२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

दसैंमा चोरको बिगबिगी

काठमाडौं – बानेश्वरको बिजुली बजार पुलबाट बस चढेकी सरिता चौलागार्इंको तीनकुने नपुग्दै ब्यागबाट मोबाइल र पर्स चोरी भयो । बेलुकाको समयमा खचाखच भरिएको बसमा ठेलमठेल गर्दै छिरेका युवाको समूहले आफ्नो ब्यागमा राखेको पर्स र मोबाइल झिकेको उनले पत्तै पाइनन् । तीनकुने पुगेर ब्याग हेर्दा मोबाइल र पर्स चोरिएको थाहा पाइन । आफ्नो सामान हराएपछि उनले हल्लाखल्ला गरिन् । तर चोरको समूह त्यसअघि नै बसबाट भागिसकेको थियो । उनी बसबाट उत्रेर आफ्नो सामान हराएको खबर प्रहरीलाई गरिन् । तर हराएकोे मोबाइल र पैसा फेला परेन।

काठमाडौंको घट्टेकुलो बस्ने रामकुमार मगर दसैंको लागि किनमेल गर्ने उद्देश्यले असनको फुटपाथमा राखिएको कपडा पसलमा गए । मजदूरी गरेर गुजारा चलाउँदै आएका उनको दौराको गोजीमा बीस हजार रुपैयाँ थियो । उनी गाउँमा रहेका बाआमालाई लुगा किन्न असनको व्यस्त सडकमा निस्केका थिए । भिडभाडमा खल्तिमा भएको बीस हजार रुपैयाँ खल्ति काटेर चोरले लगिसकेको उनले भेउ पाएनन् । दसैंको उनका सपना चोरले चकनाचुर बनाइदियो।

पर्समा तीस हजार रुपैयाँ बोकेर दसैंको किनमेल गर्न मैतिदेवी बस्ने रमा सिग्देल साथीसँग भृकृटीमण्डप गएकी थिइन् । सामान छानिसकेपछि पैसा तिर्ने बेलामा ब्याग खोलेर हेर्दा उनको पर्स चोरले उडाइसकेको रहेछ । पैसा चोरी भएपछि सिग्देलले आफूले रोजिसकेको सामान छाडेर रित्तो हात घर फर्किइन्।

चोरीका यी घटना केही उदाहरण मात्र हुन् । दसैं नजिकिएसँगै राजधानीमा संगठित चोरीको घटना ह्वात्तै बढेको छ । दसैंको समयमा किनमेल गर्ने उद्देश्यले फुटपाथका बजारदेखि महंगा सपिङ मलमा मानिसहरुको भिडभाड हुने र किनमेलका लागि अधिकांशले पैसा बोक्ने भएकाले दसैंको समय चोरका लागि ‘राम्रो अवसर’ भएको चोरीको मुद्दामा दखल राख्ने अधिवक्ता सुशील अधिकारी सुनाउँछन्।

राजधानीको भृकृटीमण्डपमा रहेको अस्थाइ प्रहरी बिटका अधिकारी पनि दसैं नजिकिएसँगै खुला बजार र आसपासको फुटपाथ पसलमा सर्वसाधारण मानिसहरुको मोबाइल, पर्स, पैसालगायतका बहुमूल्य गरगहना हराएको र चोरिएको उजूरी विगत पन्ध्र दिनदेखि निकै बढेको बताउँछन् । उनीहरुका अनुसार चोर समातिदिन र चोरी भएको सामान र पैसा फिर्ता गराइदिन लिखित र मौखिक रुपमा आग्रह गर्नेको संख्या पछिल्लो समय दिनप्रतिदिन बढ्दो छ।

महानगरीय प्रहरी अपराध महाशाखाका प्रवक्ता एसपी नरेन्द्रप्रसाद उप्रेती चाडपर्वलाई मध्यनजर गर्दै चोरीको घटनालाई नियन्त्रण गर्न आफूहरुले छुट्टै शाखा खोलेर चोरीविरुद्ध विशेष अभियान नै सञ्चालन गरिरहेको बताउँछन् । उनले चोरीमा संलग्न हुने मान्छे धमाधम पक्राउ परिरहेको र अन्य व्यक्तिहरुको पनि खोजी जारी रहेको भन्दै गत वर्षको तुलनामा यसपटक चोरीको घटना केही कम भएको दाबी गर्छन् । तर अधिवक्ता अधिकारी भने चोरीको घटना पहिलाको भन्दा अहिले झन् बढिरहेको दाबी गर्छन् । उनका अनुसार पछिल्लो समय राजधानीमा संगठित चोरहरुको बलियो उपस्थिति रहेको र उनीहरु सक्रिय रुपमा आफ्नो गतिविधि सञ्चालन गरिरहेको पाइएको बताउँछन्।

संगठित चोर चक्रपथ एरियाका चाबहिल, गौशाला, तीनकुने, कोटेश्वरलगायतका सार्वजनिक यातयातमा बढी भिडभाड हुने ठाउँमा र भृकुटीमण्डप, न्युरोड, असन, जमललगायतका अति व्यस्त बजारमा सक्रिय रहेको अधिकारीको दाबी छ । उनका अनुसार चाडपर्वलाई लक्षित गरेर सक्रिय अवस्थामा रहेका चोरहरुलाई उनीहरुको नाइकेले तीनदेखि पाँच जनाको समूहमा एरिया तोकेर खटाउने गरेको पाइन्छ । उनीहरुले चोरीको सिलसिलामा जहिले पनि कोड भाषा प्रयोग गर्ने हुनाले सर्वसाधारणले उनीहरुमाथि शंका गर्ने सम्भावना कम हुन्छ।

