१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

विद्रोही उपमेयर

‘नचिनेको मान्छे देखेपनि मुसुक्क मुस्कुराउने, पाहुनालाई असाध्यै मान्ने अनि सबै जातजाति मिलेर बस्न सक्ने हामी नेपालको बानी मलाई असाध्यै मन पर्छ ।’ देशका ७७ जिल्लामध्ये करिब ६२ जिल्ला घुमिसकेकी काठमाडौँ महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीको भनाइ हो यो। 

भक्तपुरमा जन्मिए पनि सांस्कृतिक विविधतायुक्त नेपाली समाज उनले  सानैमा बुझ्न पाइन् । उनका बुबा हरिशचन्द्र दास श्रेष्ठ र आमा लक्ष्मीप्रभा श्रेष्ठ दुवै मेडिकल लाइनमा सरकारी जागिरे थिए । २०२४ सालमा पहिलो सन्तानको रुपमा जन्मिएकी हरिप्रभा बा–आमाको जताजता सरुवा हुन्थ्यो, उनी पनि उतैउतै डुलेर हुर्किइन् । १३ वर्षको उमेर पुग्न नपाउँदै उनले हिमाली जिल्ला रसुवा, पहाडी जिल्ला सिन्धुपाल्चोक, नुवाकोट, डडेल्धुरा, नवलपरासी अनि तराईको जिल्ला बारासम्म पुगिन् र त्यतैको विद्यालयमा पढिन्।

‘सानैमा मैले विविधतायुक्त समाज बुझ्न पाएँ,’ हरिप्रभा भन्छिन्, ‘हिमाल, पहाड र तराईको फरक–फरक संस्कृति, जात, भाषाभाषीका मान्छेसँग घुलमिल हुने अवसर पाएँ । त्यतिबेला केही जस्तो नलागे पनि अहिले  सम्झेर  ल्याउँदा सानैमा नेपाल बुझ्ने अवसर पाएको रहिछुजस्तो लाग्छ।’  

भक्तपुरमा जन्मिए पनि चाडबाडमा बाहेक उनको परिवार भेला हुँदैनथ्यो । कक्षा ८ पढ्न थालेपछि भने उनी भक्तपुर बस्न थालिन् । त्यसपछि बल्ल उनले भक्तपुरको नेवारी संस्कार पूरापूर भोग्न–देख्न पाइन् । उनको परिवार जागिरदार थियो । पढ्ने अनि जागिर खाने एउटा परम्परा थियो । उनी आफ्नो जीवन अन्यको तुलनामा अलि हाइफाइ तरिकाले नै हुर्किएको महसुस हुन्छ । बाहिरियासँग घुलमिल हुन नदिने उनका बुबा कडिकडाउ गर्ने गर्थे ।

दुई भाइ र दुइ बहिनीकी दिदी रहेकी उनी घरमा कडा अनुशासनमा हुर्किइन् । छोरी मान्छेलाई त्यो बेला अलि कडा नै थियो अनुशासनको मामिलामा । उनले त्यही भोगिन् । ‘बेकाममा बाहिर जान नदिने, घरैमा बस्नुपर्ने आमाबुबाले भनेको मात्रै मान्नुपर्ने अवस्था थियो,’ उनले भनिन्, ‘छोरीमान्छे भएर दौडने ? उभियो भने छोरी मान्छे भएर उभिने ? ठूलो स्वरले बोल्यो भने छोरी मान्छे भएर ठूलो स्वरले बोल्ने ? भनेर खप्की खाइन्थ्यो । मैले त यसैलाई संस्कार भनेर बुझेकी थिएँ ।’पछि यस्तो कुरा संस्कार होइन, कुसंस्कार रहेछ भन्ने थाहा पाएपछि विद्रोहको भाव जन्मिएको उनको ठहर छ।

संस्कृतिले नै भरिएको नेपाल
आफ्नो संस्कृति सबैलाई प्रिय लाग्छ । संस्कृतिले नै देशको अस्तित्व बचाउँछ भन्ने उनलाई लाग्छ । उनी भन्छिन्, ‘जहाँ जान्छु, फरक संस्कृति र चाडपर्व मनाउने फरक शैली पाउँछु तर सबैको मिलनसार बानी भने उस्तै लोभलाग्दो देख्छु । मलाई यो देख्दा सानैमा पनि रमाइलो लाग्थ्यो । अहिले त यसको महङ्खव झन् बढी देख्छु।’

