१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिका–उत्तर कोरिया शिखर सम्मेलनमा सहमति

उत्तर कोरियाली नेता किम जोङ–उन (बायाँ)सँग अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ। तस्बिर : एजेन्सी

सोल – अमेरिका र उत्तर कोरियाबीच दोस्रो शिखर सम्मेलन यथासक्य चाँडो आयोजना गर्नेबारे उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उन र अमेरिकी विदेशमन्त्री माइक पोम्पेओबीच सहमति भएको दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयले आइतबार जनाएको छ।

दुई नेताबीच उत्तर कोरियाका आणविक केन्द्रहरुको सम्भावित अमेरिकी निरीक्षणबारे पनि छलफल भएको बताइएको छ।

अमेरिकी विदेशमन्त्री पोम्पेओको छोटो प्योङयाङ भ्रमणका क्रममा उत्तर कोरियाली नेता किमसँग तीन घण्टाभन्दा लामो बैठक भएको थियो । किमसँग भेट गरेपछि दक्षिण कोरिया पुगेका पोम्पेओले दक्षिण कोरियाली राजधानी सोलमा राष्ट्रपति मुन जाय–इनसँग गरेको भेट गरेका थिए।

भेटवार्ताका क्रममा पोम्पेओले दक्षिण कोरियाली राष्ट्रपति मुनलाई किमसँग उत्तर कोरियाको आणविक निःशस्त्रीकरणको प्रक्रिया र त्यसमा अमेरिकी निरीक्षणबारे छलफल भएको बताएका थिए । अमेरिकाले लामो समयदेखि उत्तर कोरियाको निःशस्त्रीकरणको माग गर्दै सो कार्यमा वासिङ्टनको सहभागिता हुनुपर्ने बताउँदै आएको छ । दक्षिण कोरियाली राष्ट्रपति मुन जाय–इनका प्रेस सेक्रेटरी युन योङ–चानका अनुसार पोम्पेओले उत्तर कोरियाले आणविक परीक्षण केन्द्र ध्वस्त गर्ने र सो कार्यमा अमेरिकालाई सहभागी बनायो भने त्यसको बदलामा अमेरिकाले उत्तर कोरियाप्रति गर्ने व्यवहारबारे पनि सल्लाह भएको बताएका छन्।

पोम्पेओ र किमबीच आणविक निःशस्त्रीकरण प्रक्रियाबारे छलफल गर्न कार्य समूह बनाउने पनि सहमति भएको दक्षिण कोरियाली राष्ट्रपति कार्यालयलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उत्तर कोरियाली नेता किमले गत महिना लेखेको पत्रमा त्यस्तो कार्य समिति बनाउने उल्लेख गरिएको थियो।

‘अमेरिकी विदेशमन्त्री पोम्पेओ र अध्यक्ष किमले अमेरिका र उत्तर कोरियाबीच यथासक्य चाँडो दोस्रो शिखर बैठक गर्नेबारे सहमति गरेका छन्,’ दक्षिण कोरियाली राष्ट्रपतिका प्रेस सेक्रेटरी युनले जारी गरेको विज्ञप्ति उद्धृत गर्दै रोयटर्सले जनाएको छ।

‘दोस्रो शिखर सम्मेलनको मिति र स्थानबारे छलफललाई निरन्तरता दिने विषयमा पनि दुई पक्षबीच सहमति भएको छ,’ विज्ञप्तिमा भनिएको छ । उत्तर कोरिया र अमेरिकाबीच दोस्रो शिखर बैठक हुनेमा दक्षिण कोरिया बढी आशावादी देखिए पनि अमेरिकी विदेशमन्त्री पोम्पेओ भने अझै ढुक्क नदेखिएको रोयटर्सले जनाएको छ । पोम्पेओले आफ्नो चौथो एवं पछिल्लो उत्तर कोरिया भ्रमण प्योङयाङको आणविक निःशस्त्रीकरणका लागि अर्को कदम भएको र त्यसले सर्वोच्च नेता किमसँग राम्रो र उत्पादनमूलक वार्ता भएको भए पनि अझै थुप्रै काम गर्न बाँकी रहेको बताएका छन्।

