१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

रानीको बगैँचामा फूल गोड्दा

वनस्पति विज्ञ कुमार केसी सानैदेखि राजदरबारको आँगनमा हुर्किए । उनका लागि न त दरबार नौलो भयो न दरबारमा आउजाउ नै । गाउँघरमा साना केटाकेटी ओल्लो–पल्लो घर गरेजस्तै केसीको पनि दरबारमा बाक्लै आवतजावत गर्थे । आखिर उनको घर पनि सडकको वारिपारि छ, दरबारको उत्तरी गेट (उत्तरढोका) नजिकै।

कुमार केसी २०१४ सालमा जन्मिए, त्यहीँ हुर्किए । काठमाडौँ महानगरपालिकास्थित लाजिम्पाटमा उनको पुरानो जन्म घर छ, जुन दरबारको उत्तरी ढोकाबाट दुई सय मिटरको दुरीमा पनि छैन । केसी सानैदेखि त्यही उत्तर ढोकाबाट दरबारमा आवत–जावत गर्थे । उनलाई पहिलो पटक कहिले दरबार छिरेँ भन्ने ठ्याक्कै हेक्का छैन । उनले जानेदेखि नै दरबार आवतजावत गर्ने क्रम सामान्य भइसकेको थियो।

वनस्पतिविज्ञ कुमार केसीले जीवनमा कहिल्यै गार्डेनरका रुपमा काम गरिएला भन्ने सोचेका थिएनन् । वनस्पतिका बारेमा अध्ययन गरिन्छ भन्ने पनि उनलाई लागेको थिएन । केसी भन्छन्, ‘झन् मालीको काम गरिएला भनेर कल्पना पनि गरेको थिइँन ।’ तर उनी भए दरबारको माली । फूल–बिरुवाका डाक्टर बन्न पुगे।

केसीले अर्थशास्त्रको विज्ञ बन्ने उद्देश्यले २०३८ सालमा अर्थशास्त्रमा त्रिविविबाट स्नातकोत्तर गरेका थिए । नेपालमा कसरी सहकार्यको विकास गरेर लगानी गर्दै देशलाई समृद्ध बनाउन सकिन्छ भन्नेमा केसीको अध्ययन केन्द्रित थियो।

त्रिभुवन र हजुरबुवासँगै खेले
केसीका हजुरबुबा अम्मर बहादुर केसी र राजा त्रिभुवनबीच बाल्यकालदेखि नै गहिरो सम्बन्ध थियो । ‘त्रिभुवन र जिजुबा (हजुरबुवा) बीचको नाता राजा–प्रजाको भन्दा पनि साथीको नाता थियो,’ केसी भन्छन्, ‘दरबार र हाम्रो घर नजिकै भएकाले हजुरबुवा र त्रिभुवन बाल्यकालदेखि नै सँगै खेल्दै हुर्कनु भयो।’

‘घर अगाडि दरबार छिर्ने सानो ढोका (उत्तरढोका) थियो, सडक पार गरेपछि यही गेटबाट हजुर बुबा फुत्त दरबार छिर्नु हुन्थ्यो,’ केसीले घरमा हुने कुराकानी सम्झँदै भन्छन्, ‘हजुरबुबाका बुबा पनि दरबारमा पोशाके (राजाको लुगा मिलाइदिने)का रुपमा काम गर्नुहुन्थ्यो । यही नाताका कारण हजुरबुबा पनि सहजै दरबार प्रवेश पाउनु हुन्थ्यो । र, त्यही नाताका कारण म पनि दरबार छिर्थें।’

राजा त्रिभुवन पनि फूल र बगैँचाको शौखिन थिए । त्रिभुवनले आफूसँगै खेलेका साथी केसीका हजुरबुबालाई दरबारमा जागिरे बनाए । दरबारमा लामो समयसम्म त्रिभुवनको विश्वसनीय मित्र भएर गार्डेनरका रुपमा केसीका हजुरबुबाले काम गरे।

हजुरबुबाले दरबार छिराए
केसी बाल्यकालदेखि नै दरबारमा आवतजावत गर्न पाउनुको पनि खास कारण हजुरबुबा नै थिए । उनका हजुरबुबाका कारणले नै केसीका लागि दरबारसँग नजिक हुने अवसर मिल्यो।

