१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिका र क्यानडाबीच नयाँ व्यापार सम्झौता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प (बाँया) र क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो। फाइल तस्बिर : एजेन्सी

वासिङ्टन – क्यानडा र संयुक्त राज्य अमेरिकाका व्यापार मध्यस्थकर्ताबीच बहुचर्चित उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौता (नाफ्टा)मा आवश्यक परिमार्जनसहित प्रतिस्थापन गर्ने सहमति भएको छ।

दुवै देशका सरकारका तर्फबाट जारी विज्ञप्तिमा अब नयाँ सम्झौताको नाम संयुक्त राज्य अमेरिका–मेक्सिको–क्यानडा सम्झौता (युएसएमसिए) हुनेछ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करिब २५ वर्षअघि सम्पन्न नाफ्टा सम्झौता रद्द गर्ने पटकपटक चेतावनी दिँदै आएका थिए । नाफ्टालाई प्रतिस्थापन गरिएको नयाँ सम्झौताबाट स्वतन्त्र बजारलाई थप बढावा दिने, स्वच्छ व्यापार हुने तथा क्षेत्रमै बलियो आर्थिक वृद्धि हुने संयुक्त वक्तव्यमा अपेक्षा गरिएको छ । उक्त संयुक्त वक्तव्य अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटिजर र क्यानडाका विदेशमन्त्री क्रिस्टिया फ्रील्यान्डले जारी गरेका हुन् । एक वर्षभन्दा बढी समयदेखि चलेको वार्ता तथा छ सातादेखिको तीब्र छलफलपछि अमेरिका र क्यानडाबीचको आपसी मतान्तर सुल्झाउने विषयमा सहमति भएको हो । यो नयाँ सम्झौताबाट यस क्षेत्रमा बसोबास गर्ने करिब ५० करोड जनतालाई फाइदा पुग्ने तथा प्रतिवर्ष करिब १० खर्ब अमेरिकी डलरको व्यापार हुने बताइएको छ।

नयाँ सम्झौताअनुसार क्यानडाले आफ्नो दूग्धजन्य बजार अमेरिकाका लागि थप खुला गर्नेछ तर क्यानडाले माग गरिरहेको विवाद निरुपण प्रावधानलाई अमेरिकाले परिवर्तन गर्ने छैन । यो सहमतिसँगै मेक्सिकोका राष्ट्रपति एन्रिक पिना निटोको कार्यकाल आगामी डिसेम्बर १ तारिखमा सकिनु अगावै सम्झौतामा हस्ताक्षर हुने वातावरण तयार भएको छ । अमेरिकी कानुन मुताबिक यो सम्झौताको कागजातमा हस्ताक्षर हुनु ६० दिन अघि अमेरिकी संस्दमा प्रस्तुत गर्नुपर्दछ । संयुक्त राज्य अमेरिका र मेक्सिकोबीच नाफ्टालाई नयाँ स्वरुपमा अगाडि बढाउने विषयमा गत अगस्टमै सहमति भइसकेको छ । त्यसयता क्यानडाका व्यापार मध्यस्थकर्ता लगातार अमेरिकाको वासिङ्टनमा रहेर विवादित विषयमा छलफल गरिरहेका थिए । ट्रम्पले क्यानाडाली अधिकारीको व्यवहारका बारेमा निरन्तर असन्तोष प्रकट गरिरहेका छन् र पछिल्लोपटक क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोसँग भेट्न समेत राष्ट्रपति ट्रम्पले अस्वीकार गरेका थिए । तर क्यानडाका अधिकारीले दुई नेताबीच भेटघाटको कुनै कार्यक्रम नै नरहेको भन्दै बचाउमा वक्तव्य दिएका थिए।

अमेरिकी प्रशासनका एक उच्च अधिकारीले पछिल्लो कदम अत्यन्त सकारात्मक रहेको बताउँदै यो सम्झौता संयुक्त राज्य अमेरिका, मेक्सिको र क्यानडा तीनै देशका लागि जित भएको जानकारी दिएका छन् । नयाँ सम्झौतामा कामदारको पक्षमा बलियो संरक्षण रहेको, वातावरणीय नियम कडा बनाइएको तथा डिजिटल अर्थतन्त्रलाई पनि यसपटक समावेश गरिएको छ । साथै, बौद्धिक सम्पत्तिको संरक्षणमा बलियो आधार तयार पारिएको छ । यसबाहेक, व्यापार कानुनको कार्यान्वयनमा बदमासी गर्न नपाइने प्रावधान राखिएको तथा ड्यूटी–फ्री बजारको फाइदा लिनबाट अरु मुलुकलाई नियन्त्रण गर्ने प्रयास यसपटक गरिएको छ, अमेरिकी अधिकारीको भनाइ छ।

नयाँ सम्झौताले कारमाथि लगाइने भनिएको २५ प्रतिशत कर मेक्सिको र क्यानडाका हकमा लागू नहुने व्यवस्था गरेको छ तर स्टील र आल्मुनियममा वृद्धि गरिएको करका विषयमा भने अलग्गै वार्ता हुने बताइएको छ।

प्रकाशित: १६ आश्विन २०७५ ०५:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App