आफू सानोछँदा विभिन्न जिल्लामा पुग्दा चाडपर्वको चहलपहल पहाडमा भन्दा तराईमा बढी देख्थिन् । उनले भनिन्, ‘तराईमा हाट बजार लाग्ने, कपडा किन्न पनि सहज हुने, खानेकुरा पनि धेरै थरिका पाइन्थे । हामी केटाकेटीलाई त्यस्तो भएपछि के नै चाहियो र ?’

तराईमा धेरै चहल पहल हुन्थ्यो भने पहाडमा खासै हुँदैनथ्यो । त्यसकारण पनि होला उनलाई तराईमा चाडबाड मनाउँदा खुबै रमाइलो हुन्थ्यो।

सानैदेखि हेपाईविरुद्ध उभिएकी काठमाडौँ महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी मेयर विद्यासुन्दर शाक्यसँग पनि आफ्नो अधिकारका लागि लडिरहेकी छन् । उनको भनाइ छ, ‘महिलाको संघर्ष अहिले गणतन्त्र आए पनि अझै सकिएको छैन । महिलालाई मान गर्ने र क्षमताअनुसार काम गर्न दिनुपर्ने चेत अझै खुलेको छैन।’

जता गएपनि अपनत्व हुने
ठाउँअनुसार संस्कृति फरक भएको नेपालको परिवेश भए पनि एकले अर्कालाई गर्ने अपनत्व भाव भने एकै रहेको उनी बताउँछिन् । उनी जहाँ गइन्, त्यहीँका स्थानीय बासिन्दाले उनलाई गरेको माया, प्रेम, सद्भाव र आदर  देख्दा उनी त्यतैको वातावरणमा रत्तिएको बताउँछिन्।

‘यहाँको भन्दा उताको पर्व फरक भए पनि मलाई कहिल्यै पनि फरक ठाउँमा गएको महसुस भएन,’ उनले भनिन्, ‘बाहिर छँदा मैले कहिल्यै भक्तपुरलाई मिस गरिनँ, कहिल्यै नरमाइलो महसुस गरिनँ । सबैले डाक्टर साहेबकी छोरी भन्थे माया गर्थे । हामीलाई चाडपर्वमा डोकामा बोकाएर लैजान्थे, हिँडाउँदैनथे।’

सानैदेखि विद्रोही स्वभाव
यसै पनि भक्तपुरको नेवारी समुदाय कट्टर मानिने देशैभरि सुनिने हल्ला हो यो । उनको परिवार कट्टर स्वभावको भए पनि बाहिरी जिल्ला घुमेको कारण त्यति धेरै कट्टरता सहनु परेन । ८ कक्षा पढेपछि भने भक्तपुर नै बसेकी उनी एकदिन पानी लिन धारामा गइन् । धारा खोल्न नजानेपछि एकजना मान्छे आएर उनलाई सघाएछन् । केही बेरमा अरु मान्छे पनि आइपुगे । गाग्री बोकेर पर पुगिसकेकी उनी ती पछि आएका मान्छेले भने, ‘ए ए पख् पख् । के गरेको यस्तो ? यो पानी त बिटुलो भइहाल्यो नि ?’

धारा खोल्ने मान्छे त ‘तल्लो जात’को पो हो त भनेर घरभित्रबाट पराल पोलेर गाग्रीमा छोआए र अब चोखियो जाऊ भनेछन् । यस्तो देखेपछि उनी रिसले चुर भइन् । उनले भनिन्, ‘मान्छे पनि कोही सानो र कोही ठूलो हुन्छ ? ऊ र हामीमा के फरक छ ?’