केसीका बुबाले भने दरबारमा काम गरेनन् तर नातिलाई भने दरबारमा चिनाउने काम उनका हजुबुबाले नै गरिदिए । ‘दरबारमा हजुरबुबाले लगेर नचिनाइदिएको भए दरबारमा काम गर्ने अवसर पाइँदैन थियो,’ केसी भन्छन् । उनका हजुरबुबा दरबारमा कर्णेलसम्म भए तर दरबारको बगैँचाविज्ञका रुपमा।

‘हामी दसैँको टीका थाप्न दरबार जान्थ्यौँ र दरबारमा टीका थाप्न जाने भन्नेबित्तिकै हाम्रालागि बेग्लै रौनक हुन्थ्यो बालककालमा,’ केसी भन्छन्।

राजा खुसी भएर कार इनाम
उनका हजुरबुबा अम्मरबहादुर त्रिभुवनका घनिष्ठ भएकाले दरबारमा प्रयोग भएका कतिपय सामग्री केसीका घरमा पनि आइपुग्थे । बेलाबेलामा राजाले इनाम तथा बक्सिस पनि हजुबुबालाई दिन्थे । २०१२ सालमा दरबारबाट बकस तथा इनामस्वरुप केसीका घरमा कार आइपुग्यो । पछि हजुरबुबा बिरामी हुँदा अस्पतालमा दरबारबाट राजाले फलफूल पठाइदिन्थे । आफ्ना सखीको स्वास्थ्य अवस्थाको बारेमा त्रिभुवनले सोधखोज गरिरहन्थे।

रगतमा गार्डेनिङ
दरबारमा काम गर्ने कर्मचारीका छोराछोरीले दरबारमा जागिर खान सहज अवसर पाउने भएकाले नै उनी पनि दरबारका जागिरे भए । २०३८ सालमा केसी प्रशासनको जागिरे भएर दरबारमा छिरे । राजा त्रिभुवनकी कान्छी रानी ईश्वरी राज्यलक्ष्मीको सचिवालयमा प्रशासन तथा फाइनान्सियल मेनेज्मेन्टका लागि उनी नियुक्त भए । केसी भन्छन्, ‘जिजुमुमा बडामहारानी ईश्वरी राज्यलक्ष्मीको ०४१ सालमा स्वर्गारोहण भयो ।’ ईश्वरीको मृत्युपछि उनको सचिवालयमा कार्यरत कर्मचारी वीरेन्द्रको सचिवालयमा गाभिए । यसपछि केसी पनि राजा वीरेन्द्रकै सचिवालयमा काम थाले।

२०४१ सालको कुरा हो, एक दिन राजा वीरेन्द्रले प्रशासनको काम गरिरहेका कुमार केसीलाई बोलाए । राजा वीरेन्द्रले केसीलाई भनेछन्, ‘तिमीले अर्थशास्त्र पढेका छौ तर तिमीहरुको रगतमा गार्डेनिङ छ ।’ खासमा त्यतिबेला दरबारको बगैँचा बिग्रन थालेकामा राजा चिन्तित थिए । त्यसैले उनलाई वीरेन्द्रले भने, ‘तिमीले बिग्रिरहेको बगैँचा सुधार गर्नुपर्यो, के सहयोग चाहिन्छ मलाई भन्नू।’

राजाको इच्छा नै आफ्नो भन्ने सोचेर उनी पनि त्यसपछि राजदरबारको गार्डेन स्याहार्न तयार भए । हजुरबुबाले गार्डेनको काम गरेको देखेका केसीलाई गार्डेनसम्बन्धी मनग्य ज्ञान थियो । कहिलेकाहीँ हजुरबुबालाई सघाउने पनि गरेका थिए । उनलाई यो काम गर्न कुनै गाह्रो भएन।

दीपेन्द्रको ब्रतबन्धमा फ्लावर डेकोरशन
२०४२ सालमा दरबारमा महङ्खवपूर्ण कार्य भएको केसीको भनाइ छ । दरबारमा दीपेन्द्रको व्रतबन्ध भएछ । स्पेनका राजा हुवाँ कार्लोसको राजकीय भ्रमण पनि सोही सालमा भएको सम्झन्छन्, केसी । त्यो समयमा दरबारमा प्रमुख समारोह प्रबन्धक कार्यालय थियो । सो समारोह प्रबन्धक कार्यालयअन्तर्गत नै फूल बगैँचाको व्यवस्थापन पनि पथ्र्यो। पाहुनाको स्वागत–सत्कार तथा समारोहको व्यवस्थापनलगायत सो प्रबन्धक कार्यालयले गर्थ्याे। २०४२ सालमा भएका ती कार्यक्रममा केसीले फूल तथा बगैँचा डेकोरेसनको प्रमुख भएर काम गरेछन् । त्यतिबेलाको कार्यक्रममा केसीले फूलको डेकोरेसन गरेर दरबारलाई झकिझकाउ बनाएका थिए।

