१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

कवि जन्माउने घर

प्राकृतिक सजावटसहितको आकर्षक भवन । भित्र छिर्नासाथ देखिन्छन्, चिटिक्क कोठा । त्यहीँभित्र एकातिर बैठक कोठा छ, अर्कातिर कार्यक्रम हल । वरिपरि सिजर्ना गर्ने टेबल र मेच सहितको ठाउँ छुट्याइएको छ । त्यहीबाट प्राकृतिक सौन्दर्यले भरिपूर्ण उपत्यकालगायत आठ हिमालसहितको दृश्य नियाल्न सकिन्छ । ललितपुरको गोदावरी नगरपालिकास्थित टौखेलमा स्थापना गरिएको सृजना गृहको दृश्य हो यो।

सृजनामा रमाउने र शान्त ठाउँ खोज्दै हिँड्ने सिर्जनशील क्षमतालाई सम्मान गर्दै गृह सञ्चालनमा ल्याइएको हो । भवनभित्र बसेर अध्ययन र सिर्जना गर्ने ठाउँहरू छन् । भवन बाहिर हरियाली बनाइएको छ । फरक र नयाँ शैलीबाट स्थापना गरिएको यो गृह उपत्यकामध्येकै नमुना मानिन्छ । यसभित्र कवि, कलाकार, लेखक, पत्रकार, विचारक तथा साहित्यकारलाई सृजना गर्ने स्थान तोकिएको छ । यस्ताखाले भवन नेपालमै पहिलो पटक बनेको हो । भवनभित्र सृजना गर्न आउने व्यक्तिहरूलाई आवासीय सुविधा पनि राखिएको छ । बस्ने ठाउँ, आराम गर्ने ठाउँ, खाने र सुत्ने ठाउँ पनि राखिएको छ । यसबापत केही रकम भने लिइने छ । सृजनाका विविध विधामा लागेका व्यक्तिहरूलाई यसले सहज बनाउने छ।

नेपाली सिर्जनालाई विश्वमा स्थापित गर्न र चिनाउनका लागि यस्तो संरचना बनाइएको संस्थापक होम परिवारले जानकारी दिए । उनका अनुसार यो घरमा सर्जक र सिर्जनशील व्यक्तिहरु बसेर रचना गर्न सक्नेछन् । ‘सहर सबैतिर अस्तव्यस्त बन्दै गएको छ, सहरमा शान्त र सिर्जनशील ठाउँहरू बनाउने जग्गा छैन,’ उनले भने, ‘त्यसलाई मध्यनजर गर्दै हामीले यस्तो भवन बनाएका हौं ।’ उनका अनुसार सृजना गृहले हरेक महिना साहित्यिक गतिविधि सञ्चालन गर्नेछ।

यसको लक्ष्य स्वदेशी तथा विदेशी सर्जकलाई एकै ठाउँमा राखेर विचारको आदान–प्रदान गराउनु पनि हो। यसले साहित्य क्षेत्रमा लागेका युवाहरूलाई सहयोग मिल्ने सिर्जना गृहकी अभियन्ता तर्कना शर्माले बताइन् । उनका अनुसार सृजना गृहभित्र चार तल्ला छन् । जसमा २५ जनासम्म बस्न सक्नेछन् । गृहको हरेक कोठामा लेख्नका लागि टेबलसहितको सुविधा पनि राखिएको छ । भवनभित्र भान्सासहित एकल तथा संयुक्त बेडरुम, बैठक कोठा, कार्यक्रम हल, लेखनका लागि आकर्षक प्राकृतिक सजावट दृश्य पनि राखिएको छ।

प्रकाशित: १२ आश्विन २०७५ ०२:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App