२६ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

एन्फा उपाध्यक्षमा उपेन्द्रमानको उम्मेदवारी

काठमाडौं- राष्ट्रिय फुटबल टोलीका गोलकिपिङ प्रशिक्षक तथा पूर्व कप्तान उपेन्द्रमान सिंहले सोमबार अखिल नेपाल फुटबल संघ (एन्फा)को उपाध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। एन्फामा रिक्त अध्यक्ष र एक उपाध्यक्ष पदमा बाँकी कार्यकालका लागि कात्तिक ८ मा चुनाव हुँदैछ। तत्कालीन अध्यक्ष गणेश थापालाई आर्थिक अनियमितता गरेको भन्दै एएफसीले प्रतिबन्ध लगाएपछि तथा उपाध्यक्ष ललितकृष्ण श्रेष्ठ (तत्कालीन कार्यवाहक अध्यक्ष) को निधन भएपछि उक्त दुई पद रिक्त भएको थियो।

अखिल नेपालफुटबल खेलाडी संघका अध्यक्ष समेत रहेका सिंहले फुटबलको दीगो विकासका लागि आफूलेे उम्मेदवारी घोषणा गरेको सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बताए। मैदानबाट नेपाली फुटबलका लागि धेरै योगदान गरिसकेको र अब निर्णायक तहबाटै योगदान गर्ने उनको अठोट थियो। ‘मैले खेलाडी, प्रशिक्षक, प्राविधिक निर्देशक तथा मध्यपुर युथ क्लबको व्यवस्थापनमा रहेर फुटबलमा धेरै योगदान गरिसकेको छु,’ सिंहले भने, ‘फुटबलमा साँच्चिकै परिवर्तन गर्ने हो भने नीति निर्माणको तहमा रहेर काम गर्नुपर्ने रहेछ। त्यसैले फुटबलको दीगो विकासका मैले उम्मेदवारी घोषणा गरेको हुँ।’

सिंहले राष्ट्रिय फुटबल प्रशिक्षक संघ, फुटबल खेलाडी संघ र फुटबल रेफ्रीसंघका साथीहरूको सल्लाह र गृहकार्यपछि आफूले उपाध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको बताए।

‘फुटबलको नेतृत्व फुटबलभित्रकै मान्छेबाट होस् भन्ने हाम्रो धारणा हो। त्यसैले प्रशिक्षक, खेलाडी र रेफ्री संघका साथीहरूबीच सल्लाह गर्‍यौं,’ उनले थपे, ‘सिनियारिटीका आधारमा हामीले राजु (शाक्य) दाइलाई प्रस्ताव गर्‍यौं, उहाँले इच्छा देखाउनुभएन त्यसपछि साथीहरूले मलाई अघि बढ्नुपर्छ भन्नुभयो। यसरी मैले अघि बढ्ने निर्णय गरेको हुँ।’

कात्तिक ८ मा हुने चुनावको अध्यक्ष पदका लागि भने टासी घलेले औपचारिक रूपमा उम्मेदवारी घोषणा गरिसकेका छन् भने कार्यवाहक अध्यक्ष नरेन्द्र श्रेष्ठ, उपाध्यक्ष कर्माछिरिङ शेर्पासँगै विज्ञानराज शर्मा पनि चुनावी अभियानमा होमिएका छन्।

उपाध्यक्षका प्रत्याशी सिंहले अध्यक्ष पदका लागि विभिन्न व्यक्तिको नाम आए पनि आफू कुनै समूहमा नरहेको दाबी गरे। उनले भने, ‘म कुनै समूहभन्दा पनि फुटबलको मान्छे हुँ। जोबाट फुटबल विकासलाई स्पष्ट प्रतिवद्धता आउँछ हाम्रो सहयोग उसैलाई हुन्छ।’

प्रशिक्षक संघका अध्यक्ष राजुकाजी शाक्यले खेलाडी, प्रशिक्षक तथा खेलाडी संघभन्दा पनि समग्र फुटबलको विकासका लागि उपेन्द्रमानको उम्मेदवारी आएको प्रस्ट्याए।

‘व्यक्तिगत कारणले आफै उठ्ने अवस्था रहेन, त्यसैले उपेन्द्रलाई सहयोग गरेको हुँ,’ शाक्यले भने, ‘अब समग्र फुटबल विकासकै लागि योजना बनाएर अघि बढ्नु आवश्यक छ, त्यसका लागि उसलाई शुभकामना छ।’

खेलाडी, रेफ्री तथा प्रशिक्षक संघको सहकार्यले मात्र फुटबल विकास हुनसक्ने भन्दै रेफ्री संघका अध्यक्ष सुरेन्द्र सिख्राकारले पारदर्शिता र सिस्टम परिवर्तनका लागि यो उम्मेदवारी आएको बताए।

‘हामी नेपाली फुटबल विकासका लागि एकजुट भएका छौं,’ सिख्राकारले भने, ‘लामो छलफलपछि हामी यो निर्णयमा पुगेका हौं। राजुकाजी र मेरोतर्फबाट उम्मेदवारी दिन नमिलेपछि हामीले उपेन्द्रलाई अघि सारेका हौं।सिस्टम परिवर्तन, पारदर्शिता तथा भविष्यमा एन्फा हाँक्ने लक्ष्यसहित यो उम्मेदवारी आएको हो।’

राष्ट्रिय टोलीका कप्तान अनिल गुरुङले सिंह पनि खेलाडी हँुदै यहाँसम्म आइपुगेकाले खेलाडीको समस्या बुझ्ने अपेक्षा व्यक्त गरे।

‘खेलाडीले मैदान वा मैदान बाहिर खेलाडीले विभिन्न समस्या भोग्दै आए पनि राम्रो सुनुवाइ हुनसकेको छैन,’ गुरुङले भने, ‘उहाँ पनि खेलाडी भएकाले हाम्रो मर्का बुझ्नहुन्छ भन्ने अपेक्षा गरेका छौं । सफलताको शुभकामना दिन चाहन्छु।’

प्रकाशित: ४ आश्विन २०७३ ०४:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App