अन्तर्जातीय विवाह
२०२० मुलुकी ऐन लागू भए पनि नेपालमा आजसम्म जातीय प्रथा हटेको छैन । त्यसमाथि २०४२ साल तिरको समाज त कट्टर नहुने कुरै आएन ।  सानैदेखि विद्रोही स्वभावकी उनले प्रेमविवाह गरिन् । त्यसमाथि आफ्नो जातसँग नमिल्ने व्यक्तिसँग । यो विवाह त्यतिबेलाको समाजमा पाच्य हुने कुरै थिएन।

तपाईंहरुको प्रेम सम्बन्धबारे खुलाउनुस् न ! हरिप्रभाका पति प्रकाश खड्गीसँग आग्रह गर्दा उनी मन्द मुस्कुराए । उनी त्रिभुवन विश्वविद्यालयको पाटन संयुक्त क्याम्पसमा सहप्राध्यापक छन् । उनले भने, ‘हाम्रो जोडी त माथि भगवान्ले नै जुराइदिएका हुन् जस्तो लाग्छ । किनभने म आफू बायोलजीको विद्यार्थी । त्यतिबेला धेरै केटी साथीहरु थिए तर जब मैले उनलाई देखेँ, त्यसपछि म उनको प्रेममा परेँ।’

भएछ के भने हरिप्रभा श्रेष्ठ आफ्नो साथीहरुसँग मनकामना मन्दिर गइछन् अनि प्रकाश खड्गी आफ्ना साथीहरुसँग गएछन् । यी दुई ग्रुपको बाटोमा भेट भएछ । त्यतिबेला सामान्य परिचयमा सकिएको कुराकानी पछि प्रेमको रुपमा अंकुराएछ।

भगवानकै सेटिङ
आफूहरुको जोडी बाँधिनुमा भगवान्कै सेटिङ भन्न रुचाउँछन् प्रकाश । उनी भन्छन्, ‘म कहिलेकाहीँ गम्भीर भएर सोच्छु । त्यति धेरै केटी साथीहरु भएको म, उनलाई नै किन मन पराएँ होला ? त्यो पनि मनकामना गएको बेलाकै चिनापर्चाको आधारमा एकले अर्कालाई कति विश्वास पलाएको ! यो सानोतिनो सेटिङ भएकोजस्तो लाग्दैन ।’ यति भनेर उनी आडैमा बसिरहेकी हरिप्रभाको अनुहारमा पुलुक्क हेरे । हरिप्रभाले पनि स्वीकृतिका साथ मुन्टो हल्लाइन्।

मनकामनामाईको बरदान भएको ठान्ने यो जोडीले दुई वर्षको प्रेम सम्बन्धलाई २०४२ सालमा बिहेमा परिणत गर्यो । त्यतिबेलाको डेटिङ कस्तो हुन्थ्यो त ? परिवारकर्मीको प्रश्नमा हरिप्रभाले हाँस्दै भनिन्, ‘खै के के पो गरियो ?’

उनले यसो भनिरहँदा मुस्कुराइरहेका प्रकाशले भने, ‘त्यो बेला खासै डेटिङ जाने चलन त थिएन । उनी कलेजमा पढ्न आउँथिन् । त्यही बेला कुराकानी हुन्थ्यो । यतैतिरको बाटोमा हिँड्दै, अनि हाम्रो कोल्ड डिं«क्सको पसल थियो । म त्यहीँ बसेको हुन्थेँ । त्यो बेलामा पनि भेटघाट हुन्थ्यो।’

जातकै कुरा गर्दा नेवारी समुदायभित्र पनि धेरै जात छ । त्यहीअनुसार हरिप्रभाको जात ‘ठूलो’ अनि प्रकाशको जात ‘सानो’ । हरिप्रभालाई घरमा बिहे गरेर दिन्छन् भन्ने विश्वास थिएन । यही बुझाइका कारण उनीहरुले भागी विवाह गरे।

भागी विवाह गरेका उनीहरुको वास्तविक संघर्षका दिन त्यतिबेला सुरु भए जब उनीहरु सगोल परिवारमा बस्न नसक्ने भए । छुट्टिनै परेपछि हक्की स्वभावका प्रकाश पनि हरिप्रभालाई लिएर बेग्लै बस्न थाले । त्यतिबेला प्रकाश सेनाको फुटबल खेलाडी थिए । उनको मासिक तलब ३८० रुपैयाँ हुन्थ्यो । त्यसैबाट उनले घरबार चलाए।

सुरुमा हरिप्रभालाई माइती पक्षले स्वीकारेन । हरिप्रभाका लागि माया नै ठूलो थियो । उनले भनिन्, ‘कहिलेकाहीँ त घरको खुब याद आउँथ्यो तर यो समय धेरै रहन पाएन । बिहेको एक वर्षमै स्वीकारिहाल्नुभयो।’

