१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

रसुवागढी अध्यागमन कार्यालयमा इम्मी प्रणाली जडान

रसुवा– चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा रहेको अध्यागमन कार्यालयमा इम्मी सफ्टवेयर जडान गरिएको छ। 

देशभर रहेका अध्यागमन कार्यालयको सुधार अन्तर्गत रसुवागढी अध्यागमनमा इम्मी सफ्टवेयर प्रणाली जडान गरिएको हो। केआइओएसके जडान गरिएसँगै विदेशी नागरिकले अनलाइन फर्म भर्न सक्ने भएका छन्।

भिसा नलिई नेपाल आएका विदेशीले केआइओएसके प्रणालीमार्फत भिसा एप्लिकेसन फर्म भर्ने छन्। अन्य नाका हुँदै वा त्रिभुवन विमानस्थलबाट नेपाल आएका विदेशी नागरिक यो नाका हुँदै जानका लागि समेत यसले सहयोग पुग्ने छ। नेपाल आएका विदेशी नागरिकको भिसा सकिएमा यो प्रणालीबाट म्याद थप गर्न सक्ने कार्यालयले जनाएको छ। 

आगामी १० दिनमा एमआरपी रिडेवल मेसिन राखिने अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले बताए। ‘हामीले देशका सबै अध्यागमनको सुधार गरिरहेका छौँ, उनले भने, पहिलो चरणमा कार्यालयहरूमा इम्मी प्रणाली जडान गर्दै छौं।’ 

सीमा नाकामा १३ वटा अध्यागमन कार्यालय रहेका छन्। ‘सुरुमा हामीले इम्मी सफ्टवेयर जडान गरिरहेका छौँ’, उनले भने, ‘यसको एडभान्स सफ्टवेयर निर्माण भइरहेको छ।’ प्रणाली जडान भएपछि काम छिटो हुनेछ। 

रसुवागढी नाकामा चिनियाँ तथा तेस्रो देशका विदेशी नागरिकको चाप बढ्दै गएपछि कार्यालयले सफ््टवेयर प्रणाली जडान गरेको अध्यागमन प्रमुख मनोज कुमार पोखरेलले बताए। प्रणाली जडान गरेपछि कालोसूचीमा परेका व्यक्ति नाकामा आवतजावत गर्न नसक्ने उनको भनाइ छ। 

प्रणालीमा राहदानी राखेपछि उसको इतिहास आउँछ। सेवा प्रवाहमा चुस्त हुने पोखरेलको भनाइ छ। अध्यागमन सम्बन्धी तथ्याङ्क विश्लेषण गर्न समेत यसले सहयोग पु-याउँछ। पछिल्लो समय यो नाका हुँदै मानसरोवर जाने तीर्थयात्री समेत बढ्दै गएका छन्। 

रसुवागढी नाका हुँदै एक हप्तामा करिव २ हजार ५ सय पर्यटक आवतजावत गर्ने गरेका छन्। सन् २०१६ देखि हालसम्म यो नाका हुँदै ३० हजारभन्दा बढी चिनियाँ तथा तेस्रो मुलुकका नागरिक नेपाल आएका छन्। चीनले अन्तर्राष्ट्रिय व्यापारिक नाका घोषणा गरेपछि ५२ वटा देशका नागरिक यो नाका हुँदै नेपाल प्रवेश गरेका छन्। 

अध्यागमन कार्यालयलाई आधुनिक बनाउन सकिएमा सीमा सुरक्षामा समेत सहयोग पुग्ने प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए। ‘चीनलगायत विभिन्न देशबाट पर्यटक आउने क्रम बढ्दै गएको छ’, प्रमुख जिल्ला अधिकारी पौडेलले भने, ‘प्रविधि जडानपश्चात कार्यालय र पर्यटक दुवैलाई फाइदा पुग्छ।’

चीनसँग सीमा जोडिएका सीमामध्ये हाल एक मात्रै नाका सञ्चालन भइरहेकाले अध्यागमन, भन्सार, क्वारेनटाइनलाई व्यवस्थित र प्रविधियुक्त बनाउनुपर्ने उनको भनाइ थियो। जिल्ला प्रशासन कार्यालयले निर्माण गरेको ७१ बुँदे कार्यायोजनामा अध्यागमन प्रशासनको आधुनिकीकरण गर्ने उल्लेख छ।

प्रकाशित: २३ आश्विन २०७५ १२:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App