१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

नोट छपाइमा लागत घट्यो, सुरक्षण बढ्यो

काठमाडौं–नेपाल राष्ट्र बैंकले अघिल्लोपटकको तुलनामा यसपटक सस्तो दरमा नोट छापेको छ । डलरको मूल्य उकालो लागेको र नेपाली रुपैयाँको अवमूल्यन भएको समयमा पनि सस्तो दरमा नोट छाप्नुलाई उसले सफलता भनेको छ । राष्ट्र बैंकले सन २०१५ र २०१६ मा अघिल्लोपटकको तुलनामा नोट छपाइमा ८७ करोड ६९ लाख बचत गरेको जनाएको छ । सन् २०१५ र २०१६ मा बैंकद्वारा विभिन्न दरका १०३ करोड थान नोट छापिएका छन्् । यस समयमा छापिएका सबै दरका नोटको प्रतिएकाइ खर्च अघिल्लो पटकभन्दा कम छन् ।

अघिल्लोपटकको तुलनामा प्रतिएकाइ खर्चमा भएको कटौती हिसाब गर्दा सन् २०१५ र २०१६ मा छापिएका १०३ करोड थान नोटमा बैंकले ८७.६९ करोड रुपैयाँ बचत गरेको छ । सन् २०१२–२०१४ मा अमेरिकी डलरको तुलनामा १९.९८ प्रतिशतले नेपाली मुद्रा अवमूल्यन भएको छ । अमेरिकी डलरको विनिमय दर बढ्दै गएको र नेपाली रुपैयाँ कमजोर हुँदै गएकोे अवस्थामा पनि सस्तो दरमा नेपाली नोट छाप्नुलाई केन्द्रीय बैंकले उपलब्धिका रुपमा लिएको छ ।

सन् २००५ देखि २०१६ सम्म नेपाली मुद्रा मुख्य विदेशी मुद्राको तुलनामा अवमूल्यन भएको छ । सन् २०१२, १३, १४ को औसत विनिमय दर १ अमेरिकी डलर बराबर ८८.८३ रुपैयाँ थियो । हाल उक्त दर १०६ रुपैयाँ हाराहारी छ ।

राष्ट्र बैंकको इतिहासमा यो निकै ठूलो उपलब्धि भएको गभर्नर चिरञ्जीवी नेपालले बताए । ‘डलर बढेर १०६ पुगेको छ । कागजको मूल्य बढेको छ,’ उनले भने, ‘यस्तोमा पनि हामीले निकै सस्तोमा नोट छापेर अघिल्लो वर्षको तुलनामा ८७ करोड रुपैयाँ बचत गरेको छौं ।’
नेपाली रुपैयाँको अवमूल्यन र मुद्रास्फीति समेतलाई ध्यानमा राखेर हेर्दा सन् २०१५ र २०१६ मा भएका नोट छपाइका काम आर्थिक हिसाबले प्रभावकारी एवं मितव्ययी देखिएको राष्ट्र बैंकको भनाइ छ ।

सन् २०१६ मा एक हजार दरको नोट छपाउँदा अघिल्लोपटक सन् २०१४ को तुलनामा ५१.५३ प्रतिशत प्रतिएकाइ बचत भएको राष्ट्र बैंकको भनाइ छ । सन् २००५–२०१४ मा एक हजार दरको नोट छपाउँदा भएको औसत प्रतिएकाइ खर्चको तुलनामा सन् २०१६ मा सोही दरको नोट छपाउँदा ३८.११ प्रतिशत प्रतिएकाइ बचत भएको पनि केन्द्रीय बैंकको भनाइ छ ।

यसैगरी, सन् २०१६ मा २० रुपैयाँ दरको नोट छपाउँदा सन् २०१३ को तुलनामा प्रतिएकाइ ४७.१४ प्रतिशत बचत गरेको छ । सन् २००५–२०१४ मा ५० रुपैयाँ दरको नोट छपाउँदा भएको औसत प्रतिएकाइ खर्चको तुलनामा सन् २०१५ मा सोही दरको नोट छपाउँदा २१.५९ प्रतिशत प्रतिएकाइ बचत भएको केन्द्रीय बैंकको भनाइ छ ।

बैंकले नोट छपाइमा लागत कम गरेको छ भने सुरक्षणका विशेषता बढाएको छ । नक्कली नोटको बिगबिगी बढेपछि सुरक्षणका विशेषता बढाउनु परेको उसले बताएको छ । सन् २०१५ र २०१६ मा छापिएका एक हजार, पाँच सय र सय दरका नोटमा सुरक्षण विशेषता थपेको छ ।
राष्ट्र बैंकको विज्ञप्तिमा मुद्रा छपाइ खर्चमा मितव्ययिता अपनाएको उल्लेख छ । उसले सन् २०१५ र २०१६ मा २०, ५०, १००, ५०० र १००० रुपैयाँ दरका नयाँ नोट छपाएको छ ।
‘बैंकले यस अवधिमा विभिन्न दरका नोट छपाउने क्रममा गरेको खर्चको विगतमा सोही कार्यमा गरिएका खर्चको आधारमा समीक्षा गर्दा पछिल्ला वर्षमा नोट छपाइमा हासिल गर्न सकेको मितव्ययिताको झलक देख्न सकिन्छ,’ जारी विज्ञप्तिमा भनिएको छ, ‘अझ यस अवधिमा भएको नेपाली रुपैयाँको अवमूल्यन र मुद्रास्फीति समेतलाई मध्यनजर गरी हेर्ने हो भने सन् २०१५ र २०१६ मा बैंकले नोट छपाउने कार्यमा गरेको आर्थिक बचतलाई उल्लेखनीय उपलब्धिको रुपमा लिन सकिन्छ ।’
 

प्रकाशित: ५ आश्विन २०७३ ०२:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App