१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

वाणिज्य बैंकको कर्जा लगानी दैनिक डेढ अर्ब

काठमाडौं - लगानीयोग्य पुँजी (तरलता) केही सहज भएपछि बैंकहरुले दैनिक औसत डेढ अर्ब रुपैयाँ कर्जा लगानी गर्न थालेका छन्।

सञ्चालनमा रहेका २८ वाणिज्य बैंकले चालु आर्थिक वर्षको दुई महिनामा ९० अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्। दैनिक हिसावमा यो डेढ अर्ब लगानी हो।

गत आर्थिक वर्षको अन्त्यमा बैंकिङ प्रणालीमा सरकारले खर्च गरेको रकम आएपछि बैंकहरुले आक्रामक रुपमा कर्जा लगानी गर्न थालेका हुन्।

कर्जाको तुलनामा निक्षेप संकलन भने यो अवधिमा ज्यादै कम मात्र भएको छ । चालु आर्थिक वर्षको दुई महिनामा ५२ करोड रुपैयाँ मात्र निक्षेप संकलन गरेका छन्।

दुर्इ महिनाकाे तस्बिर
– साउन ४ देखि असोज ५ गतेसम्ममा ९० अर्ब रुपैयाँ कर्जा लगानी
– निक्षेपको तुलनामा बैंकहरुको कर्जा लगानी करिब दुई सय प्रतिशत बढी
– सरकारी ढुकुटीको पैसा खर्च नभए पुस १५ देखि तरलता अभाव चर्किने

निक्षेपको तुलनामा बैंकहरुको कर्जा लगानी करिब दुई सय प्रतिशत बढी देखिन्छ । अघिल्लो वर्ष पनि आक्रामक रुपमा लगानी गरेका कारण बैंकहरुले तरलता अभाव झेल्नुपरेको थियो । यो वर्ष पनि सरकारको ढुकुटीमा रहेको रकम खर्च नहुने हो भने पुस १५ देखि लगानीयोग्य पुँजीको अभाव हुने सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल बताउँछन्। ‘अहिले सरकारी ढुकुटीमा दुई सय अर्ब (दुई खर्ब) रकम छ,’ उनले नागरिकसँग भने, ‘त्यो खर्च नहुने हो भने पुस १५ देखि बैंकमा लगानी गर्ने रकम हुने छैन।’

नेपाल बैंकर्स संघको पछिल्लो तथ्यांक अनुसार चालु आर्थिक वर्ष ०७५÷७६ को ४ साउनसम्म बैंकहरुले २४ खर्ब ५४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए । असोज ५ सम्ममा निक्षेप संकलन बढाएर २५ खर्ब १२ अर्ब पु-याएका छन्। गत साउन ४ गतेसम्म २० खर्ब ९९ अर्ब लगानी गरेका उनीहरुले असोज ५ सम्ममा २१ खर्ब ८९ अर्ब लगानी पु-याएका छन्।

यो तथ्यांकले निक्षेप संकलनको तुलनामा कर्जा बढी प्रवाह बढी भएको देखाउँछ । यस्तै तरिकाले लगानी मात्रै बढदै जाने हो भने बैंकहरुमा लगानीयोग्य पुँजी अभाव हुने निश्चित जस्तै देखिन्छ। गत वर्ष पनि आक्रमक तरिकाले वाणिज्य बैंकहरुले लगानी गर्दा करिब ६ महिना लगानीयोग्य पुँजी अभाव भएको थियो। निक्षेप संकलनको तुलनामा कर्जा बढी लगानी गरेको कारण लगानीयोग्य पुँजी अभाव भएको आरोप बैंकहरुलाई लाग्दै आएको छ। यो वर्ष पनि त्यही आरोप लाग्ने निश्चित जस्तै देखिएको छ।

चालु आर्थिक वर्ष सुरु भएदेखि नै बैंकहरुले लगानी बढाउन थालेको देखिन्छ। सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत दाहाल भन्छन्, ‘गत आर्थिक वर्षको अन्त्यमा सरकारले पुँजीगत खर्च बढाएका कारण लगानीयोग्य पुँजी बैंकिङ प्रणालीमा आएकाले लगानी बढाउन सहज भएको हो। असारमा आएको रकमले बैंकलाई ऋण लगानी गर्न सजिलो बनायो।’

सरकारले गत आर्थिक वर्षको अन्तिम २५ दिनमा एक खर्ब ६३ अर्ब रुपैयाँ बजेट खर्च गरेको थियो। असारमा सरकारले खर्च गरेको रकम बैंकिङ प्रणालीमा आएकाले आजसम्म लगानीयोग्य पुँजीको अभाव नभएको दाहालको भनाइ छ।

अहिले बैंकहरुसँग करिब एक खर्ब लगानीयोग्य पुँजी भएको बैंकर बताउँछन् । ‘बैंकहरु पुससम्म ऋण दिन सक्ने अवस्थामा पुगेका छन्,’ एक बैंकरले भने, ‘औसतमा बैंकको कर्जा–पुँजी–निक्षेप अनुपात (सिसिडी रेसियो¬) ७६  प्रतिशत छ।’

बैंकहरुले सिसिडी रेसियोको ८० प्रतिशतसम्म लगानी गर्न पाउँछन्। त्योभन्दा माथि पु-याए नेपाल राष्ट्र बैंकले कारबाही गर्छ । ८० प्रतिशतमा पु¥याउँदा एक खर्ब लगानीयोग्य रकम आउँछ।

‘सिसिडी रेसियो अहिलेको बाट दुई प्रतिशत बिन्दुले बढाएर ७८ प्रतिशत पु-याउँदा मात्र पनि ५०–६० अर्ब रुपैयाँ लगानीयोग्य पैसा बैंकहरुसँग हुन्छ,’ दाहालले भने, ‘यो रकमले बैंकहरुलाई पुससम्म लगानी गर्न पुग्छ।’

सरकारले आर्थिक वर्षको अन्त्यमा मात्र खर्च गर्ने तरिका अन्त्य नगर्ने हो भने पुसपछि लगानीयोग्य रकमको अभाव हुने निश्चित भएको बैंकर बताउँछन्। ‘सरकारले खर्च गर्ने परिपाटी बदल्नुपर्छ,’ दाहालले भने, ‘अन्यथा गत वर्ष जस्तै लगानीयोग्य पुँजीको अभाव यस वर्ष पनि दोहोरिन्छ।’

दसैंमा रेमिट्यान्स अन्य महिनाको तुलनामा बढी आउने भएकाले तरलताको अभाव तत्काल नहुने नेपाल राष्ट्र बैंकको भनाइ छ। दसैं र तिहारपछि लगानी केही बढ्ने अनुमान गरिएको छ । तर, त्यसले मात्रै लगानीयोग्य रकमको समस्या समाधान गर्न नसक्ने विज्ञको भनाइ छ।

बैंकहरुले मुद्दती बचतमा ११ प्रतिशत ब्याज दिएर पनि निक्षेप संकलन गरिरहेका छन्। त्यसरी संकलन गरेको निक्षेपलाई बैंकहरुले १६ प्रतिशतसम्ममा ऋण लगानी गरेका छन्।

प्रकाशित: १६ आश्विन २०७५ ०१:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App