१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

एट्लेटिको पहिलो जितलाई व्यग्र

मड्रिड–एट्लेटिको मड्रिड बिहीबार ला लिगामा बार्सिलोनाविरुद्ध खेल्दा २००६ पछि नोउ क्याम्पमा पहिलो जित निकाल्ने प्रयासमा हुनेछ ।
बार्सिलोनाविरुद्ध एट्लेटिकोले घरेलु मैदानमा सुखद नतिजा निकाले पनि नोउ क्याम्पमा राम्रो गर्न सकेको छैन । २०१३÷१४ को च्याम्पियन्स लिग क्वार्टरफाइनलमा एट्लेटिकोले बार्सिलोनालाई घरेलु मैदानमा पराजित गरेको थियो । गत सिजन पनि बार्सिलोना एट्लेटिकोसँग क्वार्टरफाइनलमा पराजित भएपछि प्रतियोगिताबाट बाहिरिएको हो । तर अर्जेन्टिनी प्रशिक्षक डिएगो सिमोनीले क्याटलन राजधानीमा अहिलेसम्म जितको स्वाद लिन पाएका छैनन् ।

‘हामीले बार्सिलोनाको घरेलु मेदानमा जित निकाल्न सकेका छैनौं । हामीले केही खेल बराबरी गरेका छौं तर ९० मिनेटभित्र जित्न सकेका छैनौं,’ एट्लेटिको प्रशिक्षक सिमोनीले भने, ‘बार्सिलोना उत्कृष्ट टोली हो त्यसमा दुईमत छैन । उनीहरूका प्रत्येक खेलाडी राम्रो र संगठित रूपमा पनि उत्कृष्ट छन् । तर के सत्य हो भने यसका बाबजुद पनि गत सिजन उनीहरूले च्याम्पियन्स लिग जित्न सकेनन् ।’

एट्लेटिकोले पहिलो दुई लिग खेलमा नवप्रवेशी क्लब अल्भेस र लेगान्ससँग बराबरी खेले पनि पछिल्लो दुई खेलमा उत्कृष्ट प्रदर्शन गरेको छ । शनिबार स्पोर्टिङ गिजोनमाथि ५–० को जित निकालेको एट्लेटिकोले त्यसअघि सेल्टाभिगोलाई ४–० ले पराजित गरेको थियो ।
‘पछिल्लो खेलको प्रदर्शनलाई निरन्तरता दिनुपर्छ,’ एट्लेटिकोका रक्षक डिएगो गोडिनले भने, ‘हामी उत्कृष्ट प्रतिद्वन्द्वीविरुद्ध खेल्दैछौं । उनीहरू धेरै कठिन टाली हो, विशेषगरी उनीहरूको घरेलु मैदानमा । हामी सबैलाई उनीहरूको क्षमताबारे राम्रो थाहा छ, जुन उनीहरूले प्रमाणित पनि गरिरहेका छन् ।’

बार्सिलोनाविरुद्धको नोउ क्याम्पमा भएको पछिल्लो ८ खेलमध्ये ५ खेलमा एट्लेटिको पराजित भएको छ भने ३ खेल बराबरीमा टुंग्याएको छ । लिगमा सबैभन्दा कम १ गोल खाएको एट्लेटिको र १३ गोल गरिसकेको बार्सिलोनाको आक्रमणविरुद्ध प्रतिस्पर्धा हुनेछ ।

घरेलु मैदानमा अल्भेससँग आश्चर्यजनक रूपमा २–१ ले हारेको क्याटलन क्लबले उत्कृष्ट पुनरागमन गरिसकेको छ । त्यसयता बार्सिलोनाले च्याम्पियन्स लिगमा सेल्टिकलाई ७–० ले पराजित गरेको थियो भने शनिबार लिग खेलमा लेगान्समाथि ५–१ को जित निकालेको थियो ।
रियाल मड्रिडले आइतबार घरेलु मैदानमा स्पान्योललाई २–० ले हराउँदै लिगमा लगातार १६ खेलमा जित निकालेको छ । जुन २०१०÷११ सिजनमा बार्सिलोनाले बनाएको कीर्तिमानसँग बराबरी हो । चौथो चरणको खेल सकिँदा रियाल १२ अंकसाथ शीर्ष स्थानमा छ भने बार्सिलोना ९ अंकसाथ दोस्रो स्थानमा छ । ८ अंक बटुलेको एट्लेटिको चौथो स्थानमा छ ।

 

प्रकाशित: ५ आश्विन २०७३ ०२:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App