१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

नेपोलीका खेलाडी लुटिए

नाप्लेस – लिभरपुलविरुद्धको खेलपछि घर फर्किने क्रममा नेपोलीका स्ट्राइकर आर्काडुइस मिलिकलाई लुटेराले बन्दुक देखाउँदै लुटेको इटालीको पुलिसले बिहीबार बताएको छ। 

नेपोलीको घरेलु मैदान नाप्लेजबाट २० किलोमिटर पश्चिममा भारकाटुरोमा बस्दै आएका २४ वर्षे मिलिक रातिको २ बजे निजी कारमा घर फर्किने क्रममा मोटरसाइकलमा आएका लुटेराले बाटो छेकेका थिए। 

अनुहार हेलमेटले छेकेका आक्रमणकारीले मिलिकलाई कार रोक्न भन्दै बन्दुक देखाएर घडी उतार्न लगाएका थिए । रोलेक्स डायटोन लगाएको उनको घडीको बजार मूल्य ७ हजार युरो  पर्दछ । त्यसपछि लुटेरा भागेको इटालियन पुलिसले बताएको छ। 

लुटेरा भागेपछि सम्हालिएका मिलिकले लगत्तै नजिकैको पुलिस स्टेसनमा आपराधिक घटना भएको भन्दै उजुरी दिएका थिए । व्यावसायिक खेलाडीलाई इटालीमा छिटफुट आक्रमण हुने गरेको छ । चार वर्षअघि इटालीका अन्तर्राष्ट्रिय खेलाडी लोरेन्जो इनसिग्नेबाट लुटेराले गहना, पैसा र केही सामान लुटेका थिए।

यस्तै क्लबबाट खेल्दै आएका स्लोभाकियन कप्तान मारिक हामसिकलाई पनि केही वर्षअघि लुटेराले बन्दुक देखाउँदै लुटेका थिए । च्याम्पियन्स लिगअन्तर्गत समूह ‘सी’ को खेलमा साबिकको उपविजेता लिभरपुलविरुद्ध अन्तिम मिनेटमा गोल गर्दै नेपोलीले १–० को जित निकाल्न सफल भएको थियो। 

 

प्रकाशित: २१ आश्विन २०७५ ०४:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App