बगैँचा शाखाको प्रमुख
व्रतबन्ध र स्पेनी राजाको भ्रमण कार्यक्रम सकिएपछि पनि राजा वीरेन्द्रको चाहना बमोजिम नै केसीले प्रशासनको काम छोडेर दरबारको गार्डेन स्याहार्ने काम गर्न थाले । दरबारमा विभिन्न विभाग थिए, जसमध्ये बगैँचा शाखा पनि थियो । तत्कालीन अवस्थामा दरबारको बगैँचा शाखामा करिब ५० जना फूल तथा बगैँचाको स्याहारसुसार गर्ने माली थिए । तिनै बगैँचामा काम गर्ने ५० जना कर्मचारीको हाकिम भएर उनले काम थाले । दरबार करिब नौ सय रोपनी क्षेत्रफलमा फैलिएको केसीको अनुमान छ।

रानी आफैँ बगैँचा गोड्थिन्
रानी ऐश्वर्य आफैँ कुटो, कोदालो, कैँचीलगायत गार्डेनका औजार लिएर फूल गोड्न बगैँचामा जाने गरेको सम्झिन्छन्, केसी । रानी ऐश्वर्यले साँझ–बिहानको समय फूल गोडमेल गर्थिन् । दरबारका मालीहरुलाई आफूलाई पनि गोडमेल गर्ने भाग छोडिदिन भन्ने गरेको उनी सम्झन्छन् । केसी भन्छन्, ‘फूल छाँटकाँट गर्न, गोड्न तथा मल–जल हाल्न पनि रानी अनुभवी थिइन, रानी आफैँले ती काम गर्थिन्।’

कुनै समयमा टेन्सन भयो भने पनि रानी फूलबारीमा पसेर फूल बिरुवा गोडमेल गर्न थाल्थिन् । गार्डेनमा काम गर्दा लगाइने विशेष किसिमका लुगा नलगाई सामान्य लुगामै रानी काम गर्थिन् । रानीलाई प्रायः राता फूल मन पर्थे । सिजन अनुसारको सयपत्री, गोदावारी, मखमली देख्दा यस्तो पो भएछ भन्दै फूल सुम्सुम्याउने गर्थिन् । वीरेन्द्रका सन्तान साना छँदा त्यहीँ बगैँचामा लुटपुट गर्थे।

राजा प्लान्ट ट्रिमिङ गर्न सिकाउँथे
राजा वीरेन्द्र बिहान करिब आठ बजे दरबार वरिपरि व्यायाम गर्न निस्कन्थे । दरबार नजिक घर भएका केसीको पनि आठ बजेबाटै ड्युटी सुरु हुन्थ्यो । केसी पनि बिहान राजाको मर्निङ वाकसँगै दरबारको बगैँचामा हाजिर हुन्थे । वीरेन्द्रले गार्डेनको अराउपराउ गर्थे । कुन ठाउँमा कस्तो किसिमको फूल बिरुवा लगाउने भन्ने वीरेन्द्रले मर्निङ वाक गर्दै केसीलाई सिकाउँथे । उनी पनि राजासँग दरबारको बगैँचाका बारेमा सल्लाह लिन्थे।

राजालाई फूलमा धेरै लगाव थिएन तर रुख–बिरुवा (प्लान्ट) भने मन पराउने गरेको केसीले देखेका छन् । ‘नेपाली रैथाने बिरुवालाई संरक्षण तथा संवद्र्धन गर्नुपर्छ भन्ने वीरेन्द्रको धारणा थियो,’ केसी भन्छन्, ‘नेपाली बिरुवा अब्बल किसिमका छन् । नेपाली बिरुवा दरबारमा रोप्नुपर्छ भन्थे राजा ।’ त्यसैले त्यो बेला कतिपय स्थानीय जातका बिरुवा दरबारभित्र रोपिएको उनी सम्झन्छन्।

वीरेन्द्रले दरबारका ४०–५० फिटका रुख ट्रिमिङ गर्न आफैँ बसेर सिकाउँथे । रुख ट्रिमिङमा वीरेन्द्र अनुभवी भएको केसी बताउँछन् । ‘राजाले रुख काट्ने राम्रो अनुभव लिएको हुनुपर्छ, किनभने उनले रुख काटेर अनुभव नलिएको भए हामीलाई सिकाउन सक्थेनन् होला,’ केसी भन्छन्, ‘रुख ट्रिमिङ गर्दा वीरेन्द्र निक्कै रोमाञ्चित भएर छेउमा बस्थे।’