नाइकेले चोरहरुको पनि ए, बि र सि भनेर वर्गिकरण गरेको हुन्छ । ए समूहका चोरहरु एकदम अनुभवी, चलाख र परिपक्व हुन्छन् । यिनीहरुको काम चोर्ने समान र व्यक्तिको पहिचान गर्ने, चोरीको योजना बनाउने र चोरी सुरु गर्ने अनुमति दिनु हो।

समूहका चोरहरु चाहिँ वास्तविक फिल्डमा खटिने चोर हुन् । यिनको काम गोजीमा हात हाल्ने, चोर्ने र आवश्यकता अनुसार लुटपाटमा समेत सक्रिय हुने हो । सि गे्रडका चोर चाही सिकारु चोर हुन् । यिनीहरुको काम हुलमुल र भिडभाडमा ठेलठाल गर्ने र बि समूहका चोरहरुलाई चोर्नका लागि अनुकूल वातावरण मिलाइदिने हो।

सार्वजनिक सवारी र मानिसको भिडभाड हुने व्यस्त सार्वजनिक ठाउँमा योजनाबद्ध ढंगले ठेलामठेल गर्दै सि समूहका सिकारु चोरहरुले मौका मिलाएपछि र ए समूहबाछ चोर्ने संकेत पाएपछि पाएपछि बि समूहको चोरले आफ्नो काम फत्ते गर्छन् र गायब हुन्छन् । चोरीबाट जोगिन सार्वजनिक सवारी र मानिसको भिडभाड हुने व्यस्त सार्वजनिक ठाउँमा मानिसहरुले विशेष सतर्कता अपनाउनुपर्ने अधिकारीको सुझाव छ।

अपराधशास्त्री अधिवक्ता डा. रमेश पराजुली चाडपर्वको नाममा तडकभडक देखाउने प्रवृत्ति र व्यक्तिको आपराधिक मनोवृत्तिले गर्दा चाडवार्डमा चोरीको घटना ह्वात्तै बढ्ने गरेको बताउँछन् । गरिबी, बेरोजगारी तथा अभावका बाबजुद अर्काको देखासिकी गर्दै धूमधामले चाडपर्व मनाउनुपर्ने सामाजिक बाध्यताका कारणले पनि मानिसहरु चोरीमा संलग्न हने गरेको अध्ययनले देखाएको उनी बताउँछन्।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी मोहन थापाका अनुसार काठमाडौंमा पछिल्लो महिना ४० वटा चोरीको घटनाको उजुरी परेको थियो । तर, दसैं नजिकिएसँगै यो महिना चोरीको उजुरी बढेर १ सय ६२ पुगेको छ । उनका अनुसार अहिले १ सय चोर पक्राउ परिसकेका छन् र त्यसमध्ये १० जना महिला रहेका छन्।

महानगरीय प्रहरी परिसरका अनुसार बालाजु, महाराजगञ्ज, चाबहिल, गौशालालगायतका चक्रपथ एरियामा सबैभन्दा बढी चोरी भएको देखिन्छ । त्यस्तै, भृकृटीमण्डप, असन, न्यूरोड, जमल, बानेश्वर, नयाँ बसपार्क, कलंकी, गौशालालगायतका फुटपाथ किनमेल स्थानमा पनि संगठित चोर सक्रिय रहेको र चोरीका घटना बढेको पाइएको छ।

बिहान अफिसको समयमा र बेलुकाको अफिस बिदा हुने समयमा चोरहरु सार्वजनिक सवारीमा योजनाबद्ध तरिकाले घुसपैठ गर्नेे भएकाले बालाजु, महाराजगञ्ज, चाबहिल, गौशालालगायतका क्षेत्रमा सार्वजनिक यातायात चढ्ने व्यक्तिहरुले विशेष ध्यान दिनुपर्ने बताउँछन्।

दसैंको किनमेल गर्न जाँदा धेरै पैसा नबोक्ने, बोक्नै परे पनि भित्री गोजीमा अथवा ब्यागको भित्रपट्टी राख्ने, पर्समा खुद्रा पैसा मात्र राख्ने, नगदको साटो चेक, एटिएम, मोबाइल बैंकिङ वा अन्य विद्युतीय भुक्तानी सेवा प्रयोग गर्ने तथा व्यस्त र भिडभाड हुने बजारमा व्यक्ति स्वयंले विशेष सतर्कता अपनाउन पनि ध्यान दिनुपर्ने उनीहरुको सुझाव छ।

अपराध महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक उप्रेतीले संगठित चोरहरुको निसानामा एकल व्यक्ति बढी पर्ने गरेकाले भिडभाड हुने स्थानमा जाँदा साथी लिएर जानुपर्ने र एकले अर्कोको निगरानी गर्नुपर्ने सुझाउँछन् । सार्वजनिक सवारीमा यात्रा गर्दा गोजीमा पर्स र पैसा बोक्नेभन्दा भित्री गोजीमा सुरक्षित ढंगले राख्नुुपर्ने ध्यानाकर्षण गराउँदै खासगरी महिलाहरूलाई अत्याधिक भिडभाड हुने स्थानमा जानुपरेमा सकेसम्म बहुमूल्य गरगहना लगाएर नजान उनले सचेत गराएका छन्।

प्रकाशित: ३० आश्विन २०७५ ०४:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App