१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

‘सरकारी संयन्त्रकै कारण निर्माणमा ढिलाई’

मकवानपुर– नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवी सिंहले सरकार र सरकारी संयन्त्रकै कारण ९० प्रतिशत निर्माणमा ढिलाई हुने गरेको दाबी गरेका छन्। निर्माण व्यवसायी संघ मकवानपुरको २१ औं साधारण सभाको शुक्रबार हेटौंडामा उद्घाटन गरे पछि बोल्दै उनले निर्माण व्यवसायीको ९० प्रतिशत दोष नहुँदा नहुँदै पनि बदनाम गराईएको भन्दै आक्रोश पोखे।

‘करोडौंको निर्माण परियोजनालाई सरकारले बर्षेनी थोरै बजेट विनियोजन गर्छ,’ उनले भने, ‘परियोजना अबधी बढ्दा महङ्गी बढेर व्यवसायी मारमा पर्दै आएका छन्।’ निर्माण व्यसायीसँग सरकारी कर्मचारीले घुस लिने गरेको समेत उनले आरोप लगाए। ‘बिकास निर्माणका ठुला आयोजनाका सरकारी कर्मचारीले व्यवसायीसँग साइनिङ्ग अमाउण्ट लिने गरेको छ,’ उनले भने।

सरकारले कानून देखाएर निर्माण व्यवसायीलाई आतंकित पारिरहेको जिकिर गर्दै उनले व्यवसायीलाई अपराधी घोषणा गरेर वारेन्ट(पक्राउ आदेश) जारी गर्नु गैरजिम्मेवारपूर्ण भएको बताए। मुलुकी आचार संहिताले निर्माण व्यवसायीलाई अपराधी करार दिएको भन्दै उनले अव्यवहारिक रहेको आचार संहिता र खरिद ऐन समेत संशोधन गर्न आग्रह गरे।

‘हामी पनि भ्रष्ट्राचारमुक्त बनाउँन चाहन्छौ,’ अध्यक्ष सिंहले, ‘कम गुणस्तर(कमसल) काम भएमा व्यवसायीसँगै सामग्री बिक्रीकर्ता, निरिक्षक, भुक्तानीकर्ता सबैलाई दण्डित गर्नुपर्छ।’ सरकारको ‘समृद्ध नेपाल सुखी नेपाली’ को नारा पुरा गर्न देशमा निर्माण व्यवसायीमैत्री वातावरण आवश्यक रहेको भन्दै संघ र प्रदेश सरकार गम्भीर हुनुपर्नेमा उनले जोड दिए।

महासंघका महासचिव रोशन दाहाल, पूर्व अध्यक्ष जयराम लामिछानेलगायतले सरकारले निर्माणका लागि उपयुक्त वातावरण बनाउनुपर्नेमा जोड दिदै निर्माण व्यवसायीलाई हेर्ने नजरमा सकारात्मक परिवर्तन आउनुपर्ने बताए।

निर्माण व्यवसायी संघको अध्यक्षमा ढकाल

निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष आनन्दराम पराजुलीको सभाध्यक्षतामा भएको सभाले श्यामसुन्दर ढकाललाई अध्यक्षमा निर्बिरोध निर्वाचित गरेको छ। त्यस्तै, प्रथम उपाध्यक्षमा बालगोपाल कँडेल, उपमहासचिव(आन्तरिक)मा भवनाथ अधिकारी, सह–कोषाध्यक्षमा नवराज पाठक र महिला सदस्यमा उमाकुमारी पौडेल निर्विरोध निर्वाचित भएका छन्।

तर अन्य पदमा भने एक भन्दा धेरै उम्मेद्वारी परे पछि निर्बाचन हुने भएको छ। द्वितीय उपाध्यक्षमा आसलाल स्याङतान र सागर भट्टराई, तृतीय उपाध्यक्षमा बुद्धिराम डिम्डुङ र अमृत लुङ्वा तथा महासचिवमा बालकुमार मल्ल ठकुरी र विनोद शर्माले उम्मेदवारी दिएका छन्। यसैगरी उपमहासचिव(नीतिगत)मा राजेन्द्र चौलागाईं, भीमसेन श्रेष्ठ र सुरजमणि खनाल तथा कोषाध्यक्षमा ईश्वर पाठक र अनल श्रेष्ठले उम्मेदवारी दिएका छन् भने ८ जना सदस्यका लागि ११ जनाको उम्मेदवारी परेको छ।

प्रकाशित: १३ आश्विन २०७५ ०९:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App