१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकाले ‘उत्तेजना फैलाउने’ काम गर्‍याे : चीन

बेइजिङ- अमेरिकी बी–५२ नामक वमबर्षक विमानको साउथ चाइना सी र इस्ट चाइना सीमा यस हप्ता भएका उडानहरूको चिनियाँ रक्षा मन्त्रालयले बिहीबार आलोचना गर्दै उक्त कार्य ‘उत्तेजना फैलाउने’ मनसायबाट भएको जनाएको छ। दुई विश्व शक्तिराष्ट्रबीच एक अर्काका सामानमा कर बढाई व्यापार युद्ध चलिरहेका समय अर्को विवादले प्रवेश पाएको छ। 

उडानका बिषयलाई लिएर अमेरिकी रक्षा केन्द्र पेन्टागनले बुधबार इस्ट चाइना सीमा भएको आफ्ना वमबर्षक विमानको उडान जापानसँगको संयुक्त अभ्यास भएको र यसको एक दिन पहिले अन्तर्राष्ट्रिय हवाई मार्गको प्रयोग गरी उडेको जनाएको छ। 

अमेरिकी सैनिक विमानद्वारा साउथ चाइना सीमा भएको उत्तेजना फैलाउने कार्यलाई लिएर चीनले सधैँ विरोध जनाउँदै आएको र यस विषयलाई सही समाधान दिन आवश्यक उपायलाई निरन्तरता दिइने छ, रक्षा मन्त्रालयका प्रवक्ता रेन ग्योकिआङले सञ्चारकर्मीसँगको भेटमा बताए। 

चीनले साउथ सी क्षेत्रमा रणनीतिक जलमार्गलाई आफ्नो दावी गर्दै टापुहरूको श्रृङ्खला तथा सामुद्रिक तटको निर्माण गरेको छ। जसलाई उसले सैनिक प्रयोजनका लागि प्रयोग गर्ने गरेको आरोप लाग्ने गरेको छ। 

ब्रुनई, मलेसिया, फिलिपिन्स, ताइवान र भियतनामले पनि उक्त क्षेत्र आफ्नो भएको दाबी गर्दै आएका छन्। साथै उक्त क्षेत्रलाई सन् २०१६ मा अन्तराष्ट्रिय सामुद्रिक न्यायाधिकरणका रूपमा घोषणा गरिएको थियो। तर चीनले यसमा कुनै कानुनी आधार नरहेको बताइदै आएको छ। 

“यो हप्ताका उडानहरू नियमित उडान हुन्,” पेन्टागनका प्रवक्ता लेफ्टिनन्ट कर्नेल डेभ इस्टबर्नले बताए। अमेरिकाले चीनको उक्त क्षेत्रमाथिको दावीलाई अस्वीकार गर्दै अन्तराष्ट्रिय कानून अनुसार हुनेगरी सैनिक उडान जहाजलाई सञ्चालन गरिने बताएको छ। 

प्रकाशित: १२ आश्विन २०७५ ०४:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App