरेको यही परिभाषाबाट प्रभावित भएका नेताहरुले धार्मिक पर्व, परम्परा र चाडबाडलाई अस्वीकार गर्ने गरे पनि लामो समयसम्म टिक्न भने सकेका छैनन् । प्रारम्भमा एमालेका नेताहरु यो पंक्तिमा पर्थे । पछि खरो कम्युनिस्टको रुपमा उदाएका तत्कालीन माओवादीका नेताहरु दाहाल, बाबुराम भट्टराई लगायतले चाडको समयमा यो चटक जारी राखे । किरिया बसेकालाई कपडा खोल्न लगाएरसमेत लखेटे । संस्कृत पाठशालामा आगो झोसे । 

समय फेरियो, नेताहरु पनि फेरिए । एमाले नेताहरु त २०५० सालपछि नै चाडपर्वमैत्री भइसकेका थिए । शान्तिपूर्ण राजनीतिमा आएपछि तत्कालीन माओवादीका नेताहरुले पनि मन थाम्न सकेनन् । अहिले दसैंमा दाहाल, भट्टराई सबैको निधार रातो टीकाले भरिने गरेको छ ।

हिजो टीका बहिष्कार गर्ने तर अहिले लगाउनुको कारणबारे नेताहरु मौन रहने गरेकोमा आहुति आक्रोशित देखिए । सांस्कृतिक पर्वका बारेमा वैज्ञानिक दृष्टिकोण नबनाई नेताले जुनबेला जे ठीक लाग्यो, त्यही गरेको बाम विश्लेषक आहुति बताउँछन् । 

‘हिजो दसैं बहिष्कार गर्न लगाउने नेता अहिले आएर खुरुखुरु दसैं मनाउनु अनैतिक हो,’ उनले भने, ‘हिजो यो कारणले दसैँ नमनाएको आज यो कारणले मनाउन थालिएको हो भन्ने चित्तबुझ्दो जवाफ चाहिन्छ ।’ 

विश्लेषक हरि रोका कम्युनिस्ट नेताले पहिले दसैँ नमान्नुका दुईवटा कारण भएको बताउँछन् । पहिलो, दसैँलाई राजनीतिविरुद्धको दमनको रुपमा लिइनु र दोस्रो दलितमाथिको दमनको रुपमा लिइनु ।

तर अहिले कम्युनिस्ट नेताले पनि दसैँ मान्दै जानुलाई उनी सकारात्मक रुपमा लिन्छन् । ‘केही मानिसले खानै नपाउने तर कसैले धुमधामका साथ दसैँ मान्ने भएकाले वर्ग विशेषका कारणले पनि कम्युनिस्ट नेताले दसैँको टीका नलाएका हुन्,’ रोका भन्छन्, ‘माक्र्सले धर्मलाई अफिमजस्तो बनाउनु हुन्न भनेको हो तर नमान्नु् भनेको हैन ।’ बुझाइको फरकले कम्युनिस्ट नेता कठोर भएको र मेरै गोरुको बाह्रै टक्का गर्न नहुने उनको मत छ ।

प्राध्यापक कृष्ण पोखरेलको मतअनुसार कार्ल माक्र्सले धर्मले गरिबलाई भुल्याउने कुरा व्यक्त गरेका हुन् । धर्ममा लठ्ठिएर गरिबले क्रान्तिको बाटो भुल्ने र गरिबीको पीडामा पर्ने माक्र्सको विचार रहेको तर चाडपर्व नमनाउनु नभनेको पोखरेल बताउँछन् । 

‘अपव्याख्या भएकाले बुझाइमा फरक परेको हो,’ उनी भन्छन्, ‘आफूलाई बढी क्रान्तिकारी देखाउन कम्युनिस्ट नेताले दसैँको टीका लगाउन छाडे तर अहिले टीका लगाउन थाले । त्यसको मूल कारण जनमतमा जानुपर्ने र चाडपर्व वहिष्कार गर्दा नकारात्मक प्रभाव पर्ने भएकाले हो ।’

नेकपाका नेता नारायणकाजी श्रेष्ठ दसैं मनाउनुपर्ने पक्षमा छन् । कम्युनिस्ट नेताले दसैंमा टीका नलगाउनु अतिवादको एउटा रुपमा उनले विश्लेषण गरे ।

दसैँको धार्मिक पक्षको व्याख्याप्रति कम्युनिस्टहरु सहमत नभए पनि यो एउटा सांस्कृतिक पर्व रहेको र यसको सामाजिक उपयोगिता र मूल्य रहेको उनले बताए । 

‘दसैँलाई निषेध गर्ने कुरा हिजो पनि ठीक थिएन, आज पनि ठीक छैन,’ उनले भने, ‘निषेध गर्ने कुरा हुनै सक्दैन ।’ 
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा चाडपर्वबारे कम्युनिस्ट नेताहरुमा रहेको ढोंगतिर संकेत गर्दै भन्छन्, ‘माओवादको घण्टी बजाउने र घरअगाडि तुलसी राख्ने पनि चलन छ तर अब यसलाई सकारात्मक रुपमै लिनुपर्छ ।’

