१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

घरजग्गा सडकको नाममा परेपछि...

उदयपुर– मालपोत र नापी कार्यालयको लापरबाहीका कारण नेपाल तामाङ घेदुङका केन्द्रीय अध्यक्ष मोहन गोले तामाङको घरजग्गा गुम्न पुगेको छ। त्रियुगा नगरपालिका ४ बगाहास्थित तामाङको १ कठ्ठा क्षेत्रफल जग्गा र त्यसमा निर्मित २ तले काठको कचची घरसमेत सगरमाथा लोकमार्गको नाममा परेको पाइएको छ।

साविक देउरी गाविस ८÷झ को कित्ता नम्बर ५९६ को उक्त जग्गा मालपोत र नापीको गत २०६३ को निर्णय अनुसार गाईघाट–कदमाहा खण्डको सगरमाथा लोकमार्गको नाममा दर्ता हुन पुगेको पाइएको छ। लोकमार्गको मूल सडकबाट करिब ५ सय ५० मिटर दक्षिणतर्फ पर्ने उक्त जग्गा मालपोत कार्यालयको स्रेस्ता अनुसार सडकको नाममा परेको भर्खरै थाहा भएपछि गोले परिवार छाँगाबाट खसेझैं भएको छ। 

३ दशकदेखि बसोबास गर्दै आएको नम्बरी जग्गा र घर थाहै नदिइ खोसिएपछि गोले परिवार बिचल्लीमा परेर मालपोत र नापी कार्यालयमा गुहार माग्न जाँदा कागजात नभएको भन्दै बिभिन्न कारण देखाएर अल्मल्याउने गरेको पीडित गोलेले बताए। मालपोतमा जाँदा कहिले नापी कार्यालय पठाउने त कहिले सडक कार्यालयमा सोध्नु भन्दै टार्ने गरेको उनको भनाई छ। ‘वर्षौंदेखि भोगचलन गर्दै आएको घरजग्गा सडकको नाममा पास गरिदिएछन्’ आधादर्जन पटक मालपोत कार्यालय पुगिसकेर थकित गोलेले भने ‘जिम्मेबार कार्यालयका कर्मचारीको गैरजिम्मेबार कामले गर्दा म सुकुम्बासीमा परिणत भएको छु।’

उनका अनुसार सो श्रीमति आसमाया तामाङको नाममा रहेको उक्त घरजग्गा कम्तीमा ८० लाखभन्दा माथि मूल्यको हो। तर, थाहै नदिइ घरजग्गा सडकको नाममा गरिदिएपछि योभन्दा बढी अन्याय केही नहुने उनको गुनासो छ। गोलेको अनुरोध अनुसार नापी कार्यालयले उक्त जग्गामा कुनै बाटोले नछोएको भन्दै पत्राचार गरे पनि मालपोतले भने मानेको छैन्। मालपोतले नापीको पत्रलाई आधार नमानी फिल्ड प्रतिवेदन पेश गर्न भनेर अर्को पत्र पठाएर हैरान गराएको गोलेको दुखेसो छ। 

मालपोतको पत्रानुसार असोज ९ गते नापी कार्यालयका कर्मचारीले स्थलगत बुझेर सम्बन्धित वडाध्यक्षको रोहवरमा सरजमिन मुचुल्कासमेत तयार गरेर मालपोतमा बुझाएको छ। स्थलगत निरीक्षणबाट सो जग्गालाई कुनै बाटोले नछोएको मुचुल्कामास्पष्ट खुलाइएको छ। तर, मालपोतले भने सडकको नाममा दर्ता भइसकेको भन्दै नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णयबाट मात्र फिर्ता हुनसक्ने बताएर थप झन्झटिलो बनाएको गोलेको गुनासो छ। कर्मचारीको लापरबाहीले हुन गएको त्रुटिबाट सर्वसाधारण जनता यतिसारो मारमा पर्न नहुने भन्दै उनले यो मालपोत कार्यालयबाटै हुनुपर्ने माग गरे। 

सगरमाथा लोकमार्गमा पर्ने जग्गाको लगत कट्टा सम्बन्धी फिल्ड चेक गरी पछिसम्म फरक नपर्ने गरी प्रतिवेदन पेश गर्न मालपोतका तत्कालीन खरिदार तस्बीरकुमार श्रेष्ठ, नापी निरीक्षक राजेन्द्रप्रसाद मण्डल, अमिन सत्यनारायण यादव र कार्यालय सहयोगी भूपबहादुर गौली (खत्री) लाई त्यसबेला कार्यालयले खटाएको थियो। उनीहरुको टोलीले गरेको उक्त काम अहिले गम्भीर त्रुटी भएको देखिए पनि अहिले ती सबै कर्मचारी सेवानिबृत्त भईसकेका छन्। 

टोली सदस्य खरिदार श्रेष्ठ भने सोही ठाउँका स्थानीय बासिन्दा भएकाले कर्मचारीले जानीबुझी यस्तो गल्ती गर्न पुगेको आशंका गोलेको छ। ‘अरु त बाहिरका परे, श्रेष्ठ त त्यही बगाहाकै हुन्’ उनले शंका गरे ‘त्यसैले यो सबै काम थाहा पाईपाई नियतवस मेरो परिवारलाई सुकुम्बासी बनाउन षडयन्त्र रचिएको हुनसक्छ।’ 

नगरपालिकामा वर्षेनी एकीकृत सम्पति कर बुझाउँदै भोगचलन गर्दै आएको उक्त घरजग्गा गोलेले यसपटक बिक्री गर्न खोज्दा मात्र सडकको नाममा दर्ता भएको थाहा पाएको हो। तर, सडकभन्दा आधाकिलोमिटर टाढाको उक्त जग्गा लोकमार्गको नाममा दर्ता भएको पाएपछि गोले परिवार अचम्मित त भएको छ नै सँगै न्याय नपाए सुकुम्बासीमा परिणत हुने जोखिम पनि बढेको छ। ‘छोराछोरी पढाउन ऋण लाग्यो, त्यसैले घरजग्गा बेचेर ऋण तिर्ने वितार गरेँ’ श्रीमति आसमायाले दुखेसो गरिन् ‘बाँकी पैसाले अर्को ठाउँमा सस्तो जग्गा किनेर छाप्रो हालेर बस्ने योजना बनाएको थिएँ, कर्मचारीको लापरबाहीले घर न घाटको भइयो।’

प्रकाशित: ११ आश्विन २०७५ ०६:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App