‘अहिले त मलाई ससुरालीमा धेरै मान्छन्,’ प्रकाशले गर्व गर्दै भने, ‘त्यतिबेला बेला नस्वीकार्दा भने विस्मात हुन्थ्यो । कतै बदमासी नै गरिएछ क्यारे भनेर भाउन्न हुन्थ्यो।’

अहिले समाज १८० डिग्रीमा परिवर्तन भएको उनी बताउँछन् । ‘लभ गर्ने र जातको कुराकानीमा अहिले समाज उदार भएको छ,’ प्रकाशले भने, ‘यस्तो देख्दा खुसी लाग् ।’

‘हामीलाई जातको भन्दा पनि लभ गरेको कारणले माइती पक्षले सुरुमा नस्वीकारेको हो,’ हरिप्रभाले भनिन्, ‘त्यतिबेला लभ गर्नेलाई हेयको दृष्टिकोणले हेर्ने र अपमान गर्ने गरिन्थ्यो । अहिले त बा–आमाले पनि छोराछोरी आफैँले जोडी खोजे हुन्थ्यो भन्ने आशा राख्छन्।’

घरमा थाहै नदिई राजनीतीक यात्रा
कानुन विषय पढ्न २०४२ सालमा नेपाल ल क्याम्पसमा भर्ना भएकी हरिप्रभाले त्यही सालबाट नेपाल विद्यार्थी संघमार्फत राजनीति सुरुवात गरिन् । ‘त्यतिबेला कलेजमा सबै विद्यार्थी सगंठनले आफूतिर तान्ने प्रचलन थियो  । मलाई नेपाल विद्यार्थी संघ मनपर्यो,’ उनले भनिन् । सानैमा हजुरबुबाले गणेशमान सिंहको बहादुरीको गाथा सुनाउँदा पनि उनलाई कांग्रेसप्रति सकारात्मक छाप परेको थियो।

२०४२ सालमा संघबाट थालेको उनको राजनीतिले बिस्तारै गति लियो । नेविसंघमा एक वर्ष जति काम गरेपछि उनी कांग्रेसको भातृ संगठन नेपाल महिला संघमा गइन् । त्यहाँ पनि उनले तल्लो इकाई कमिटीमा सचिव भएर काम थालिन् । २०५७ सालमा महिला संघको जिल्ला सदस्य भइन् । २०६३ मा केन्द्रीय सदस्य । २०६४ र ०७० को संविधानसभामा कांग्रेसबाट समानुपातिक सूचीमा पर्न सफल भए पनि दुवै पटक सभासद् बन्ने अवसर भने जुरेन । अन्ततः उनी स्थानीय चुनावमा भने टिकट पाउन सफल भइन् । मेयरमा कांग्रेसले नजिते पनि उपमेयरका रुपमा भने उनले जितिन्।

घर धान्ने म, राजनीति गर्ने उनी
एक छोरा एक छोरी रहेका उनीहरुका दुवै सन्तान अमेरिका बसोबास गर्दै आइरहेका छन् । पत्नीको राजनीतिका कारण छोराछोरी हुर्काउन प्रकाशलाई अलि गाह्रो नै भएको थियो । फुटबल खेलको सानो आम्दानीले घर नचल्ने भएपछि प्रकाशले शिक्षण  पेसामा हात हाले । त्रिविको पाटन संयुक्त क्याम्पसमा सहप्राध्यपक रहेका उनी पहिले बिहान ६ देखि बेलुकी ६ बजेसम्म पढाउँथे । उनी भन्छन्, ‘छोराछोरी नहुर्किउञ्जेलसम्म मैले अर्थाेपार्जनकै लागि धेरै काम गरेँ । उनलाई राजनीति र मैले घर धानेँ।’

सन्तान जन्माउने काम हरिप्रभाको र हुर्काउने जिम्मा आफ्नो भएको प्रकाशले सुनाइरहँदा हरिप्रभा मुस्कुराइरहिन् र भनिन्, ‘संगठनको लागि कार्यक्रममा गइरहनुपथ्र्यो । उहाँले त्यसरी सहयोग नगरेको भए त कहाँ सकिन्थ्यो र ? अरु कयौँ प्रतिभाशाली महिलाहरुजस्तै म पनि घरैमा बस्नुपथ्र्यो होला।’

