१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

माल्दिभ्समा राष्ट्रपति निर्वाचनकाे नतिजा अझै सार्वजनिक भएन

माले- माल्दिभ्सको निर्वाचन आयोगले राष्ट्रपतीय निर्वाचनको नतिजा चाडै सार्वजनिक हुने दावी गरेको छ। आयोगले औपचारिक रुपमा नतिजा सार्वजनिक गर्न ढिलाई नहुने स्पष्ट पारेकाे छ। 

आयोगका प्रवक्ता अहमद अक्रामले सिन्ह्वालाई दिएको जानकारी अनुसार सत्तारुढ दल प्रोग्रेसिभ पार्टी अफ माल्दिभ्स (पिपिएम)ले केही चासोका विषय उठाएपनि औपचारिक नतिजा सार्वजनिक हुन ढिला हुने छैन। 

मुलुकको निर्वाचन कानूनमा निर्वाचन भएको सात दिन भित्रमा निर्वाचन आयोगले अन्तिम नतिजा सार्वजनिक गर्नै पर्ने व्यवस्था गरिएको छ। 

पिपिएमका नेताहरूले बुधबार अबेर स्थानीय पत्रकारहरूसँग निर्वाचनका बारेमा असन्तुष्टि व्यक्त गरेका थिए। 

पिपिएमको तर्फबाट केही टिप्पणीहरू आएको प्रमुख निर्वाचन आयुक्त अहमद शरीफले पनि पुष्टी गरेका छन्। शरीफले पिपिएमको टिप्पणीहरूलाई हेरेर उपयुक्त निर्णय लिने पनि स्पष्ट पारे।

उनले यस्ता जे जति विवाद तथा टिप्पणीहरू भएपनि ती सवैको निरुपण गरेर चाडै नै निर्वाचन नतिजा सार्वजनिक गर्ने दावी गरे। 

उनले कानुनमा व्यवस्था भएजस्तो सात दिन भन्दा बढी समय नलाग्ने स्पष्ट पार्नु भएको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन्। 

अनौपचारिक रुपमा आएका विवरणहरूका अनुसार प्रतिपक्षी दलको तर्फबाट उम्मेदबार बनेका इब्राहिम मोहम्मद सोलिह राष्ट्रपतिमा विजयी भएका छन्। उनले ५८.३ प्रतिशत मत प्राप्त गरेका थिए।

प्रकाशित: १२ आश्विन २०७५ ०५:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App