यो त भयो राजनीतिक चटक । सांस्कृतिक चटक पनि बेलाबखत सुरु हुन्छ पर्वको आडमा ।

संस्कृतिमाथि प्रहार गर्न दसैं कसको हो, कसको हैन भन्ने विवादसमेत बेलाबखतमा चर्किन्छ । मुख्यतः एक समय दसैं हाम्रो पर्व हैन भनेर जनजातिलाई बहिष्कार गराउने अभियानसमेत सुरु भएको थियो । दसैंमा रातो टीका लगाउने कि सेतो भन्ने बहस पनि चर्केको थियो ।

संस्कृतिविद् डा. जगमान गुरुङ जनजातिमा हाम्रा पूर्खा मैषासुर हुन्, पूर्खालाई पराजित गरेर दसैँ मानिएको भन्ने बुझाइका कारणले कुनै समय दसैँ र दसैँको टीका बहिष्कार गरेको बताउँछन् ।

‘नेपाली संस्कृतिमा मतवाली र तागाधारीबीच आ–आफ्नो पहिचान भए पनि मिलेर बसेको समाज हो, यसमा दुवैको आन्द्रा जोडिएको छ,’ उनले भने, ‘दसैँ जनजातिको पर्व हैन भन्ने क्रिस्चियनले प्रचार गरेका हुन् । यो हिन्दू धर्मलाई विनाश गर्न गलत प्रचार गरिएको हो ।’ 

डा. गुरुङका अनुसार नेपालमा हिन्दू, बौद्ध, आदिबासी, जनजाति लगायतको बीचमा भेद छैन । एक अर्काको आन्द्रा गाँसिएको छ । 

हिन्दू, जनजाति, आदिवासी लगायतका बीचमा भेद गराइदिएपछि हिन्दू धर्म पतन हुनुका साथै आदिवासी जनजातिको पनि संस्कृति पतन हुन्छ भन्ने उद्देश्यले गलत प्रचार गरिएको उनको मत छ ।

गुरुङका अनुसार सुरुमा सबै जनजाति तथा क्षेत्री, ब्राह्मणले सेतै टीका लाउने चलन थियो । पछिल्लो समय रातो रङ पाइन थालेपछि मात्रै रातो टीका लगाउने चलन बसेको हो ।

‘नेवारहरु व्यापारी भएकाले सबैभन्दा पहिले नेवारले दसैँमा रातो टीका लाउन थालेका हुन्,’ उनले भने, ‘चरेशको थालमा, ढुङ्गामा अक्षताले पूजा गरेर बोकालाई भोग दिइयो र त्यही बोकाको रगत चामलमा हालेर टीका लाउन थालियो । नेपालका आदिबासीले रगतको टीका लाउन थालेका हुन् ।’

नेकपाका नेता सुवास नेम्वाङ आफूले निरन्तर दसैं मान्ने गरेको र दसैंमा रातो टीका नै लगाउने गरेको बताउँछन् । ‘मेरा लिम्बु आमाबाबुले मलाई नेपालमा नेपालीको रुपमा जन्माए,’ उनले भने, ‘नेपाल र नेपाली बलियो हुँदा मेरो समुदाय बलियो हुन्छ । लिम्बु समुदाय बलियो हुँदा नेपाल र नेपाली बलियो हुन्छ । जनजातिले पराजित भएकाले सेतो टीका र जित्नेले रातो टीका लाएको भन्ने गर्नु हुन्न ।’ 

अतिवाद ठीक हैन : नारायणकाजी श्रेष्ठ

दसैंको ठूलो सामाजिक उपयोगिता छ । यसमा विकृतिका कुरा पनि होलान् तर मुख्य कुरा त्यो हैन । आफ्नो परिवारका दाजुभाइ, आमाबुबाबीच  भेट हुने एकता पैदा गर्ने पर्व हो । एकता तथा सद्भाव विकास गर्ने पर्व भएकाले दसैँलाई सकारात्मक रुपमा लिनुपर्छ ।

दसैँको धार्मिक पक्षको व्याख्याप्रति कम्युनिस्टहरु सहमत हुन सकिँदैन तर दसैँ सांस्कृतिक पर्व हो । दसैँलाई निषेध गर्ने कुरा हिजो पनि ठीक थिएन आज पनि ठीक छैन । दसैँको धार्मिक पक्षका बारेमा कम्युनिस्टहरु अहिले पनि सहमति  हुनुपर्छ भन्ने भएन । धार्मिक रुपमा स्वीकार गरेर दसैँ मान्नेप्रति पनि सम्मान गर्नुपर्छ ।

रातो वा सेतो टीका लाउने चलनलाई राजनीतिक कारण हो भन्ने लाग्दैन । म दसैँको टीका लाउँछु । हिजो पनि लाएँ । आज पनि लाउँछु । रातो टीका लाउँछु ।

कष्टकर समयमा दसैँकै टीका थाप्न भनेर काम छोडेर आइन्नथ्यो । अनुकूल मिल्दा मान्यजनबाट टीका लाउन छोडिनँ । 

प्रकाशित: २ कार्तिक २०७५ ०१:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App