प्रकाशको विचारमा राजनीति गर्नेहरु धेरैको घरबार बिग्रिएको छ । उनी आफू भने यस कुरामा सचेत थिए । उनी भन्छन्, ‘मैले त राजनीति  छाडिदेऊ भनेको हो । उनैको जिद्दीले यहाँसम्म आइपुगिन् । छाड भन्नुको एउटै कारण थियो, गणेशमान सिंह र मंगलादेवीको त मूल्याङ्कन नभएको  यस ठाउँमा हाम्रो मूल्याङ्कन पो के होला र ?’

हरिप्रभाले बीचैमा भनिन्, ‘मेरो त नसानसामा राजनीति बगेको छ । राजनीति र संगठनबाहेक अरु केही सोच्नै पाएको छैन त के गरुँ ?’ कमाउनेदेखि घर व्यवस्थापनसम्म आफैँले गरेका प्रकाश हरिप्रभालाई ओछ्यानको तन्नासमेत मिलाउन नआउने गुनासो गर्छन् । उनी भन्छन्, ‘म आफूलाई आइरन लगाएर चिटिक्क पर्नुपर्ने, उनलाई त्यो आउँदैन । आजसम्म पनि उनलाई तन्ना कस्न आउँदैन।’

एकअर्काको सहयोगले दुवै जना सफल भएको प्रकाशको बुझाइ छ । उनी भन्छन् ‘हामी आ–आफ्नो क्षेत्रमा सफल भएका छौँ । उनलाई मैले बुझेँ र मलाई उनले । एकअर्काप्रतिको माया, प्रेम र समर्पणले नै हामी खुसी छौँ।’

महानगरको सकस
उनी नेपाली कांग्रेसबाट उपमेयरमा  निर्वाचित भएकी हुन् । तपाईं महानगरको उपमेयर भएपछि के–के गर्नु भयो त ? के कस्ता चुनौती आए ? सोचे जति काम नभएको भन्ने स्थानीय तहको सर्वत्र आलोचना भइरहेको छ नि ? परिवारकर्मीको यस प्रश्नमा हरिप्रभाले काम गर्न नपाएको दुखेसो पोखिन्।

उनले भनिन्, ‘एक त यो पुरुषप्रधान समाज हो । पितृसत्तात्मक मानसिकता हटाउन सकिरहेको छैन । उपप्रमुखको गनितो मनितो छैन । संविधानले छुट्ट्याएको चार अधिकार न्याय समिति, बजेट  तर्जुमा समिति, अनुगमन समिति र राजस्व परामर्श समितिमा मैले आफ्नो नेतृत्वमा काम गर्न पाउनुपर्ने हो तर यसो हुन सकेको छैन । मेयर साहेबको हस्तक्षेपको कारण मैले केही काम गर्न पाएको छैन। ’

त्यसो भनेर उम्कन मिल्छ र ? आफ्नो भागमा परेको अधिकारअनुसार त काम गर्न पाउनु तपाईंको अधिकार र दायित्व हो नि, होइन र ? परिवारकर्मीको यो प्रश्न आएपछि उनले महानगरमा भइरहेको अन्यायबारे यसरी खुलेर बोलिन्।

गनितो मनितो नै नराख्ने मेयर
उनले भनिन्, ‘म क्लियर  छु । मेयर साहेवले म महिला भएकै कारण पेल्नु भएको हो । महानगरको जनप्रतिनिधि बनेपछि पार्टीको कुनै कुरा गर्ने छैन । जनताको हितमा लाग्ने छु तर मेयर साहेबले डोमिनेट र इन्सल्ट गर्ने अनि कुनै पनि निर्णय लिँदा माथिबाट लाद्ने काम गर्नु भएको छ । सुरुवाती २÷३ महिना राम्रै चलेको थियो । जब रानीपोखरी निर्माणमा स्ट्यान्ड लिएँ, त्यसपछि मलाई काम गर्न गाह्रो बनाइदिनु भयो । अरुले मलाई भनेकै थिए।’