बेलुका सुख्खा, बिहान पानी
राजा वीरेन्द्रले फूल बगैँचामा पानी हालेको कहिल्यै देखेनछन्, केसीले तर २०५० सालमा पोखराको रत्न मन्दिरमा ब्रिटेनका राजकुमार प्रिन्स चाल्र्स आएका रहेछन् । गार्डेनरको हाकिम भएकाले केसी पनि रत्न मन्दिरमा २० दिन अगाडि नै पुगेका थिए । त्यहाँ उनले ल्यान्डस्केप गार्डेन बनाएका थिए । राजा पनि १५ दिन अगाडि नै पोखरा पुगेका थिए । जाडो तथा गर्मी सिजनमा राजा–रानी उपत्यकाबाहिर बिदा मनाउन त्यहाँ जान्थे।

त्यस बेला राजकुमार चाल्र्सलाई नेपालको संस्कृति तथा सभ्यतालाई आधार बनाएर गार्डेन बनाइएको रहेछ । बेलुका सुख्खा भएको गार्डेन बिहान उठेर हेर्दा गार्डेन तथा बिरुवामा पानी हालिसकेको देख्दा केसी अचम्ममा परेछन् । सो गार्डेनमा राजाबाहेक कसैलाई प्रवेश दिइएको थिएन  तर पनि बेलुका सुख्खा गार्डेन बिहान उठ्दा त पानी हालिसकेको देख्दा राजा वीरेन्द्रले नै त्यहाँ पानी हाले कि भन्ने केसीले अनुमान छ।

पाहुनाको स्वागतमा आकर्षक फूल
दरबारमा स्वदेशी तथा विदेशी पाहुना आउँदा केही दरबारभित्रै फूलेका फूलले स्वागत तथा बिदाइ गरिन्थ्यो भने दरबारका फूलले नपुगेको अवस्थामा बजारबाट फूल किनेर ल्याइन्थ्यो । विशेषगरी विदेशी पाहुना आउँदा दरबारका बैठक लगायतमा सजाउन बढी फूलको प्रयोग गरिने उनी सम्झन्छन्।

राजा नरम, रानी खरो
राजा वीरेन्द्रको मुखबाट केसीले कहिल्यै खरो वचन सुन्नु परेन न त गाली नै खानुपर्यो । १८ वर्षे दरबार सेवामा उनलाई राजाले कहिल्यै गाली गरेनन् । राजाले यस्तो किसिमले गर्दा राम्रो हुन्छ भनेर सल्लाह दिन्थे । राजा सधैँ भद्र लाग्छ उनलाई । राजाले कहिल्यै पनि दरबारमा काम गर्ने गार्डेनरलाई गाली गरेको आफूले नसुनेको बताउँछन्, केसी।

कामदारलाई राजा कहिल्यै आदेश दिँदैनथे । बरु काम गर्नेसँगै यो काम यसरी गर्दा कस्तो हुन्छ भनेर जिज्ञासा राख्थे। कुनै काम गर भनेर आदेशात्मक भाषा बोल्नु भन्दा पनि काम गर्नेसँगै कूटनैतिक भाषामा उत्तर खोज्ने वीरेन्द्रको स्वभाव रहेको उनी सम्झन्छन्।

रानी ऐश्वर्यले भने काम गर्ने ढंग पुगेन भनेर भनिदिन्थिन् । रानीको बोली अलि खरो थियो । काम बिग्रियो भने त्यति पनि थाहा छैन भनेर प्याच्च भनिदिन्थिन् । आफूले रानीको गाली नखाए पनि खरो बोली सुन्ने गरेको उनी बताउँछन्।
गार्डेनका काम बिग्रिएको खण्डमा आफूले कामदारहरुलाई कुनै सजाय नदिएको बरु सम्झाउने बुझाउने गर्थे । कसै–कसैले काम अति बिगारे भने सजाय वर्षमा एक पटक हुने बढुवा भने रोकिन्थ्यो । केसीको बढुवा भने कहिल्यै रोकिएन।

