१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

१० स्थानलाई पर्यटकीय क्षेत्र बनाइने

मकवानपुर – प्रदेश ३ सरकारले विश्व पर्यटन दिवसको अवसरमा प्रदेशका १० स्थानलाई पर्यटकीय क्षेत्र बनाउने घोषणा गरेको छ । मुख्यमन्त्री डोरमणि पौडेलले ३९औं विश्व पर्यटन दिवसको अवसरमा बिहीबार मकवानपुरको भीमफेदी गाउँपालिकाको झिरघारीमा मैत्री बगैंचा निर्माण शुभारम्भ गर्दै यस्तो बताएका हुन्।

‘घुम्न जाऔं दामन’ भन्ने नाराका साथ मकवानपुरको उत्तरी क्षेत्र र चन्द्रागिरीलाई समेत समेटेर पर्यटन गुरुयोजना बनाउने उनले बताए । ‘सोही योजनाअन्तर्गत भीमफेदीको झिरघारीमा मैत्री बगैंचा निर्माणको शुभारम्भ गरिएको हो,’ उनले भने, ‘पर्यटकलाई आकर्षित गर्नेगरी पर्यटन क्षेत्रको विकास, प्रवद्र्धन र संरक्षण गर्न स्थानीय सरोकारवाला सचेत र जिम्मेवार हुनुपर्दछ।’

प्रदेश सरकारले पर्यटकीय क्षेत्रको विकास, निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाउँदै उनले सधैं प्रदेश सरकारले सबै क्षेत्रमा लगानी गर्न नसक्ने भएकाले निर्माण प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । सबै क्षेत्रबाट हेटौंडाको सहिद स्मारक जस्तो बनाई दिनुपर्याे भनेर माग आउने गरेको भन्दै उनले भने, ‘पर्यटकीय क्षेत्रको विकासमा स्थानीयको लगनशीलता पनि हुनैपर्छ।’

मुख्यमन्त्री पौडेलसहित प्रदेशका पाँचजना मन्त्रीले वृक्षरोपण गरेर बगैंचा निर्माणको शुभारम्भ गरेका हुन् । आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेल, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री अरुणप्रसाद नेपाल, आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेल, भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री दावा दोर्जे लामा लगायतले वृक्षरोपण गरेका थिए।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नेपालले समृद्धिका लागि पर्यटन क्षेत्रको विकास अपरिहार्य रहेको बताउँदै प्रदेशको १० पर्यटकीय स्थानमा हिल स्टेसन बनाउने बताए । देश विकासका लागि हरेक नागरिकले इमान्दार भएर काम गर्नुपर्ने बेला आएको बताउँदै उनले भने, ‘पर्यटनको प्रचूर सम्भावना रहेको नेपालमा अतिथि देवो भवः भन्ने नेपाली मान्यतालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्छ ।’ २० वर्षअघि स्थापना भएको मैत्री बगैंचा निर्माणका लागि प्रदेश सरकारले २५ लाख र भीमफेदी गाउँपालिकाले २० लाख रुपैयाँ लगानी गर्ने भएका छन्।

यसैबीच, मुख्यमन्त्री पौडेलले बिहीबार नै थाहा नगरपालिका–४ सिमभन्ज्याङ ‘घुम्न जाऔं दामन’को झन्डा झन्डोत्तोलन पनि गरेका छन् । साथै सन् २०१८ मा सरकारबाट घोषित ‘पर्यटकीय गन्तव्य गाउँ’ मकवानपुरको थाहा नगरपालिका–१ कुन्छालको मुख्यमन्त्री पौडेल, प्रदेशका चार मन्त्रीसहितको टोलीले अवलोकन गरेका छन् । कुन्छाल सामुदायिक होमस्टे व्यवस्थापन समितिले मुख्यमन्त्री, मन्त्रीहरुसहित अतिथिलाई बाँजागाँजासहित स्वागत गरेको थियो । दुई सय ४० घरधुरी रहेको कुन्छालको गोपाली गाउँमा परम्परागत घरसहित कुखुरा नपाल्ने, नाइके प्रथा, सामूहिक कृषि र भोजलगायत अनौठो परम्परासमेत रहेको छ।

प्रकाशित: १२ आश्विन २०७५ ०८:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App