उनले मेयर विद्यासुन्दर शाक्यसँग आफ्नो गुनासोको चाङ नै राखिन्, भनिन्, ‘मिटिङमा हिजोआज उनलाई खासै महङ्खव दिइँदैन । सरसल्लाह गरिँदैन । आफ्नै ढंगले ल्याउने चलन छ । ठूला एजेन्डा बनाउँदा दुवै जना मिलेर सल्लाह गरौँ छलफल गरौँ, यस्ता एजेन्डा केही दिनअघि नै वडा अध्यक्षहरुलाई बाँडौँ र छलफल गर्न समय हुन्छ भन्नेजस्ता कुरा गरेकी थिएँ तर उहाँले मान्नुभएन।’

‘उहाँकै हस्तक्षेपले न्याय समितिको काम ठप्प छ,’ आफूले काम गर्न नपाएको तीतो पोख्दै उनले भनिन्, ‘अनुगमन समितिलाई प्रभावकारी बनाउनुपर्ने हो । अनुगमन समितिबारे मैले दुई चोटी समिति बनाएँ, पेस गरेँ  तर उहाँले अस्वीकार गर्न थाल्नुभयो । अहिले उहाँले पनि समितिको काम स्थगन गर्नुभएको छ । मैले उहाँले गर्नुभएको कुनै पनि काममा  रोकेको छैन । उहाँ आफैँ सिस्टममा जान सक्नुभएको छैन।’

सम्पदाको पैरवी गर्नुभएको भनेर कतिपयले सर्पोट गरेका छन्, कतिपयले प्रचारमुखी भनेका छन् नि ?
कस्तो काम गर्दा प्रचारमुखी हुन्छ मलाई थाहा छैन । मेरो मान्यता के हो भने पहिले हाम्रो सम्पदा जस्तो थियो, त्यस्तै बन्नुपर्छ । कंक्रिट प्रयोग गर्ने हो भने विश्वसम्पदाको सूचीबाट हट्छ, हाम्रो मौलिकता गुम्छ । यस्तो थाहा हुँदाहुँदै म चुप बस्न सकिनँ । त्यसो गर्दा प्रचारमुखी भन्छन् भने मेरो भन्नु केही छैन ।
महानगरको प्रमुखसँग भिजन छैन । हामीले दिँदा पनि नपत्याउने । यसले गर्दा सोचेअनरुप काम हुन नसकेकै हो तर मैले गर्न पाएको काम गरिराखेकै छु । ती काममा कसैको गुनासो मैले पाएको छैन।

महानगरको बोर्ड बैठक हुँदा माथिबाट मेयर साहेबको हुकुमी शैली छ । मलाई के लागेको छ भने हाम्रोमा राणाशासन र राजतन्त्र त हट्यो तर त्यो शैली हटेको छैन । जंगी तरिकाले चलेको छ महानगर । मैले काम गर्न पाएकी छैन ।
बोल्न नदिने, बोलेका कुरा ब्लु बुकमा राख्ने चलन छ र बजेट भाषणमा मैले बोलेको कुरा पनि राखिएको छैन । यहाँभन्दा अन्याय अरु के हुन सक्छ ?
 
महिलालाई चुनौती
हुन त हिजो आज समाज धेरै परिर्वतन भएको छ तर सोचाइ परिर्वतन हुन नसकेको हरिप्रभाको ठम्याइ छ । उनी भन्छिन्, ‘अब प्रमुख पद नपाइकन आफ्नो क्षमता देखाउन कुनै पनि उपमेयरले सक्छन्जस्तो लाग्दैन ।’ देशकै राजधानीको सबै भन्दा ठूलो महानगरको उपमेयर भएर त केही गर्न सकेको छैन भने अन्य उपमेयरको हालत के होला ?’

घर–परिवार समाजसँग संघर्ष गरेर बलबल्ल जनप्रतिनिधि भएका महिला काम गर्ने स्थानमा पुग्दा पनि संघर्ष गर्नु पर्दा निकै दुःख भएको उनले बताइन् । उनले भनिन्, ‘महानगरको समस्या सुल्झाउने हो भने मेयर–उपमेयरले आ– आफ्नो अधिकारमा रहेर संविधानअनुसार काम गर्न पाउनुपर्छ।’

प्रकाशित: १ कार्तिक २०७५ ०९:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App