‘राष्ट्रपति ट्रम्पले भने जस्तै उत्तर कोरियासँग थुप्रै चरणमध्येको आज एउटा काम गरिएको छ,’ पोम्पेओले दक्षिण कोरियाली राष्ट्रपति मुनलाई बताए । ‘यो अर्को कदम हो । त्यसैले यो हामी सबैका लागि राम्रो नतिजा हो,’ पोम्पेओले दक्षिण कोरियाली राष्ट्रपति मुनसँगको भेटमा भनेको विषय उद्धृत गर्दै रोयटर्सले जनाएको छ।

पोम्पेओको उत्तर कोरिया भ्रमण र किम र ट्रम्पबीचको प्रस्तावित दोस्रो शिखर बैठकले उत्तर कोरियाको आणविक निःशस्त्रीकरणतर्फ ठोस प्रगति हुने र कोरियाली प्रायद्वीपको शान्ति प्रक्रिया अगाडी बढ्ने विश्वास पोम्पेओसँगको भेटमा दक्षिण कोरियाली राष्ट्रपति मुनले बताए । मुनले गत महिना उत्तर कोरियाली राजधानी प्योङयाङमा किमसँग तेस्रो शिखर बैठक गरेका थिए । पोम्पेओको प्योङयाङ भ्रमणलाई अमेरिकी राष्ट्रपति ट्रम्पले रद्द गरिदिएपछि अमेरिका र उत्तर कोरियबीच बढेको दूरीलाई नजिक ल्याउन मुनको सो भ्रमण केन्द्रित रहेको थियो। जुन १२ मा सिंगापुरमा बहालवाला अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली सर्वोच्च नेताबीच भएको ऐतिहासिक शिखर बैठकका बेला नेता किमले कोरियाली प्रायद्वीपलाई आणविक निःशस्त्रीकरण गर्नेतर्फ अमेरिकासँग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। यद्यपि सो शिखर बैठकमा सो प्रक्रिया कहिले र कसरी गर्ने भन्नेबारे भने केही उल्लेख गरिएको थिएन।

ट्रम्प र किमबीचको शिखर बैठकपछि उत्तर कोरियाले आफ्नो आणविक परीक्षण केन्द्र ध्वस्त गरेको बताएको थियो। यद्यपि उत्तर कोरियाको कदम सन्तोषजनक नभएको भन्दै वासिङ्टनले असन्तुष्टि व्यक्त गरेको थियो। उता, उत्तर कोरियाले भने अमेरिकालगायत पश्चिमा राष्ट्रले आफूविरुद्ध लगाएको प्रतिबन्ध फुकुवा गर्नुपर्ने माग अघि सारेपछि वासिङ्टन र प्योङयाङबीच सम्बन्धमा चिसोपना सुरु भएको थियो । तर दक्षिण कोरियाली राष्ट्रपति मुनले गत महिना गरेको प्योङयाङ भ्रमणको सन्देश ह्वाइट हाउससम्म पु-याएपछि ट्रम्पले उत्तर कोरियासँग चाँडै नै दोस्रो शिखर बैठक हुने र त्यसको तयारीमा विदेशमन्त्री पोम्पेओ लाग्ने बताएका थिए । गत महिना दक्षिण कोरियाली राष्ट्रपति मुनसँग भएको भेटवार्तामा उत्तर कोरियाली नेता किमले आफ्नो देशको प्रमुख क्षेप्यास्त्र केन्द्रको अनुगमन गर्न दिने प्रतिबद्धता व्यक्त गरेका थिए।

पोम्पेओको उत्तर कोरिया भ्रमणलाई वासिङ्टन र प्योङयाङबीच रोकिराखेको आणविक वार्ता अघि बढ्ने विश्वास व्यक्त गरिएको छ।

प्रकाशित: २२ आश्विन २०७५ ०२:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App