१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

ट्रिपरलाई टाइम कार्ड

ट्रिपर चालकलाई टाइम कार्ड वितरण गर्दै पाल्पाका प्रजिअ र प्रहरी प्रमुख।    तस्बिरः मुक्ति/नागरिक

पाल्पा – पाल्पाका ट्रिपरलाई ‘टाइम कार्ड’ वितरण गरिएको छ। हार्थोक–दोभान तथा दोभान–हार्थोक सडकमा गुड्ने ट्रिपरलाई २ घण्टा ३० मिनेट समय दिएर कार्ड प्रदान गरिएको हो। 

जिल्ला ट्राफिक प्रहरी कार्यालयको अगुवाईमा बुधबारबाट ‘टाइम कार्ड’ वितरण सुरु गरिएको हो। पाल्पाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्वमणी पोखरेलले ‘टाइम कार्ड’ वितरण गरी सवारीको ओभरस्पीड न्यूनिकरणको प्रयास गरिएको बताए।  उनी भन्छन्, ‘पाल्पामा चल्ने झण्डै ५ सय ट्रिपरलाई आजैदेखी कार्ड दिन सुरु गरेका छौं। दुर्घटनाको प्रमुख कारण मानिएको चालकको लापरवाही र गति नियन्त्रण हुने अपेक्षा गरेका छौं।’

टाइम कार्ड लागू गरिएपछि ८० प्रतिशत दूर्घटना घट्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाको अनुमान छ। बुधबारदेखि पाल्पाका प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले लु २ ख २२६६ नम्बरको टिप्परका चालक रामकुमार लामालाई टाइम कार्ड प्रदान गरे। ‘तिव्र गति, सवारीको अवस्था, चालकको लापरवाही, सडकको अवस्था आदी कारणले सवारी दूर्घटना हुने गरेतापनि तिव्र गति प्रमुख कारण हो। त्यसमा पनि पछिल्लो समय ट्रिपर मुख्य समस्या देखिएपछि टाइम कार्ड वितरण गरेका हौं,  प्रजिअ खनालले भने, ‘सडक दूर्घटना घट्ने अपेक्षा छ। ट्रिपरले रोजगारी सिर्जना तथा विकास कार्यमा सहयोग गरेतापनि धेरै दूर्घटना हुने तथा धुलो, धुँवा उडाउने गरेका कारण गति नियन्त्रण टाइम कार्डले गर्नेछ।’

टाइम कार्ड लागू भएपछि ट्रिपरले सिद्धार्थ राजमार्गको दोभानदेखी बर्तुङ तथा बर्तुङदेखी हार्थोक गरी जम्मा ४८ किलोमिटर सडक २ घण्टा ३० मिनेटमा पार गर्नुपर्ने भएको छ। यदि तोकिएको समयभन्दा अगावै सवारीसाधन पुगेमा कारवाही गरिने जिल्ला ट्राफिक प्रहरी प्रमुख डम्बर गिरीले बताए। उनी भन्छन्, मालवहाक ठूला सवारीसाधनमा पनि बिस्तारै टाइम कार्ड लागू गर्ने प्रयासमा छौं। ट्रिपरले अन्य सवारी तथा साना साधनलाई अप्ठ्यारो पारेका कारण पहिलो चरण ट्रिपरमा लागू गरेका हौं। 

ट्रिपर व्यवसायी अरविन्द पाण्डेले टाइम कार्ड अन्य सवारीसाधनमा पनि लागू गर्नुपर्ने बताउँछन्। ट्राफिक प्रहरीले गरेको दूर्घटना न्यूनिकरण सम्बन्धी सचेतना तथा टाइम कार्ड उद्घाटन कार्यक्रममा उनले अन्य सवारीले गर्ने लापरवाहीको भागिदार ट्रिपर हुनुपरेको बताए। उनी भन्छन्, ‘हामी भरिया हौं। खानीले अह्राएको गर्ने हो। दूर्घटना होस् भन्ने कसैले पनि चाहँदैन।’

ट्राफिक प्रहरीले वितरण गरेको टाइम कार्डमा सवारी नं., सवारी धनी तथा कम्पनीको नाम, चालकको नाम, मिति, प्रस्थान समय, पुग्नुपर्ने समय, पुगेको समय जस्ता कुराहरू उल्लेख गर्नुपर्ने रहेको छ। प्रहरीले पाल्पाको हार्थोक, प्रभाष र दोभानमा टाइम कार्डको सही प्रयोग गरिएको छ छैन भन्ने परीक्षण गर्ने जनाएको छ। 

 

प्रकाशित: १० आश्विन २०७५ ११:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App