राजाको उपहार टोपी
एक दिन उनी बैशाखको चर्को घाममा बगैँचा स्याहार्दै थिए । राजा वीरेन्द्र अप्रत्यासित रुपमा उनका अगाडि प्रकट भए । केसी सम्झन्छन्, ‘त्यसरी राजा अचानक अगाडि आउँदा त म झस्किएँ ।’ गार्डेनमा काम गरिरहेका केसीलाई टोपी दिँदै राजाले भनेछन्, ‘यो टोपी लगाएर काम गर, घाम छेक्छ ।’ त्यो टोपी पट्याएर रुमालजस्तो सानो बनाउन सकिने थियो । लक खोलेपछि नाङ्लो जत्रो हुन्थ्यो।

दरबारको होली
दरबारको त्रिभुवन सदनमा स्विमिङ पुल छ । केसीका अनुसार सो स्वीमिङ पुल राजा त्रिभुवनले पौडी खेल्न बनाएका थिए । होली पर्वमा स्विमिङ पुलमा विभिन्न किसिमका रङ हालेर स्विमिङ पुललाई सप्तरंगी बनाएको केसीले देखेका रहेछन् । राजपरिवारका सदस्य, नातेदार तथा आफन्त भेला भएर होलीमा पिच्कारी हान्दै रङ सहितको सो पोखरीको पानीले छ्यापाछ्याप गरेर रमाइलो गर्ने गरेको केसी बताउँछन् । पोखरी मात्रै सप्तरंगी हुन्थेन । पोखरीको रंगीन पानीले बगैँचासमेत रंगिएको उनले देखेका छन्।

दरबार हत्याकाण्ड
दरबार हत्याकाण्ड भएको १०–१५ मिनेटमा नै केसीले थाहा पाएका थिए । दरबारमा सँगै काम गर्ने साथीले फोनमा सुनाएका थिए । ‘सोझा राजाको हत्या भएको सुन्दा धेरै दुःख लाग्यो,’ केसीले भने । व्यक्तिगत रुपमा समेत चिनेका राजा–रानीको हत्या भैसकेपछि शोक पुस्तिकामा भने हस्ताक्षर गर्न केसी पनि दरबार पुगे।

‘राजा वीरेन्द्रले मर्निङ वाक गर्दा जुत्ता पनि हामीले लाउने भन्दा कमसल थियो,’ केसी भन्छन्, ‘उनले लगाउने जुत्ता चाइनिज हुन्थ्यो, त्यस्तै २५–३० रुपैयाँ पथ्र्यो होला । राजाले सर्ट पनि कहिल्यै चहकमहक लाएको देखिनँ ।’ खानपिनमा पनि वीरेन्द्र सेलरोटी र आलुको अचार, गुन्द्रुक मन पराउँथे।

फूल–बिरुवाको अध्ययन
केसीको पद प्रशासनिक भए पनि काम भने गार्डेनरको गरे । नेपाल सरकारको नियमअनुसार नै उनले बढुवा पाए । उनी सहायक सचिव तहसम्म पुगेर जागिर छोडे । २०५७–५८ सालतिर उनले दरबारको जागिर पेन्सन नलिई स्वेच्छिक अवकाश लिएका हुन् । फ्लोरिकल्चरमा योगदान दिने उदेश्यले उनले दरबारको जागिर छोडेको केसीले बताए।

दरबारको जागिर छोडेपछि केसी गुलाफको विशेष अध्ययन गर्नुका साथै गुलाफसम्बन्धी पुस्तकसमेत प्रकाशन गरे । गुलाफको अध्ययनकै लागि अछामको साँफेबगर पनि पुगे । विशेषगरी रैथाने जातलाई प्राथमिकतामा राखेर उनले अध्ययन गरे । रोजा ब्रियनी, रोजा सेरेसिया, रोजा माइक्रोफाइलाजस्ता स्थानीय जातका गुलाफको पहिचान उनले गरेका छन्।

दरबारको जागिर छोड्दा धेरै जसो मनिसले उनलाई मूर्खसमेत भने । तर जागिरमै रहँदा श्री प्रबल गोरखा दक्षिणबाहु लगायतका मान पदवी पाए, उनलाई त्यही ठूलो कुरा लाग्छ । उनले सात भन्दा धेरै राष्ट्र घुमेका छन् भने नेपालका ६० भन्दा धेरै जिल्ला पुगेका छन्।

अकस्मातसँग जोडिएको फूल र बिरुवासँगको नाता उनले अझै तोड्न सकेका छैनन् र उनी अझै पनि फूल बिरुवाको संरक्षणमा सक्रिय छन्।

प्रकाशित: १ कार्तिक २०७५ ०८:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App