२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

सुत्केरी गराउँदा पाठेघर सिलाइयो, परीक्षणबिनै औषधि चलाउँदा मृत्यु

काठमाडौं – चिकित्सकको चरम लापरबाहीका कारण एक महिला पीडामा बाँच्नुपर्ने भएको छ । सल्यानकी पार्वती गजुरेल महताराले परोपकार प्रसूति गृह थापाथलीमा १० वर्षअघि शल्यक्रिया गरेर पहिलो बच्चा जन्माएकी थिइन् । शल्यक्रियाका क्रममा चिकित्सकले पाठेघरको आधा भाग सिलाइदिएपछि उनको दोस्रो बच्चा जन्माउने चाहना अधुरै रहने भएको छ।

शल्यक्रिया गर्दा पाठेघरको आधा भाग सिलाएको पुष्टि भएपछि उनले प्रसूति गृह र शल्यक्रियामा संलग्न चिकित्सक डा. ज्योत्सना शर्माविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी दिएकी छन् । पाठेघर आधा सिलाइएकै कारण अर्को बच्चा हुने सम्भावना टरेको संकेत उपचारमा संलग्न चिकित्सकले दिएका छन्।

पहिलो बच्चा जन्माउन शल्यक्रिया गर्दा उनलाई धेरैपटक पेट दुखेर रक्तस्राव हुन थाल्यो । पटकपटक स्वास्थ्य परीक्षण गराउँदा रोग पत्ता लागेन । त्यसपछि उनी ओम अस्पताल पुगिन् । अस्पतालका चिकित्सक जागेश्वर गौतम र सुुपात्र कोइरालाले पाठेघरको आधा भाग सिलाइएका कारण अर्को बच्चा नहुने र सधैंभरि पेट दुखेर रक्तस्राव भइरहने रिपोर्ट गत असार १६ गते दिएपछि पार्वतीले डा. शर्मा र प्रसूति गृहविरुद्ध उजुरी गरेकी हुन्।

‘शल्यक्रियापछि समयसमयमा ओम अस्पतालमा गई जँचाउँदै आएकी छु । ओम अस्पतालमा जाँचबुझ गर्दा पनि पत्ता लगाउन नसक्दा बायोप्सी गराएकी थिएँ । रिपोर्टमा पहिलो बच्चा जन्माउने क्रममा शल्यक्रिया गर्दा पाठेघरको आधा भाग सिलाइएको प्रमाणित भएपछि मैले उजुरी गरेकी छु’, उनको उजुरीमा उल्लेख छ । उजुरीअनुसार पार्वतीको पहिलो शल्यक्रिया २०६५ कात्तिक ९ गते राति २१ः१५ बजे गरिएको थियो । दोस्रो गर्भ रहन सकेन भने पटकपटक रक्तस्राव भएर उनलाई पीडा थपिँदै गयो । त्यसपछि उनले बायोप्सी गराएकी थिइन्।

पहिलो बच्चा जन्माउने क्रममा मरेर बाँचेको सुनाउँदै पार्वती आफूलाई न्याय मिल्नेमा आशावादी छन् । ‘न्यायका लागि मैले काठमाडौं जिल्ला प्रशासनमा उजुरी गरेकी छु,’ उनले भनिन्, ‘त्यहाँबाट प्रक्रिया अघि बढिरहेकाले अहिले त्यस विषयमा बोल्नु राम्रो हुन्न ।’ काठमाडौं जिल्ला प्रशासन कार्यालयमा यस्तै अर्को पनि उजुरी परेको छ । सामान्य ज्वरो आएर अस्पताल भर्ना भएका काभ्रेपलाञ्चोकका यादव थपलियालाई ७२ घन्टापछि अस्पतालले मृत घोषणा गर्याे । उपचारका क्रममा चिकित्सकले चरम लापरबाही गरेको दाबीसहित उजुरी परेको छ । रोग परीक्षणबिना नै औषधि चलाएका कारण पतिको निधन भएको भन्दै पत्नी गंगा खतिवडाले २०७५ साउन १६ गते उजुरी दिएकी हुन्।

