१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

अनियमितता गर्ने प्रअको सुविधा रोकियो

सर्लाहीको बरहथवा नगरपालिका–१० स्थित श्री प्रावि भगवानपुर। तस्बिर : टंक/नागरिक

सर्लाही - जिल्लाको दक्षिणी क्षेत्रस्थित एक विद्यालयका प्रधानाध्यापकले बालविकास केन्द्रको शिक्षिकामा आफ्नै छोरीलाई नियुक्त गरी लामो समयदेखि घरमै हाजिर गराएर तलब खुवाएको समाचार नागरिक दैनिकमा प्रकाशित भएपछि नगरपालिका कार्यालयले प्रअ र उनकी छोरीको सेवासुविधा रोकेको छ। बरहथवा नगरपालिका–१०, भगवानपुरस्थित श्री प्राविका प्रअ महेन्द्रराय यादव र उनकी छोरी गीताञ्जली यादवको सम्पूर्ण सेवासुविधा बरहथवा नगरपालिका कार्यालयले रोकेको हो। प्रअ यादव र उनकी छोरी गीताञ्जलीको तलबभत्ता रोकिएको बरहथवा नगरपालिका शिक्षा शाखा प्रमुख दिनेश रायले जानकारी दिए।

‘छोरीलाई घरमै राखेर हाजिर गराई तलब खुवाएको र अन्य अनियमिततासमेत गरेको समाचार आएपछि हामीले प्रधानाध्यापक र उहाकी छोरीको तलब रोकेका छौं,’ शिक्षा शाखा प्रमुख रायले भने, ‘छानबिन प्रक्रियासमेत अगाडि बढाएका छौं।’ अभिभावकबाट पटकपटक गुनासो आएपछि नगरपालिकामा उपस्थित हुन पत्र पठाए पनि प्रधानाध्यापक यादवले कुनै सुनुवाइ नगरेको र बाध्य भएर तलबभत्ता रोक्नुपरेको रायले बताए।

गीताञ्जली कहिलेकाहीँमात्र विद्यालय आउने र अधिकांश समय घरमै बस्ने गरेको तर तलब भने खाइरहेको अभिभावक तथा अध्ययनरत विद्यार्थीको गुनासो छ। प्रअ यादवले छोरीलाई घरमै राखेर हाजिर गराउने गरेको तथा भौतिक पूर्वाधार निर्माणको बजेटसमेत हिनामिना गरेको गत जेठमा निर्वाचित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामहरेश साहसहित समितिका सबै पदाधिकारीले आरोप लगाउँदै आएका छन्।

त्यस्तै जिल्ला शिक्षा कार्यालयबाट आएको कम्प्युटर घरमै राखेर दुरुपयोग गरेको उनीहरूको आरोप छ। ‘प्रअज्यूले आप्mनो छोरीलाई घरमै हाजिर गराएर तलब खुवाउने गरेका छन्,’ व्यवस्थापन समिति अध्यक्ष साहले भने, ‘त्यस्तै कम्पाउन्ड वाल निर्माणको बजेट तथा जिल्ला शिक्षा कार्यालयबाट प्राप्त कम्प्युटरसमेत घरमै राखेर दुरुपयोग गरेका छन्।’ एकडेढ महिनामा घरमै हाजिरी रजिस्टर लिएर जाने र आफ्नै छोरी बालविकास केन्द्रकी शिक्षिका गीताञ्जलीको हाजिरी गराउने गरेको सोही विद्यालयमा कार्यरत राहत शिक्षक सोनेलाल साहले जानकारी दिए।

प्रअ यादवको अनियमितताविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल तथा बर्दिवासस्थित सम्पर्क कार्यालय, जिल्ला प्रशासन कार्यालय र शिक्षा कार्यालयमा वर्षौंदेखि लिखित तथा मौखिक उजुरी गर्दागर्दै आफूहरू थाकेको तर कुनै सुनुवाइ नभएको व्यवस्थापन समिति अध्यक्ष साहले गुनासो गरे। ‘अख्तियार र जिल्ला प्रशासन कार्यालयमा समेत पटकपटक उजुरी ग-यौं,’ उनले भने, ‘तर, कुनै सुनुवाइ भएन।’

यता प्रधानाध्यापक यादवले भने व्यवस्थापन समितिका अध्यक्ष साहले आफ्नो विरोध गर्दै आइरहेको तर आफूले कुनै गल्ती नगरेको दाबी गरे। ‘मेरी छोरी विज्ञापन प्रकाशित गरेरै भएको खुला प्रतिस्पर्धाबाट बालविकास केन्द्रको शिक्षिकामा २०६५ साउन ९ मा नियुक्ति पाएकी हुन् र निरन्तर विद्यालयमा पढाउँदै आइरहेकी छिन्,’ उनले भने, ‘मेरो ज्वाइँ जापानमा हुनुहुन्छ र छोरी पनि कात्तिकसम्ममा जापान जाने प्रक्रियामा रहेकाले हाल बिरामी बिदामा बसेर जापानिज भाषा सिक्दैछिन्, कात्तिकमा राजीनामा गरेर जापान जाँदैछिन्।’

१० वर्षअघि आएको कम्प्युटर थोत्रो भइसकेको भन्दै उनले विद्यालयमा झ्यालढोका नभएकाले कम्प्युटर घरमै राखेको र कम्पाउन्ड वालका लागि आएको रकममध्ये व्यवस्थापन समितिका पूर्वअध्यक्षले पेस्की लिएर काम नगरेको उनको दाबी थियो।

बरहथवा नगरपालिकाका मेयर देवानन्द महतोले शिक्षा शाखाबाट प्रअ यादव र उनकी छोरीको तलबभत्ता रोक्ने प्रक्रिया अगाडि बढेको जानकारी दिए। ‘प्रअविरुद्ध निकै गुनासो आएको छ,’ मेयर महतोले भने, ‘अब छानबिन गरेर कारबाही प्रक्रिया अगाडि बढाउँछौं।’

प्रकाशित: २१ आश्विन २०७५ ०२:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App