उनलाई २०७५ असार ९ दिउँसो ज्वरो आएको थियो । भोलिपल्ट ज्वरो बढेपछि उनी उपचारका लागि डिल्लीबजारस्थित सिद्धि पोलिक्लिनिक पुगेका थिए । त्यहाँ उनको उपचार डा. दीपेश शाक्यले गरेका थिए । उनले थपलियालाई कलेजो खराब भएको भन्दै औषधि खान दिए । ज्वरो बढेपछि थपलिया डा. शाक्यको सुझावअनुसार असार १३ गते काठमाडौं मेडिकल कलेज सिनामंगलमा भर्ना भए । चिकित्सकले सुरुमा उनलाई सामान्य टाइफाइड भएको बताए । भोलिपल्टदेखि हाइकियरमा सारिएका थपलियाको १५ गते मृत्यु भयो । चिकित्सकले बिरामीको वास्तविक रोग पहिचान नगरी एकपछि अर्को गर्दै गलत उपचार विधि अपनाउँदा थपलियाको मृत्यु भएको उजुरीमा उल्लेख छ।

अस्पतालले थपलियाको मृत्यु इन्फ्लुएन्जाका कारण भएको भने पनि शुक्रराज ट्रपिकल अस्पतालमा पठाइएको ल्याब टेस्ट रिपोर्टमा इन्फ्लुएन्जा नभएको देखिएपछि परिवारका सदस्यले मृत्युको कारणसमेत ढाँटेकाले थपलियाको उपचारमा लापरबाही भएको परिवारको दाबी छ । सञ्चारकर्मीसमेत रहेका यादवकी पत्नी गंगाले भनिन्, ‘मैले गुमाउन बाँकी केही छैन । अरूले सही उपचार पाउनबाट वञ्चित हुन नपरोस् । आन्दोलन गरेर वा तोडफोड गरेर मात्रै समस्या समाधान हुँदैन । त्यसैले प्रशासनमा उजुरी गरेकी छु, त्यहाँबाट न्याय पाउने आस छ।’

वैदेशिक रोजगारीका लागि सिरप हेल्थ केयर प्रालिबाट स्वास्थ्य परीक्षण गराई कतार गएका सिन्धुपाल्चोक चौताराका नारायण गिरी मेडिकल फेल भएपछि फिर्ता भए । २०७४ वैशाख ८ गते सिरपमा स्वास्थ्य परीक्षण गर्दा स्वस्थ देखिएका गिरीको कतारमा स्वास्थ्य परीक्षण गराउँदा दुवै मिर्गौला फेल भएको पाइयो । विदेश गएको २२ दिनमै उनी नेपाल फर्किएका छन् । उनले आफू किन फिर्ता भएको भन्ने जानकारी लिन खोज्दा पर्फेक्ट म्यानपवार कम्पनीले कारण पछि आउँछ भन्दै पन्छाएको थियो । यहाँ आएर फेरि स्वास्थ्य परीक्षण गर्दा उनका दुवै मिर्गौला फेल भएको रिपोर्ट आयो ।

त्यसपछि उनले सिरप हेल्थ केयर प्रालि र पर्फेक्ट म्यानपारविरुद्ध क्षतिपूर्ति मागसहित जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी हालेका छन् । उजुरीमा उल्लेख छ, ‘‘मेडिकल फिट’ भएको रिपोर्ट दिई विदेश पठाएको र त्यहाँ परीक्षण गर्दा काम गर्न नसक्ने अवस्था भई फिर्ता हुँदा आफ्नो सम्पत्तिमा गम्भीर हानि नोक्सानी पुगेकाले उपभोक्ता हित संरक्षण ऐनअन्तर्गत क्षतिपूर्ति माग गर्दछु।’

प्रकाशित: ११ आश्विन २०७५ ००:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App